एउटै मञ्चमा सात कम्युनिस्ट नेता, ओलीलाई बोलाइएन

काठमाडौं । आज नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेता एकै मञ्चमा भेला हुने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेकका शीर्ष कम्युनिस्ट नेताले आज एकै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुन लागेका छन् ।

केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्न लागिएको छ । केन्द्रले आयोजना गर्ने ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा सात जना कम्युनिस्ट नेता सहभागी हुनेछन् ।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा महासचिव नेक्रविक्रम चन्द प्रवचन दिनेछन् । त्यस्तै, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले नेत्री अष्टलक्ष्मी शाक्य पनि प्रवचन दिने कार्यक्रम रहेको खतिवडाले जानकारी दिए । यसमा एमाले अध्यक्ष ओलीलाई भने बोलाइएको छैन ।