ओलम्पिकमा ६ स्वर्ण पदकसहित चीनको अग्रता, आज १४ खेलमा २१ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकको तेस्रो दिन आज विभिन्न १४ खेलमा २१ स्वर्ण पदकको भिडन्त हुँदैछ । आज पौडीमा सबैभन्दा बढी ४ स्वर्ण पदकको छिनोफानो हुनेछ ।

यसैगरी तेक्वान्दो, जुडो, फेन्सीङ र सुटिङमा दुई दुई वटा स्वर्ण पदकको भिडन्त हुनेछ । आर्चरी, जिम्न्याष्टीक, क्यानो स्लालोम, साईक्लीङ, डाइभिङ, स्केटबोर्डीङ, टेबल टेनिस, ट्राएथ्लन र भारत्तोलनमा एक एक वटा स्वर्ण पदकको टुंगो आज लाग्नेछ ।

ओलम्पिकमा अहिलेसम्म पदक तालिकामा ६ स्वर्ण पदक जितेर चीनले अग्रता लिएको छ । ५ वटा स्वर्ण पदक जितेको आयोजक जापान दोस्रो स्थानमा छ भने तेस्रो स्थानको अमेरिकाले ४ स्वर्ण जितेको छ ।

३२ औं ग्रिष्मकालिन ओलम्पिकमा अहिलेसम्म १७ देशले स्वर्ण पदक जितेका छन् । ४२ देशले पदकको खाता खोलेका छन् ।