समाचार

प्रचण्डलाई ‘सुरक्षा थ्रेट’, अगुवामा खटियो डीएसपीको कमाण्ड

फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ‘सुरक्षा थ्रेट‘ बढेको भन्दै सरकारले डीएसपीको कमाण्डमा थप प्रहरी टोली खटाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णयानुसार शनिबारदेखि नै प्रचण्डको सुरक्षामा थप प्रहरी खटाइएको हो ।

प्रचण्डका एकजना सहयोगीका अनुसार सरकारको निर्णयबाट शनिबारदेखि डीएसपीको कमाण्डमा थप प्रहरी खुमलटार आइसकेका छन् । ती प्रहरीले अब प्रचण्डको अगुवाका रुपमा सुरक्षा दिनेछन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५३ जनालाई फिर्ता गरेको थियो ।

तर माओवादीको समेत समर्थनमा प्रधानमन्त्री बनेका देउवाले प्रचण्डमाथि सुरक्षा थ्रेट बढेको निचोडसहित थप प्रहरी पठाएका हुन् । ‘अगुवा गाडीका लागि डीएसपीसहितका प्रहरी गएका हुन्,’ स्रोतले भन्यो, ‘ओली सरकारले अगुवा हटाएर पछुवा मात्रै राखिदिएको थियो । तर अब प्रचण्डलाई अगाडि पछाडि दुवैतिरबाट सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिनेछन् ।’

एक सुरक्षा अधिकारीका अनुसार सरकारले अहिले सबैभन्दा धेरै सुरक्षा चुनौती प्रचण्डलाई रहेको निष्कर्ष निकालेको छ । त्यही अनुसार प्रहरीको टोली पठाइएको हो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले उक्त टोली प्रचण्डको अगुवाका लागि समेत परिचालित हुने जानकारी दिँदै यसलाई नियमित प्रक्रियाका रुपमा लिनुपर्ने बताए ।

‘कुन भिआइपीलाई सुरक्षा चुनौती बढ्यो, घट्यो भन्ने कुरा सरकारले विश्लेषण गर्छ,’ उनले भने, ‘त्यही आधारमा सुरक्षा थप्ने घटाउने कुरा हुन्छ । यसलाई हामीले नियमित प्रक्रियाका रुपमा बुझ्दा हुन्छ ।’ सरकारले आवश्यकता ठानेमा अन्य नेताहरुका लागि समेत सुरक्षा घटाउन बढाउन सक्ने कुवँरले बताए ।

यसअघि २०७७ फागुनमा तत्कालीन ओली सरकारले प्रचण्डको सुरक्षामा तैनाथ धेरैजसो नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता बोलाएपछि प्रकाशचन्द्र पाण्डे नेतृत्वमा वाईसिएलका सात कार्यकर्ता खटिएका थिए । ओली सरकारले फिर्ता लैजानुअघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका डीएसपीको कमाण्डमा २६ जना र सशस्त्र प्रहरीका इन्स्पेक्टरको कमाण्डमा ४७ जना परिचालित थिए ।

ओली सरकारले गत फागुनमा बहालवाला तथा पूर्व सरकारी पदाधिकारीको सुरक्षा सम्बन्धी कार्यविधि २०७७ कार्यान्वयन गरेर सुरक्षाकर्मी कटौती गरेको थियो । त्यसबेला पूर्वप्रधानमन्त्रीलाई सुरक्षा दिन सशस्त्रका १६ र नेपाल प्रहरीका दुई जवान मात्रै खटाउने नियम ल्याएको थियो । सरकारको उक्त निर्णयपछि प्रचण्डको सुरक्षामा खटिएका ५३ प्रहरी फिर्ता भएका थिए ।