देउवाको आह्वानमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ ।

देउवाले निजी निवास बूढानिलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाउनु भएको हो ।

आज बिहान ९ बजे बूढानिलकण्ठमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन । साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ ।

यसैबीच कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ। ९८ प्रतिशत काम सकिएपछि पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाउन लागिएको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो ।

पदाधिकारी बैठक बस्नुअघि नै सभापतिलाई प्रतिवेदन बुझाउने समितिको तयारी छ। समितिले असार मसान्तसम्म क्रियाशीलको काम सक्ने समय पाएको थियो।

तर सो अवधिमा काम नसकिएपछि समितिले थप १२ दिनको अतिरिक्त समय पाएको थियो।