Loading... आजः २१ श्रावण २०७८, बिहीबार
‘भिजिट नरैनापुर–२०२१’

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सन्तानेश्वर महादेव’ (तस्वीरसहित)

‘विगत केही महिनादेखि मन्दिर दर्शन गर्न आउनेहरूको भीडभाड बढेको छ । जंगलको बीचमा रहेको मन्दिरमा पनि मान्छेहरू देख्न पाइएको छ ।’
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सन्तानेश्वर महादेव’ (तस्वीरसहित)

बाँके । नेपालका कतिपय विकट क्षेत्रहरुलाई चिनाउन ‘कर्णाली’को उपमा दिइन्छ । स्थानीय तहको निर्वाचनअघि बाँके जिल्लाको राप्ती नदी पूर्वको भेगलाई पनि ‘बाँकेको कर्णाली’ उपनामले चिनिन्थ्यो । कारण लामो समयसम्म राप्ती नदीमा सडक पुल बन्न सकेको थिएन । हरेक वर्षायाममा यस क्षेत्रको बाँकी जिल्लासँगको सम्बन्ध टुट्थ्यो ।

चार वर्षअघिसम्म नरैनापुर गाउँपालिकासम्म पुग्ने बाटो थिएन । यातायातका साधन नचल्दा नेपालगन्जसँगै जोडिएको पालिकासम्म पुग्न मान्छेलाई सास्ती खेप्नुपर्थ्यो । राप्ती नदीको कटान र बर्सेनि बाढीले हिँडडुलमा समस्या थियो । जिल्ला सदरमुकाम, नेपालगन्जबाट यी सबै साविकका गाविसहरुलाई जोड्दै हुलाकी सडकमार्ग बघौडा भन्ने अन्तिम विन्दुसम्म पुग्छ, जुन भारतको सीमा नाका नजिकै पर्छ ।

यसैले यस क्षेत्रलाई बघौडा क्षेत्र भनेर पनि चिनिने गरिएको छ । स्थानीय तहको निर्वाचनअघि यस क्षेत्रलाई विकटता र पछौटेपनले गाँजेको थियो । जस्तो कि स्थानीयबासीले नेपाली भाषा नबुझ्ने, नेपाली पैसा नचल्ने, बर्षायाममा सदरमुकामसम्म आउन भारतीय भूमि प्रयोग गर्नुपर्ने आदि । त्यतिबेला साँच्चै सापेक्षिकरुपमा सुगम मानिएको नेपालको तराई क्षेत्रमा नरैनापुर निकै बिकट पनि थियो ।

त्यतिबेला सडक पुलको अभावमा राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको यस हुलाकी सडकको अवस्था निकै जीर्ण थियो । सडक मार्गमा पर्ने विभिन्न नालामा पुल, कल्भर्ट नहुँदा त्यसलाई पार गर्न घुमाउरो बाटो प्रयोग गर्नुपथ्र्यो । हुलाकी सडक बनेपछि नेरैनापुर क्षेत्रमा चहलपहल बढ्दै गयो । अहिले आन्तरिक पर्यटकहरु नरैनापुरमा घुम्नलायक गन्तव्य खोज्दै आउन थालेका छन् ।

कोरोना कहरको थकान र तराईको चर्को गर्मी छल्न यतिबेला नरैनापुरस्थित सन्तानेश्वर मन्दिरमा पनि चहलपहल बढेको छ । गाउँपालिकाले पर्यटकीय स्थललाई महत्त्व दिन थालेपछि यहाँ पर्यटक बढ्न थालेका हुन् । गाउँपालिकाले आगन्तुक पर्यटकलाई शनिबार यहाँ स्वागत गरेको छ । पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट नरैनापुर–२०२१’ सञ्चालन नीतिसमेत ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

यसै नीतिअनुरूप पहिलो चरणको कार्यक्रममा सन्तानेश्वर महादेव मन्दिरसम्म पैदल यात्रा सुरु गरिएको हो । नेपालगन्जदेखि लालपुरसम्म २५ किलोमिटर पक्की सडक छ । त्यहाँबाट ८ किलोमिटर पैदल हिँडेपछि सन्तानेश्वर मन्दिरमा पुगिन्छ । नरैनापुर गाउँपालिकाको कोहला गाउँको जंगलमाथि पहाडको चुचुरोमा रहेको यो शिव मन्दिर हो । गत शनिबारमात्रै ५ हजार भन्दा बढी पैदल यात्रुले मन्दिरको दर्शन गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह आफैं पनि पैदल यात्रामा सहभागी भई पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा सरिक भएका छन् । ‘सडक नहुँदा मन्दिर ओझेलमा परेको छ,’ उनले भने, ‘यसलाई पर्यटकीय हब बनाउन विकासका केही खाका तयार पार्दैछौं । जतिसक्दो धेरै आन्तरिक पर्यटकलाई आकर्षण गराउने उद्देश्य छ ।’ शनिबार नेपालगन्ज, कोहलपुर, राप्तीसोनारीबाट मानिसहरू मन्दिरको दर्शन गर्न पुगेका थिए ।

नेपालगन्जकी भावना केसीले कोरोना कहरका कारण भीडभाडभन्दा बाहिर सुरक्षित भएर घुम्ने ठाउँको खोजी गरेको बताइन् । कोरोना कहरपछि उनले नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर घुम्ने योजना बनाएको बताइन् । शनिबार परिवारसहित पैदल यात्रामा आएकी उनी रमणीय स्थल देखेर दंग थिइन् । ‘अब पहाड चढ्न तराईमै पाइने भइयो,’ उनले भनिन्, ‘यहाँको स्वच्छ हावा र शीतलताले आनन्द दियो ।’

सडक नहुँदा यहाँसम्म पुग्न मानिसलाई अप्ठ्यारो थियो । अहिले सडक बनेपछि मानिस घुम्न आउन थाले । सामाजिक सञ्जालमा फोटो राखे । ‘सहर बजारका मान्छेले पनि यहाँ यस्तो ठाउँ रहेछ भन्ने बल्ल थाहा पाए,’ अध्यक्ष शाहले भने, ‘विशेषगरी बघौडा–नेपालगन्ज हुलाकी सडक बनेपछि मन्दिरले दर्शनार्थी पाएको हो ।’ मन्दिरसम्मै सवारीसाधन पुग्ने बाटो निर्माण भए सन्तानेश्वरमा आन्तरिक पर्यटकको भीड अझै बढ्न सक्ने उनले बताए ।

पछिल्लो समय सन्तानेश्वर मन्दिरमात्रै होइन, नरैनापुरलाई चिनाउने अन्य ठाउँहरू पनि विस्तारै मान्छेको नजरमा पर्दै छन् । पर्यटकको चहलपहल बढेसँगै यहाँका स्थानीयसमेत खुसी देखिन्छन् । मन्दिरका महन्त ८६ वर्षीय योगानन्द गिरी उर्फ पहाडी बाबाले यो ठाउँमा विसं. १९३५ मै झन्डा गाडिएको बताए । मटेहियाका यादव थरका व्यक्तिले यहाँ झन्डा गाडेको उनले सुनाए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाका दिन यहाँ भण्डारा अर्थात् निःशुल्क खाना खुवाउँछन् ।

०७० सालमा यहाँ व्यवस्थित ढंगले मन्दिर बनाइएको थियो । सन्तानेश्वरमा शिवरात्रि, तीजजस्ता पर्वमा विशेष भीड लाग्ने गर्छ । साउन र शिवरात्रिमा रुद्रीपाठ हुने गर्छ । सन्तानविहीनले यस मन्दिरको दर्शन गरी सच्चा मनले पूजापाठ र व्रत गरे सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । यहाँ ड्रोन क्यामेरा प्रयोग गरेर हेर्दा पहाड नै पहाडले बनेको ॐ र त्रिशूल देख्न सकिन्छ । यहाँ तीनवटा पहाडका चुचुरोमुनिबाट तीनवटा मूल फुटेका छन् ।

‘सात वर्षको उमेरदेखि म यहीं बस्दै आएको छु । त्यतिबेला मन्दिर खासै चर्चामा थिएन,’ जंगलको बीचमा कुटी बनाएर बसेका बाके दासले भने, ‘विगत केही महिनादेखि मन्दिर दर्शन गर्न आउनेहरूको भीडभाड बढेको छ । जंगलको बीचमा रहेको मन्दिरमा पनि मान्छेहरू देख्न पाइएको छ ।’ चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न जानेको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले मन्दिरको प्रचारप्रसार गरेर नेपाली तथा भारतीय धार्मिक पर्यटक आकर्षित गर्ने अभियान सुरु गरेको छ ।

पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि ‘भिजिट नरैनापुर २०२१’ अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । उनले नरैनापुरलाई चिनाउने यस्ता पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटकको सहज आवागमनका लागि गाउँपालिकाले विभिन्न कार्य गरिरहेको पनि बताए । उनका अनुसार गाउँपालिकाले अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचारप्रचारका लागि बजेट पनि विनियोजन गरेको छ ।

पछिल्लो समयमा स्वतःस्फूर्त ढङ्गले नेपालगन्जबाट दैनिक सयौँ मानिस रमणीय धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर महादेवको दर्शनका लागि जान थालेका छन् । चुरेको टाकुरामा रहेको सन्तानेश्वरको मन्दिरमा पुगेर सन्तान नभएकाहरूले दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेको स्थानीय बताउँछन् । मन्दिरमा पुग्ने धार्मिक पर्यटकको सङ्ख्या दिनदिनै बढ्दै गएको नरैनापुर मटैहियाका स्थानीय विनय दीक्षितले बताए । उनले धेरै प्रचारप्रसार नभए पनि भारतको टाढा टाढाका सहरबाट समेत यहाँ पर्यटक आउन थालेको बताए ।