Loading... आजः २१ श्रावण २०७८, बिहीबार

जनता आवास कार्यक्रम : चार वर्षमा पुरा भए ७९४ वटा घर

जनता आवास कार्यक्रम : चार वर्षमा पुरा भए ७९४ वटा घर
फाइल तस्वीर

बाँके । बाँके र बर्दियामा लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत चार वर्षअघि सुरु भएका लक्षित विपन्न समुदायको घर निर्माणको काम सम्पन्न भएको छ । भवन कार्यालयले आर्थिक वर्ष २०७४ सालदेखि निर्माण सुरु भएका र गत आवमा छनोटमा परेका सम्पूर्ण घरको निर्माण पूरा भएको जनाएको छ ।

निमित्त कार्यालय प्रमुख रामआश्रय साहका अनुसार अघिल्लो आवबाट क्रमागत भई आएका बाँकेका ३३१ र बर्दियाका २६७ गरी ५९८ र गत आवमा बाँकेका ६६ र बर्दियाका १४१ गरी २०८ घर निर्माण गर्नुपर्ने सम्झौता रहेकोमा अधिकांश घरको निर्माण कार्य पूरा भएको छ । चार वर्षदेखि हालसम्म निर्माण गर्नुपर्ने ८०५ मध्ये ७९४ वटा घर निर्माण सम्पन्न भएको हो ।

बाँकी रहेका ११ मध्ये १० वटा वन क्षेत्रमा रहेका र एउटा छनोटमा परेको घरधनीले अन्यत्र पक्की घर निर्माण गरिरहेको पाइएपछि सम्झौता अघि नबढेको कार्यालयले जनाएको छ । क्रमागतमध्ये ७८ वटा घरको सम्झौता गरेका घरधनी सम्पर्कमा नआएको, घर निर्माण गरिसके पनि प्रक्रियामा नआएको जस्ता अवस्था देखिएपछि कार्यालयले फस्र्योट गरेको जनाएको छ ।

जनता आवास कार्यक्रम प्रदेश सरकार मातहत आएपछि सङ्घीय सरकारबाट बाँकेमा ५३७ र बर्दियामा २९२ गरी ८२९ घर निर्माणको जिम्मा भवन कार्यालयमा हस्तान्तरण भएको थियो । ‘अबदेखि नयाँ सम्झौताअनुसारका घर निर्माणमा मात्रै केन्द्रित हुनेछौँ,’ कार्यालय प्रमुख साहले भने, ‘पुरानोमा ध्यान दिनु नपरेपछि काम पनि छिटो हुने अपेक्षा छ ।’

कार्यालय प्रमुख साहका अनुसार घर निर्माणका लागि अनुदान पाउने परिवारले घर निर्माणका लागि तीन लाख ५० हजार रुपैयाँ पाउँछन् । लक्षित विपन्न समुदायको घर निर्माणका लागि सम्बद्ध प्रदेशबाट निर्वाचित प्रदेश सांसदको नेतृत्वमा रहेको समितिले लक्षित विपन्न घरपरिवारको छनोट गर्ने गरेको छ ।