Loading... आजः १२ श्रावण २०७८, मंगलवार
समृद्धि यात्रा

जानकीमा औद्योगिक समृद्धि र सम्भावना

औद्योगीक विकासलाई मात्रै उपयोग गर्ने हो भने बाँकेको समृद्धि जानकी गाउँपालिकाबाट शुरू हुन्छ । सरकार, निजी क्षेत्र र जनताको प्रत्यक्ष सहभागितामा औद्योगिक क्षेत्रको विकास गरी पालिकालाई आत्मनिर्भर बनाउने नीति स्थानीय सरकारले लिन सक्नुपर्छ ।
जानकीमा औद्योगिक समृद्धि र सम्भावना

आर्थिक विषयमा चासो राख्ने सर्वसाधारण होस् अथवा आर्थिक विषयमै विज्ञता हासिल गरेका अर्थविज्ञ हुन्, सबैले भन्दै आएको एउटै कुरा हो, आर्थिक समृद्धिका लागि उद्योग र व्यापार व्यवसाय फस्टाउनु जरुरी छ । उद्योग र व्यापार व्यवसाय नफस्टाई उत्पादन र रोजगारीमा वृद्धि हुन सक्दैन । उत्पादन र रोजगारीमा वृद्धि नभई आर्थिक वृद्धि हासिल त हुँदैन नै व्यक्तिकोे आयमा वृद्धि पनि हुँदैन ।

आयमा वृद्धि नभएसम्म जीवनस्तर र आर्थिक वृद्धिमा गुणात्मक सुधार नभई आर्थिक समृद्धि हासिल हुन सक्दैन । त्यसैले उद्योग र व्यापार व्यवसाय फस्टाउनु जरुरी मानिन्छ । आर्थिक समृद्धिका लागि उद्योग र व्यापार व्यवसाय मुख्यरूपमा आए पनि उद्योग र व्यापार व्यवसायमा कुनले अर्थतन्त्रमा बढी सकारात्मक योगदान गर्न सक्छ र गरेको छ भन्ने बहस र विश्लेषण भएको पाइँदैन ।

अर्थविद्हरू दिगो आर्थिक विकासका लागि उत्पादनमूलक उद्योगहरूको आवश्यकतामा जोड दिन्छन् । उद्योग र व्यापार व्यवसायलाई सँगै राखेर हेर्ने र विश्लेषण गर्ने प्रवृत्तिमा खासै परिवर्तन भएको पाइँदैन । उद्योग र व्यापार व्यवसाय दुवैले सिधा अर्थतन्त्रसँग सरोकार राख्ने भएपनि दिगो आर्थिक विकास र समृद्ध अर्थतन्त्रका लागि उद्योग र व्यापार व्यवसायमा कुन बढी महत्वपूर्ण छ भन्ने विषयमा सोच्नु आवश्यक र सान्दर्भिक समेत हुने देखिएको छ ।

सरसर्ती हेर्दा उद्योग र व्यापार व्यवसाय उस्तै लाग्छ र उस्तै सुनिन्छ पनि । तर यी दुईबीचको भिन्नतालाई सजिलै बुझ्न सकिन्छ । अर्थशास्त्रीय दृष्टिकोणले उद्योगलाई उत्पादनमूलक भनिएको छ भने व्यापार व्यवसायलाई सेवामूलक भनिएको छ । उद्योगबाट नयाँ वस्तुको उत्पादन हुन्छ भने व्यापार व्यवसायबाट त्यस्तो नयाँ वस्तुको उत्पादन नभई उत्पादित वस्तुको बिक्री वा आपूर्ति मात्रै गरिन्छ ।

वस्तु उत्पादनका लागि धेरै कच्चापदार्थ र धेरै जनशक्तिको आवश्यकता पर्दछ भने वस्तु बिक्री वा आपूर्तिका लागि थोरै जनशक्ति भए पुग्छ । तुलनात्मकरूपमा धेरै कच्चा पदार्थको खपत र धेरै जनशक्तिको खपत हुने हुँदा उद्योग क्षेत्रलाई व्यापार व्यवसायभन्दा बढी महत्वपूर्ण र अर्थतन्त्रमा व्यापार व्यवसायको भन्दा उद्योगको योगदान बढी अर्थपूर्ण मानिन्छ । उद्योगबाट उत्पादित वस्तु उपभोक्तासम्म पुग्दा धेरै आर्थिक चक्र पार गर्नुपर्ने हुन्छ । जसले गर्दा आर्थिक गतिविधिमा समेत विस्तार हुन्छ ।

आर्थिक गतिविधिमा विस्तार हुनु भनेको लगानी विस्तार हुनु, आर्थिक उत्पादन प्रक्रियामा विस्तार हुनु र रोजगारीको अवसरमा विस्तार हुनु पनि हो । तर व्यापार व्यवसायमा कुनै पनि वस्तु उपभोक्तासमक्ष पु¥याउने काम मात्रै हुने हुँदा आर्थिक गतिविधि त्यतिधेरै हुँदैन । जसले गर्दा आर्थिक उत्पादनमा व्यापार व्यवसायको योगदान थोरैमात्र हुन्छ । ठूलो व्यापार व्यवसायबाट पनि अर्थतन्त्रमा थोरै योगदान पुग्छ भने सानो उद्योगबाट पनि अर्थतन्त्रमा धेरै योगदान पुगेको हुन्छ ।

त्यसैले समृद्ध अर्थतन्त्र र आर्थिक समृद्धिका लागि व्यापार व्यवसायलाई भन्दा उद्योगलाई बढी प्राथमिकता दिनुपर्ने कुरामा अर्थविद्हरूले जोड दिँदै आएका छन् । औद्योगिक विकासले आर्थिक आत्मनिर्भरतालाई बढावा दिन्छ भने व्यापार व्यवसायको विकासले परनिर्भरतालाई बढावा दिन्छ । नेपालमा व्यापार व्यवसायको विकासले गति लिँदा वस्तु आयातको स्थिति अकल्पनीयरुपमा बढेको छ । जसको परिणाम स्वरूप वैदेशिक व्यापारमा व्यापार घाटा निकै चुलिएको छ ।

आन्तरिक उत्पादनमा कमी र आयातमा वृद्धि भएकै कारणले व्यापार असन्तुलन बढेको छ । मुलुकको विद्यमान आर्थिक अवस्थालाई दृष्टिगत गर्दा व्यापार व्यवसायको तुलनामा उद्योगको बढी आवश्यकता देखिन्छ । औद्योगिक क्षेत्रमा हुनुपर्ने लगानी व्यापार व्यवसायको क्षेत्रमा परिवर्तन हुँदा रोजगारी सिर्जनादेखि आर्थिक वृद्धिदरसमेत प्रभावित हुन थालेको छ । परिणामतः बेरोजगारी दर बढेको छ भने आन्तरिक उत्पादन घटेको छ ।

आन्तरिक उत्पादन घटेकाले अर्थतन्त्रको आकारसमेत अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । विविध कारणले औद्योगिक क्षेत्रमा आएको संकुचनले प्रत्यक्षरूपमा औद्योगिक क्षेत्रबाट अर्थतन्त्रमा हँुदै आएको योगदानमा क्रमशः कमी आएको छ भने व्यापार व्यवसायको क्षेत्र अर्थात् सेवा क्षेत्रको योगदानमा वृद्धि हुन थालेको छ । यद्यपि सेवा क्षेत्रबाट हुने योगदानले अर्थतन्त्रको आकार विस्तारमा खासै उल्लेखनीय भूमिका निर्वाह गर्न भने सक्दैन ।

आर्थिक वृद्धिको मूलआधार नै उत्पादन भएकाले आन्तरिक उत्पादनमा उल्लेख्य वृद्धि नभएसम्म उच्च आर्थिक वृद्धिदर हासिल हुन सक्दैन र अर्थतन्त्रको आकारसमेत वृद्धि हुन सक्दैन । तुलनात्मकरूपमा सेवा क्षेत्रको आर्थिक संरचना विस्तार भए पनि यसले आर्थिक सुदृढीकरण तथा रोजगारी सिर्जनाद्वारा आयआर्जनमा वृद्धि गरी गरिबी निवारणमा भने खासै टेवा पुर्याउन सकेको छैन ।

औद्योगिकभन्दा व्यापार व्यवसायको क्षेत्रमा जनशक्ति ग्रहण गर्ने क्षमता कम हुन्छ । व्यावसायिक प्रतिष्ठानहरू तुलनात्मक रूपमा थोरै जनशक्तिबाट पनि सञ्चालन गर्न सकिन्छ । तर उत्पादनमूलक उद्योगहरूमा जनशक्ति ग्रहण गर्ने क्षमता बढी हुन्छ । त्यसैले धेरैभन्दा धेरै जनशक्तिले औद्योगिक प्रतिष्ठानहरूमा रोजगारीको अवसर पाउँछन् । एक जना व्यक्तिले रोजगारीको अवसर पाउँदा मात्र पनि एउटा परिवारको दैनिकी सहज बनी गरिबी न्यूनीकरणमा टेवा पुग्छ ।

रोजगारीको अवसर सिर्जना, आयआर्जनमा वृद्धि र गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोग पु¥याउन पनि धेरै जनशक्तिलाई ग्रहण गर्ने क्षमता राख्ने औद्योगिक विकासमा जोड दिनुपर्छ । माथिका दृष्टान्तहरु हेर्ने हो भने जानकी औद्योगिक गाउँपालिकाका रुपमा आफूलाई समृद्ध गराउने दिशामा छ । हाल भएका उद्योगहरु सञ्चालनसँगै थप उद्योग सञ्चालनका लागि गाउँपालिकाले मजबुत रणनीति तय गर्न सक्नुपर्छ ।

मुलुकमा विकसित हुँदै गरेका आर्थिक, सामाजिक र राजनीतिक परिस्थितिले उद्योगमैत्री वातावरण खलबलिँदै गएको अवस्थामा गाउँपालिकाले उद्योग क्षेत्रहरु विस्तारको रणनीतिलाई फराकिलो बनाउँदै बहुर्राष्ट्रिय कम्पनीहरुको आगमनलाई सहज र पारदर्शीरुपमा अघि बढाउन सक्नुपर्छ । हाल गाउँपालिका क्षेत्रमा रहेका सिमेन्ट उद्योग, फलामे बस्तु उत्पादन गर्ने उद्योग लगायतलाई अझै सुदृढिकरण गर्ने दिशातर्फ रणनीति तय गर्न सक्नुपर्छ ।

आन्तरिक उत्पादनमा वृद्धि गरी निर्यात प्रवद्र्धनलाई प्रोत्साहित गर्ने र आयात प्रतिस्थापनमा सघाउने रणनीति गाउँपालिकाले लिन सक्ने हो भने उत्पादनमूलक उद्योगहरूको स्थापना दर अझ बढ्ने देखिन्छ । यसले आन्तरिक उत्पादन वृद्धि भई निर्यात प्रवद्र्धनमा थप टेवा पुग्ने र त्यसले मुलुककै अर्थतन्त्रलाई मजबुत गराउन टेवा पुग्नुका साथै आन्तरिक उत्पादन वृद्धि भए अर्थतन्त्रमा बढ्दो परनिर्भरतालाई पनि न्यूनीकरण गर्न सकिन्छ ।

अझ पछिल्लो समयमा जानकी गाउँपालिका औद्योगिक क्षेत्रको ‘हव’का रुपमा विकास हुँदै गएको छ । जानकी गाउँपालिकामा सिमेन्ट, आइरन, खाद्य, इँट्टा, जडिबुटी, रोजिन एण्ड टर्पेन्टाइन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग सञ्चालनमा छन् । नेपालगन्ज औद्योगिक क्षेत्रमा झण्डै ३० वटा उद्योगमात्र सञ्चालनमा रहेका बेला जानकी गाउँपालिकाको गनापुरमा त्यसको दोब्बर उद्योग सञ्चालनमा छन् ।

वडा कार्यालयका अनुसार ६३ उद्योगमध्ये ६ वटा उद्योग बन्द छन् भने पाँचवटा उद्योग सञ्चालनको क्रममा छन् । यहाँ जय मंगलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गंगा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्स जस्ता उद्योग सञ्चालनमा रहेका छन् ।

त्यसैगरि सुजुकी, महिन्द्रा, हुन्डाईजस्ता महंगा र नाम चलेका गाडीको शोरुम पनि जानकी गाउँपालिकामा नै छन् भने धान र मसुरो प्रसोधन तथा वीउविजन उत्पादन केन्द्र, ठूला तथा नाम चलेका होटल पनि जानकी गाउँपालिकाले पाएको छ । ‘जानकी गाउँपालिका औद्यागिक क्षेत्रको ‘हव’को रुपमा विकास भएको छ,’ गाउँपालिका अध्यक्ष यादवले भने । त्यसमध्ये सबैभन्दा धेरै जानकी गाउँपालिका–६, गनापुरमा मात्र ६३ वटा उद्योग सञ्चालनमा छन् ।

औद्योगिक क्षेत्र बनाउने सरकारको कुनै योजना नभए पनि यहाँ स्वस्फुर्तरुपमा लगानीकर्ताले उद्योग स्थापना गरिरहेको वडाध्यक्ष सुरेश यादवले बताए । उहाँले उद्योग सञ्चालनका लागि अनुमति माग्नेको संख्या धेरै भएको जानकारी दिए । ‘पश्चिम नेपालमा एउटै वडामा यो संख्यामा उद्योग सञ्चालन भएको सम्भवतः एकमात्र वडा होला,’ वडाध्यक्ष यादवले भने, ‘ठुला–ठुला उद्योगको आकर्षण धेरै छ ।’

गनापुरमा सबैभन्दा धेरै र ठूला उद्योग स्थापना

राजनीतिक अस्थिरतासँगै बाँकेमा ठूला उद्योग सञ्चालनको संख्या बढ्दैछ । बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै रहेको पाइन्छ । यो गाउँपालिका नेपालगन्ज–कोहलपुर सडक खण्डसँगै जोडिएको छ । गनापुरदेखि पश्चिम जाने बाटोमै लहरै उद्योगहरु स्थापना भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग स्थापना गर्न जमिन नपाइने मात्र नभई महंगो पर्ने भएकोले अधिकांश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्ने गरेको छ ।

नेपालगन्जमा उद्योग सञ्चालन गर्दा शहर दुर्गन्धित हुने भएकोले पनि उद्योगीहरुले जानकी गाउँपालिकालाई रोज्ने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए । उनले जानकी गाउँपालिकामा उद्योग सञ्चालन गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान पठाउन सजिलो हुने भएकोले पनि उद्योगी, ब्यवसायीले जानकी गाउँपालिकाको गनापुरलाई रोज्ने गरेको बताए । ‘शहरभन्दा यहाँ जग्गा सस्तो छ । त्यही भएर पनि यहाँ उद्योगीको आर्कषण छ,’ ओलीले भने ।

बाँके जिल्लाको गनापुर क्षेत्र लगानीकर्ताका लागि आफैमा सुनौलो ठाउँ भएको महासचिव ओलीले बताए । राजनीतिक अस्थिरता र उर्जा लगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा गनापुर क्षेत्र भएकोले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको पनि उनले बताए । ‘अहिले अवस्था सुध्रिएको छ । गनापुर क्षेत्रमा एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ महासचिव ओलीले भने, ‘अब ठूला लगानीकर्तालाई बाँके नआएर सुखै छैन ।’

आर्थिक वर्ष २०७४/०७५ देखि उद्योग सञ्चालनका लागि जयअम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोवाइल नेपाल प्रालिको सर्भिस सेन्टरले अनुमति पाएर काम गरिरहेका छन् । यीमध्ये अधिकांश जानकी गाउँपालिकामा नै स्थापना भएका छन् । अनुमति पाएका मध्ये अधिकांस उद्योग सञ्चालनमा छन् । उद्योग बिभागका अनुसार आर्थिक वर्ष २०७३/०७४ भन्दा आर्थिक वर्ष २०७४/०७५ मा बाँकेमा ठूलो उद्योग स्थापनासँगै लगानीमा पनि तीब्र बिस्तार भएको छ ।

जानकी गाउँपालिकामै देशकै सबैभन्दा ठूलो औद्यागिक समूह जयअम्बे स्टील प्रालिले जानकी गाउँपालिकामा रु.चार अर्व १५ करोड चुक्ता पुँजीसहित उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा पुर्याएको छ । बैशाख अन्तिमबाट उत्पादन शुरु गर्ने गरि पूर्वाधार निर्माणको काम भइरहेको छ । त्यस्तै सगरमाथा स्टील उद्योगले पनि जानकी गाउँपालिकाको खजुराखुर्दमा रु.२४ करोड चुक्ता पुँजीसहित उद्योग स्थापना गरेको छ । उक्त उद्योगले दानाहरु उत्पादन गर्दै आएको छ । रु.२४ करोड लगानीमा भिएमआई ग्रुप अन्तरगत बर्षा रिसाईक्लिङ्गले प्रेसर कुकुर उत्पादन गर्दै आएको छ ।

त्यस्तै विकास फ्लोर मिलले रु.२ करोड ४५ लाख लगानी गरेको छ । भिभो मोवाइल प्रालिले अत्याधुनिक सर्भिस सेन्टर स्थापनाका लागि रु.३० लाख लगानी गर्ने उद्देश्यसहित गत आर्थिक वर्षमा उद्योग विभागबाट दर्ता प्रमाणपत्र लिएको छ । यसरी विभिन्न कोणबाट हेर्दा मुलुकमा व्यापार व्यवसायभन्दा उद्योग स्थापनालाई बढी प्राथमिकतामा राख्ने र उद्योगमा लगानी प्रवद्र्धन गर्न नीतिगत र कार्यगत रूपमै जोड दिनुपर्ने आवश्यकता देखिन्छ ।

यसरी अघि बढ्दा उद्योगबाटै जानकी समृद्ध बन्नसक्छ । औद्योगिक विकासले समृद्ध ल्याउँछ । औद्योगीक विकासलाई मात्रै उपयोग गर्ने हो भने बाँकेको समृद्धि जानकी गाउँपालिकाबाट शुरू हुन्छ । सरकार, निजी क्षेत्र र जनताको प्रत्यक्ष सहभागितामा औद्योगिक क्षेत्रको विकास गरी पालिकालाई आत्मनिर्भर बनाउने नीति स्थानीय सरकारले लिन सक्नुपर्छ । उत्पादन बढाउन लघु, साना, मझौला र ठूला उद्योगहरू गाउँगाउँमा स्थापना गर्न सके उत्पादन वृद्धिसँगै आयात कम हुन्छ, जसले गाउँपालिका आत्मनिर्भर र समृद्धितर्फ अघि बढ्छ ।