समृद्ध जानकी : ‘फेरिए बस्ती, बदलिए गाउँ’

विकास नागरिकको चेतनासँग जोडिएको छ । स्थानीय नागरिकलाई गाउँको विकास गर्नुपर्छ भन्ने चेतनासँग गाउँहरु विकासको दिशातर्फ अघि बढिरहेका छन् ।

बाँकेको जानकी गाउँपालिका सडक, खानेपानी, भू–बनोट र भौतिक संचरनाको हिसाबले यसै पनि महत्वपूर्ण स्थानमा रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको केन्द्र विन्दु रहेको प्रमुख औद्योगिक, ब्यापारिक र कृषियोग्य क्षेत्रका रुपमा अवस्थित जानकी गाउँपालिका व्यापारिक तथा औद्यौगिक क्षेत्रमा प्रचिलित ठाउँ हो । साविकका साइगाउँ, बेलभार, इन्द्रपुर, खजुराखुर्द, बेलहरी र गनापुर गाउँ विकास समितिलाई गाभेर जानकी गाउँपालिका हाल ६ वटा वडामा विभाजित छ ।

गाउँपालिका ६३.३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकामा १९३३३ पुरुष र १८४०६ महिला गरी कुल ३७८३९ जनसंख्या छ । सिमाना पूर्वमा नेपालगन्ज, पश्चिममा खजुरा, उत्तरमा कोहलपुर र दक्षिणमा भारतको सिमानासँग जोडिएको गाउँपालिकाको केन्द्र साविक खजुराखुर्द गाविसको मानपुरमा तोकिएको छ । जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा मधेसी, मुस्लिम, थारु, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरु रहेका छन् ।

जातीय र भाषिक विविधता रहेको यस गाउँपालिका क्षेत्रमा मुख्यरुपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लिम र क्रिश्चियन धर्मावलम्बीहरुको बाहुल्यता पनि उत्तीकै रहेको छ । पश्चिमी तराई क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भू–भाग समथर रहेको छ । यस गाउँपालिकाको कुल जमिनमध्ये सबैभन्दा बढी क्षेत्रमा खेती गरिएको छ भने वडा नं. ५ र ६ मा ठूला औद्योगिक प्रतिष्ठानहरु रहेका छन् । नेपालको संविधानले तीन तहको संघीय संरचना अन्तरगत गाउँपालिकालाई पनि संविधान र संघीय कानूनको अधीनमा रहि कार्यकारिणी अधिकारसहितको सरकारका रुपमा स्थापित गरेको छ ।

सहकारिता, समन्वय र सह–अस्तित्वको सिद्धान्तका आधारमा संचालन हुने वर्तमान संघीय शासन व्यवस्थामा स्थानीय सरकार जनताको सबैभन्दा निकटमा रहि शासन सञ्चालनको परिकल्पना गरिएको छ । नवगठित पालिकाले नयाँ संरचनाका माध्यमबाट संविधान प्रदत्त अधिकारको प्रयोग र शासन सञ्चालनका अभ्यासहरु भइरहेका छन् । यसै सन्दर्भमा प्रस्तुत छ, जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवसँग गरिएको कुराकानी :


अध्यक्षमा निर्वाचित भएपछिको आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

विकास निर्माणको कार्य तीव्र गतिमा अघि बढिरहेको छ । खजुराखुर्द चोकदेखि पिप्रहवा चोक जसलाई हामी औद्योगिक करिडोर जोड्ने सडक पनि भन्छौँ । १७ करोड रुपैयाँको लागतमा यसको निर्माण अघि बढेको छ । यो बजेट गाउँपालिका आफँैले व्यवस्थापन गरेको छ । जानकी गाउँपालिकाका अधिकांश बस्ती बाक्लो रहेका कारण पीसीसी र आरसीसी सडक निर्माणलाई प्राथमिकता दिएका छौँ । वर्षायाममा गाउँभित्र प्रवेश गर्न नसक्ने अवस्थाको केही हदसम्म भए पनि अन्त्य गर्न सकेका छौँ ।

पुराना बस्तीभित्र नालीसहितको सडक निर्माण गरिरहेका छौँ । यसबाहेक शिक्षा, स्वास्थ्य लगायतका अन्य विकास निर्माणका कार्यलाई हेर्दा सन्तोषजनक रूपमा हामीले हाम्रो कार्यकाललाई लिएका छौँ । गाउँपालिकाको आफ्नै व्यवस्थित भवन निर्माण भइरहेको छ । जानकी गाउँपालिका भारतीय सीमासँग जोडिएका कारण सीमा क्षेत्रको विकास निर्माणमा विशेष प्राथमिकता दिएका छौँ । साईगाउँ तथा शिवपुरी जोड्ने मुख्य सडक कालोपत्रे गर्ने काम अघि बढाइएको छ ।

स्थानीय तह गठनदेखि हालसम्म गाउँपालिकामा के कस्ता काम भए ?

स्थानीय तहको गठन भई हामी गाउँपालिकाका पदाधिकारीहरु निर्वाचित भइसकेपछि विभिन्न समस्या र चुनौतीसँग जुध्दै जनप्रतिनिधि र कर्मचारीको अथक प्रयासले उल्लेखनीय सफलता हासिल गर्न सफल भएका छौँ । गाउँपालिकाले बनाउनुपर्ने विभिन्न ऐन, नियम, कार्यविधि र निर्देशिका स्वीकृत गरी गाउँपालिका सञ्चालनको लागि आवश्यक कानुनहरुको अभावको अन्त्य गरिएको छ । विकास शुन्य थियो । सडक, शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यकीय सेवाहरु शुन्यताबाट शुरु गरेका थियौं ।

अहिले बस्तीहरु फेरिएका छन् । गाउँ बदलिएका छन् । पालिकाभित्रका गाउँहरु सडक सञ्जालले जोडिएका छन् । गाउँगाउँमा सडकहरु कालोपत्रे र पीसीसी भइरहेका छन् । विकास नागरिकको चेतनासँग जोडिएको छ । स्थानीय नागरिकलाई गाउँको विकास गर्नुपर्छ भन्ने चेतनासँग गाउँहरु विकासको दिशातर्फ अघि बढिरहेका छन् । गाउँपालिकाको शैक्षिक सुधारका लागि शैक्षिक गुणस्तर बढाउन र योजनामा सुशासन प्रवद्र्धन गर्ने काम गरेका छौँ । गाउँपालिकाको प्रशासनीक भवनको निर्माण सुरु भएको छ ।

आर्थिक र सामाजिकरुपमा पछाडि परेका वर्ग, समुदाय, लिङ्ग र जातिलाई विभिन्न सीप विकास तालिम, सामाजिक सुरक्षा कार्यक्रम, नीति निर्माण तह र विकास निर्माणमा समानुपातिक सहभागितामार्फत आर्थिक र सामाजिक उत्थानका काम भएका छन् । गाउँपालिकाको अभिलेख, तथ्याङ्क र विकास कार्यलाई व्यवस्थित गर्न सफल भएका छौं ।

अहिलेसम्म भएका विकास निर्माणका कामबाट के कति सन्तुष्ट हुनुहुन्छ ?

सोचेजति सबै काम शतप्रतिशत सम्पन्न गर्न नसकिएको होला । तर, हालसम्मको काम र प्रगतिको समीक्षा गर्दा जनप्रतिनिधिलगायत आमनागरिक सन्तुष्ट हुनुहुन्छ । गाउँपालिकामा जनप्रतिनिधिको आगमनसँगै आर्थिक तथा सामाजिक विकास, सुशासन, स्रोतसाधनको न्यायोचित वितरणजस्ता कुरामा नागरिक सन्तुष्ट हुनुहुन्छ । प्रत्येक व्यक्तिका व्यक्तिगत इच्छा, चाहना र स्वार्थ पूरा गर्न नसकिएको होला, तर सामूहिक हित र विकासका चाहनालाई अधिक रुपमा पूरा गरिएको छ ।

पछिल्लो समय जानकी गाउँपालिका अन्तर्गत हरेक क्षेत्रले फड्को मार्न थालेको छ । शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा आत्मनिर्भरताको बाटोमा अगाडि बढिरहेको छ । गाउँपालिकाका सबैजसो बस्तीमा सडक पुगेको छ । कृषिको क्षेत्रका कृषकहरुको प्रोत्सानको लागि अनुदानको ब्यवस्था गरेका छौं । जनप्रतिनिधि र कर्मचारीको अथक र संघर्षपूर्ण मेहनतका कारण हामी एकपछि अर्को गर्दै सफलतातर्फ अघि बढिरहेका छौं ।

कसैको पनि व्यक्तिगत इच्छा, आकांक्षा र स्वार्थ पूरा गर्न सम्भव छैन, तथापि, सामूहिक हित र विकासका चाहनालाई अधिक रुपमा पूरा गरिएको छ । औद्योगीक क्षेत्रहरुको हब भएकाले गाउँपालिकाकाभित्र औद्योगीक विकासका कामहरुलाई प्राथमिकीकरण गर्दै यसको व्यवस्थापनका कामहरु भइरहेका छन् । यसकारण पनि जानकी गाउँपालिकाले काँचुली फेरेको छ । यसका लागि जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य एवं समन्वयमा लक्ष्य प्राप्तिको दिशामा हामी अघि बढिरहेका छौं ।

स्थानीय तह र प्रदेश तथा सङ्घबीच काम गर्ने क्रममा के कस्तो समन्वय भइरहेको छ ?

सङ्घ र प्रदेश सरकारबाट वित्तीय अनुदान, समानीकरण, समपूरक, सशर्त र विशेष अनुदानको व्यवस्था हुनु, सङ्घ र प्रदेश सरकारबाट समन्वय, निर्देशन र सहयोग उपलब्ध नहुँदा हामीले सोंचेजति काम गर्न सकिरहेका छैनौं । गाउँपालिकालाई प्रदेश तथा सङ्घ सरकारले निकै अन्याय गरिरहेको छ । यसमा हामीलाई निकै दुख लागिरहेको छ । हामीले पटक–पटक हाम्रा समस्याहरुलाई प्रदेश तथा संघमा राखेका छौं । प्रदेश तथा संघबाट हामीलाई आश्वासन आउँछ, बजेट र सहयोग आउँदैन । प्रदेश तथा संघीय सरकारले हामीलाई सहयोग नगरेकै कारण पनि सोचेअनुरुप विकास गर्न सकिरहेका छैनौं ।

घोषणापत्र कार्यान्वयनका हिसाबले यो अवधिसम्म कति सफल हुनुभयो ?

हामी निर्वाचनमा गर्न सक्ने कुरा मात्रै लिएर जनतामाझ पुगेका थियौँ । हामीले बनाएको घोषणापत्र एकदमै संक्षिप्त छ । अहिले चार वर्षको अवधिमा करिब घोषणपत्रमा उल्लेख गरिएको अधिकांश सबै प्रतिवद्धता पूरा गर्न सफल भएका छौँ । जनताले निर्वाचनमा गरेको विश्वासलाई कमी हुन नदिन उहाँहरूसँग रातदिन सँगै छौँ । यो अभियानमा गाउँपालिकावासी सबैको साथ र सहयोग पनि पाइएको छ । हामी जनताका तत्कालीन र दीर्घकालीन आवश्यकता पूरा गर्न लागिपरेका छौँ । घोषणापत्रमा गरिएका प्रतिवद्धताहरु सबै कार्यान्वयन भइसकेका छन् ।

सुरुवातको चरणमा बस्ने ठाउँ थिएन, कर्मचारीलाई काम गर्न निकै सकस थियो । कर्मचारीको संख्या निकै कम थियो । दरबन्दी पनि उस्तै कम थियो । सानो कोठा भाडामा लिएर हामीले गाउँपालिकाको काम सुरु गरेका थियौं । जनप्रतिनिधि तथा कर्मचारीहरुको प्रयास र इच्छाशक्तिका कारण हामी निरन्तर सफलताउन्मूख भयौं । ‘थकाइँ मानियो भने सफल हुँदैनौं’ भन्ने दृढ संकल्पका कारण हामी संघर्षपूर्ण तरिकाले अघि बढ्यौं । अझ शिक्षामा पछि परेको पालिका भएकाले शैक्षिक सुधारका निम्ति हामी हरसम्भव क्रियाशिल रह्यौं ।

शैक्षिक सुधारका निम्ति अहिले पनि हामीले लगानीमैत्री वातावरण खोजिरहेका छौं । यो गाउँपालिका जिल्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा विकट र विकासका दृष्टिले पछिपरेको पालिका हो । गरिब उत्थानका लागि रोजगारी सिर्जना गर्न विभिन्न सीप विकासका कार्यक्रमहरु सञ्चालन गरिएको छ । जनतालाई दिने सेवा सुविधामा कुनै कञ्जुस्याइँ गरिएको छैन । स्वास्थ्य, शिक्षा र कृषिमा ध्यान दिएका छाँै । नागरिकहरुलाई सकेसम्म छिटोछरितो तरिकाले सेवा दिइरहेका छौँ । यो गाउँपालिका सडक पूर्वाधारको हिसाबले महत्वपूर्ण काम हो । हामीसँग आन्तरिक आम्दानीको श्रोत निकै कम छ ।

कुनै एउटा क्षेत्रको विकासभन्दा पनि गाउँपालिकाको समग्र क्षेत्रको विकास नै हाम्रो प्राथमिकता हो । कृषि, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ क्षेत्रको विकास आदि हाम्रा विकासका प्राथमिकता हुन् । अझ हामीले रोजगारी सिर्जना गर्नका लागि उद्योग स्थापनालाई प्राथमिकतामा राखेका छौं । उद्योग सञ्चालन हुँदा स्थानीय नागरिकहरुले रोजगारी पाउने र त्यसले नागरिकको जीवनस्तरमा सुधार ल्याउने देखिन्छ । अबको अवधिमा गाउँपालिकाको सबै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित जग्गाको समस्या समाधानका लागि हामीले पहल गरिरहेका छौं । त्यस हिसाबले गाउँपालिकाका धेरै कामहरु पूरा भएजस्तो लाग्छ ।

गाउँपालिका शिक्षा, स्वास्थ्यको क्षेत्रमा सुधारका लागि के गर्दै हुनुहुन्छ ?

राज्यको पुनःसरचनासँगै नरैनापुर गाउँपालिकाको स्थापना भएपछिको पहिलो स्थानीय सरकार गठन भई चार वर्षमा विभिन्न चुनौतीको सामना गर्दै गाउँपालिकाप्रति आमनागरिकको आवश्यकता र अपेक्षालाई मूर्तरुप दिनुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । स्थानीय तहको अधिकारक्षेत्र तथा जिम्मेवारी कार्यान्वयन गर्न आवश्यक विभिन्न ऐन, नियम कानुनहरुको अभाव तथा नीतिगत अस्पष्टता, कर्मचारी समायोजनको प्रभाव तथा प्राविधिक जनशक्तिको अभावबीच पनि गाउँपालिकाले चार वर्षे कार्यकालमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ ।

गाउँपालिकाका ६ वटै वडामा माध्यमिक विद्यालय छ, तर उच्च शिक्षाका लागि अहिलेसम्म पनि कलेज वा उच्च मावि नभएकाले हामीले कृषि क्याम्पसका लागि निरन्तर पहल गर्दै आएका छौँ । कृषि अनुसन्धान केन्द्रको क्षेत्रीय कार्यालय हाम्रै स्थानीय तहमा भएका कारण पनि कृषि विषयको पठनपाठन हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । हामीले ठूलो प्रयास गरेर गाउँपालिकालाई साक्षर घोषणा गर्न सफल भएका छौँ । स्वास्थ्य क्षेत्रमा हामीले गाउँमा रहेका स्वास्थ्य चौकीलाई सेवा सुविधा र जनशक्तिले व्यवस्थित बनाउन लागिपरेका छौँ । भर्खरै १५ शैय्याको अस्पताल शिलान्यास भएको छ । यस हिसाबले शिक्षा र स्वास्थ्यमा केही समयमै सुधार हुने अपेक्षा गरेका छौँ ।

यस अवधिमा गाउँपालिकाबासीले स्थानीय सरकारबाट आशा गरेबमोजिम प्रतिफल प्राप्त गरे कि गरेनन् ?

पूर्ण सन्तुष्ट हुने अवस्था छैन । अझै धेरै काम बाँकी छन् । ती अबको अवधिमा पूरा गर्न हरसम्भव प्रयास रहनेछ । जनताले अहिलेसम्म भएका कामबाट स्याबासी दिएका छन् । काम गर्ने दौरानमा जनताबाट राम्रो ‘रेस्पोन्स’ प्राप्त भएको छ । जनताका असीमित इच्छा, चाहना र सपना हुन्छन् । ती सबै एकैपटक पूरा गर्न सकिँदैन ।

विकासको चाहना र समृद्धिको यात्रा कहिल्यै टुङ्गिदैन । अब अधुरा काम पूरा गर्ने र जनतासँग गर्छु भनेका काम सम्पन्न गर्ने दिशामा छौँ । आशा छ दुई वर्षको बाँकी अवधिले सन्तुष्ट हुने आधार दिलाउनेछ । यसै सन्दर्भमा जनताबाट निर्वाचित भई जिम्मेवारी सम्हाल्दै गर्दा हामीले धेरै कामहरु पूरा गरेका छौं र बाँकी कामहरु दुई वर्षमा पूरा हुने देखिएको हुँदा नागरिकको आशाबमोजिम नै प्रतिफल प्राप्त भएको अनुभूति भएको छ ।

समृद्ध जानकी गाउँपालिका बनाउन नीति, योजना र कार्यक्रम के कस्ता छन् ?

सुरुवातको समयमा कार्यालयमा बस्ने पर्याप्त ठाउँ थिएन, कर्मचारीलाई काम गर्न निकै कठीन भएको थियो । कर्मचारीको संख्या पनि कम थियो । दरबन्दी पनि उस्तै कम थियो । सेवाग्राही जनतालाई पनि ठाउँ अभावले सास्ती भोग्नुपरेको थियो । अहिले त्यो समस्या कम भएको छ । जनप्रतिनिधि र कर्मचारीहरुबीचको आपसी सहयोग, समन्वय र सहकार्य अत्यन्तै आवश्यक छ । तसर्थ, दुबैको अथक प्रयास र संघर्षले गर्दा हामी सोचेजस्तै सफलताउन्मुख दिशामा अघि बढिरहेका छौं ।

कागजमा कोरिएको नीति र योजनालाई कार्यान्वयको अन्तिम चरणमा पुर्याउन दृढ संकल्प र इच्छा शक्ति नभई हुँदैन । स्वास्थ्य, शिक्षा र पूर्वाधारमा पछि परेको पालिका भएकाले मुख्यताः शैक्षिक सुधारसँगै सबैक्षेत्रको विकासका निम्ति हामी हरसम्भव क्रियाशिल थियौं, त्यो प्रयास अहिले पनि निरन्तर जारी छ । शिक्षा र स्वास्थ्यजस्तो जनताको आधारभूत आवश्यक्ता देशैभर कमजोर स्थितिमा छ । यस अर्थमा जानकीको शिक्षा र स्वास्थ्य स्थिति अहिलेलाई नाजुक हुनु स्वभाविक हो । तर, हामीले कमजोर पक्षलाई निरन्तर सुधार गर्दै अघि बढिरहेका छौं ।

गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयहरुको स्तरोन्नतिको कार्यलाई पनि निरन्तरता दिएका छौं । यसले गर्दा स्वास्थ्य र शिक्षाको गुणस्तरलाई माथि उकास्न धेरै हदसम्म सहयोग पुग्नेछ । यस्ता धेरै क्षेत्रमा सकारात्मक र परिवर्नतका कामहरु भइरहेका छन् । जनतालाई दिने सेवा सुविधामा सकेसम्म कुनै कसर बाँकी राखेका छैनौं । स्वास्थ्य, शिक्षा र कृषिमा ध्यान दिएका छाँै । नागरिकहरुलाई सकेसम्म छिटोछरितो तरिकाले सेवा दिइरहेका छौँ । सडक निर्माण र कालोपत्रे कार्यलाई प्राथमिकता दिइएको छ ।

अबको अवधिमा गाउँपालिकाको सबै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित जग्गाको समस्या समाधानका लागि हामीले पहल गरिरहेका छौं । त्यस हिसाबले गाउँपालिकाका धेरै कामहरु पूरा भएजस्तो लाग्छ । गरिबीको रेखामुनि रहेका आम नागरिकको जीवनस्तर उकास्नका लागि रोजगारी सिर्जना गर्न विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ । गाउँपालिकाको समग्र क्षेत्रको विकास नै हाम्रो मुख्य प्राथमिकता हो ।

अन्त्यमा, अबको बाँकी कार्यकालमा के कस्ता काम हुँदैछन् ?

नयाँ योजनाभन्दा पनि पुराना योजना कार्यान्वयन गर्दै अघि बढ्ने हो । सबै सडक कालोपत्रे बनाउने, पुराना बस्ती र नयाँ बस्तीमा पीसीसी र आरसीसी तथा कालोपत्रे गर्ने भन्ने छ । यसबाहेक जानकी गाउँपालिकाले औद्योगिक विकास र सिक्टा सिँचाइबाट ठूलो लाभ लिन सक्ने देखिन्छ । औद्योगिक विकासका लागि पिप्रहवा, गनापुर र आसपासका क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन गाउँपालिकाले पहल गर्दैछ । सडक सुधार गरेर अघि बढ्दैछौँ । सिक्टाले नहरमा पानी छोडेपछि कृषि उत्पादन वृद्धि भएको छ ।

कृषिको आधुनिकीकरण र व्यावसायिकताका लागि कृषिमा अनुदान र प्रविधिमासहयोग गर्ने खालका कार्यक्रम ल्याएका छौँ । सीमा क्षेत्रमा बाख्रापालनका लागि किसानलाई सहयोग गरेका छौँ । आगामी दिनमा सबैसँग समन्वय गरेर अघि बढ्छौँ । कोभिडले हाम्रो काम गराइको रफ्तारलाई धेरै नै रोकेको अवस्था छ । विगत एक बर्षको बीचमा धेरै गर्नुपर्ने काम सम्पन्न गर्न सकिएको छैन । अहिले फेरि कोभिडको दोस्रो लहरको संक्रमणले सुरु गरिएका योजनालाई समयमै कसरी सम्पन्न गर्ने भन्ने कुरामा ध्यान दिएका छौँ ।

अधुरो योजना सकेर फेरि विकासको रफ्तारलाई कसरी अघि बढाउन सकिन्छ भनेर आगामी बर्षका लागि योजना बनाइरहेका छौं । आगामी बर्ष अधुरा रहेका सबै योजना पूरा हुनेछन् । कृषि र उद्योगलाई स्वरोजगारको आधार बनाउँछौँ । शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ क्षेत्रमा गर्न बाँकी रहेका कामलाई प्राथमिकता दिएर सम्पन्न गर्नेछौँ । हाल सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमलाई निरन्तरता दिनुको साथै अति महत्वपूर्ण कार्य, जुन सञ्चालन हुन सकेका छैनन्, ती काम प्राथमिकतामा राखी अगाडि बढ्छौँ ।

अबको बाँकी अवधिमा प्रत्येक वडा तथा बस्तीका घरधुरीमा विद्युत्को पहुँच पुगेको हुनेछ । वडा तथा बस्तीमा यातायात सञ्चालन हुने गरी सडक स्तरोन्नति तथा निर्माण गरिनेछ । सबै घरधुरीमा स्वच्छ खानेपानीको पहुँच विस्तार हुनेछ । कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण तथा आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धिसँगै कृषि उपजमा आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने र सेवा प्रवाहलाई जनमुखी, पारदर्शी र मितव्ययी बनाइनेछ । हामी राजनीति कम सेवा बढी गर्छौं । जनताका दुखसुखमा हाजिर हुन्छौं ।

हाम्रो गाउँपालिकाका जनतालाई भोक र रोगबाट टाढा बनाउँदै समृद्ध जानकीको सपना पुरा गर्ने अभियानमा छौं । नेपालगन्जसँग जोडिएको भए पनि जानकी गाउँपालिका धेरै हिसाबले अझै पछाडि छ । यहाँ मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास छ । हामीले ठूलो प्रयासबाट साक्षर गाउँपालिका बनाउन सकेका छौँ । गाउँपालिकाभर विभिन्न सचेतनामूलक अभियान चलाएका छौँ । यसको नतिजा केही वर्षमै देखिन्छ भन्ने लाग्छ ।