आजको मौसम : पाँच वटा प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं । आज प्रदेश १, बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । भीषण वर्षाका कारण यस क्षेत्रको पहाडी भेगमा पहिरो जान सक्ने र तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मंगलबार बिहान देशभरको मौसम बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।