तलब भत्ता नपाएपछि वनगाड कुपिण्डे नगरपालिकाका करार कर्मचारी आन्दोलित

सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका कर्मचारीहरू आन्दोलित बनेका छन् । ६ महिनादेखि तलब भत्ता नपाएको भन्दै करार सेवाका कर्मचारी आन्दोलित भएका हुन् । अख्तियार र सामान्य प्रशासन मन्त्रालयबाट प्रशासनिक दरबन्दीबाहेक अन्य कर्मचारी नराख्न पत्र पठाएको र त्यसअनुसार नगर कार्यपालिका बैठकले करार कर्मचारी नराख्ने निर्णय गरेको छ ।

छ महिनाअघि नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई नीति विपरीत तलब खुवाउन नसकिने भनेर निर्णय गरेको थियो । तर, तलब खुवाउन नसकिने विषयको परिपत्र कर्मचारीलाई नदिएको आन्दोलनकारीको भनाइ छ । नगरपालिकाभित्र कार्यरत १२ जना कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन् ।

करार कर्मचारी आन्दोलन समितिका संयोजक डिल्ली विकले करार कर्मचारीले तात्कालीन गाविस हुँदादेखि नै वडा कार्यालयका सबै काम धानिरहेको भए पनि अहिले आएर नगरका करार कर्मचारीलाई घर न घाटको बनाइएको बताए । गाविस हुँदादेखि सलेपाको रूपमा काम गरिरहेको र अहिले आएर नगरपालिकाले आफूलाई सामाजिक परिचालक भनेर नियुक्ति दिएको संयोजक विकले उल्लेख गरे ।

नगर प्रमुख गोविन्दकुमार पुनले भने कामकाज गरिरहेका कर्मचारीलाई कुनै न कुनै माध्यमबाट भए पनि तलबको व्यवस्थापन गरिने बताएका छन् । प्रमूख प्रशासकीय अधिकृत मनोज रेग्मीले आफू नगरमा आउनुभन्दा पहिले नै नगरसभाबाट निर्णय अनुमोदन गरिसकेकाले कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताए ।