एमाले केन्द्रीय कमिटीको १० औं बैठक

बरिष्ठ नेता नेपालसहित २२ नेतालाई कारबाही प्रस्ताव

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको १० औं बैठकले बरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही प्रस्ताव गरेको छ । पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बरिष्ठ नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही प्रस्ताव गरेको हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा भइरहेको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन् । बैठकमा सहभागी महेश बस्नेतलगायत केही सदस्यले माधव पक्षका नेताहरूलाई तुरुन्तै कारबाही गरी आजैबाट पार्टीमा राख्न नहुने भन्दै हुटिङसमेत गरेका बताइएको छ ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई समर्थन गरेकै आधारमा कुनै पनि सांसदलाई कारवाही गर्न नमिल्ने फैसला गरिसकेको छ । त्यसै आधारमा रहेर आइतबार संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदहरूले मतदान गरेका थिए । बैठकमा नेपाल समूहका नेताहरुको सहभागिता छैन ।

माओवादी केन्द्रबाट एमाले आएका नेताहरु भने उपस्थित छन् । एमाले प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि भएको छ । ‘पार्टीभित्र एक खालको धक्काक भयो । फ्लोरक्रस गर्ने काम गर्नुभयो । २२ जनासँग २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ उनले भने ।