रोल्पामा बोक्सीको आरोप लगाउदै कुटपिट गर्ने धामीसहित ३ जना पक्राउ

रोल्पा । रोल्पामा बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बोक्सीको आरोप लगाउँदै आफूलाई कुटपिट गरेको भन्दै एक युवतीले प्रहरीमा निवेदन दिएपछि सुनिलस्मृति गाउँपालिका वडा नं. ६ का २६ वर्षिय धामी राहुल सुनार, रोल्पा नगरपालिका वडा नं. ४ का ४५ वर्षीषा चुना कुमारी सेन र २२ वर्षीषा सीता सेनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रोल्पा नगरपालिका १० धबाङ मा घर भई लिबाङमा डेरा गरी बस्ने २६ वर्षिय महिलाले आफूलाई बोक्सी भन्दै साउन ६ गते करिव ६ बजेतिर कोठामा आई कुटपिट गरेको भन्दै ११ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पीडित महिलाले आफूलाई धामी राहुलले फोनबाट पनि धम्काएको र पछि चुना, सीता सेनसहितको टोलीले कोठामा आई कुटपिट गरेको बताएकी छिन् ।

बोक्सीको आरोप लगाएर धामीसहितकाले कोठामै पुगेर कुटपिट गरेपछि उजुरी आएकोमा आरोपितहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए ।

धामीले बोक्सीको आरोपमा कुटपिट गर्ने काम जघन्य अपराध मानिन्छ । यस्ता घटनाहरु गाउँमा धेरै हुने गरेकोमा गाउँमै मिलाउने समेत गरिएको पाइन्छ ।