Loading... आजः १२ श्रावण २०७८, मंगलवार

दुबईको मरुभूमीमा घाम र हावाबाट निकालिन्छ खानेपानी

दुबईको मरुभूमीमा घाम र हावाबाट निकालिन्छ खानेपानी

दुबई । पानीको अभाव भएका ठाउँमा जमिन मुनि खनेर, खोला, समुद्रलगायत विभिन्न स्रोतमार्फत खानेपानी निकाल्न सकिन्छ । तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन अनि स्रोतको बढ्दो अभावबीच वैज्ञानिक र खोजकर्ताहरुले खानेपानी सम्बन्धी नयाँ समाधान पत्ता लगाएका छन् । यसको सबैभन्दा सहज माध्यम हावा भएको उनीहरुको विश्वास छ ।

वायुमण्डलीय हावाबाट पानी निकाल्न दर्जनौँ कम्पनीहरु मध्येको एउटा हो, ‘सोर्स ग्लोबल’ जसले प्रयोग गर्ने प्रविधि बाँकी संस्थाहरुभन्दा फरक भएकाले पनि यसले खानेपानी सम्बन्धी दिगो र उपयुक्त समाधान दिलाउने अपेक्षा गरिएको छ । कम्पनीले केबल सोलार प्यानल अर्थात सौर्य ऊर्जा र हावामार्फत पानी निकाल्न सक्छ ।

यसको सबैभन्दा ठूलो ‘वाटर फार्म’ दुबईमा छ, जसले हरेक वर्ष १५ लाख लिटरसम्म पानी उत्पादन गर्दछ । युरोप, मध्यपूर्व अनि अफ्रिकातर्फका कम्पनी उपप्रमुख भेहिद फोतुही भन्छन्, ‘यसमा हामीलाई पानी निकाल्न हावा र सोलारमात्र भए पुग्छ अरु केही चाहिँदैन । विजुली, ग्रिडलगायत अन्य कुनै पनि ठूला संरचनाको आवश्यकता पर्दैन । यो प्रविधिमा सूर्य र हावा पर्याप्त छ ।’

वायुमण्डलबाट पानी निकाल्न सोर्सजस्ता कम्पनीहरुले मसिनमार्फत हाम्रो आसपासको हावाबाट पानी सोसर निकाल्छन् । वास्तवमा यो तरिका दशकौँ अगाडिदेखि प्रयोग हुँदै आएको मानिन्छ । परम्परागत रुपमा बाफलाई चिसो पारेर पानी निकाल्ने चलन लामो समय अगाडि अपनाइने गरिन्थ्यो । तर, यो प्रक्रियामा धेरै विजुली खपत गर्नुपर्ने हुँदा व्यहारिक मानिदैनथ्यो । त्यस्तै वाफिलो हावा उच्च स्तरमा भएको ठाउँमा मात्र यसले काम गर्न सक्छ ।

त्यसैकारण सोर्स कम्पनीले यसमा अलग्गै तरिका अपनाएको छ, जसलाई ‘जिरो मास’को नाम दिइएको छ । यसमा विजुली नभएर सूर्यबाट प्राप्त हुने ऊर्जा, सोलारले विजुलीको काम गर्दै हावालाई चिसो पार्ने ‘फ्यान’ चलाउँदछ । यो डिभाइस भित्र ‘स्पन्ज’जस्तै वस्तु राखिएको हुन्छ जसमा हावा परेपछि त्यसले बाफलाई सोस्छ । त्यसरी प्राप्त गरिएको बाफको पानीमा ‘म्याग्नेसियम र क्याल्सियम’ तत्त्व मिसाएपछि यसले पानीको स्वाद र स्वस्थकर गुण बढाउँछ ।

यसको अर्थ मिनिरलयुक्त स्वस्थ खाने पानी बिना कुनै अनावश्यक उत्सर्जन केबल हावा र नविकरण ऊर्जाबाट उत्पादन गर्न सकिन्छ । यसरी सोर्स कम्पनीले अहिले पानीसँगै प्लास्टिक मुक्त बोतलको ब्रान्ड पनि सुरु गर्ने योजना बनाइरहेको छ र होटल अनि रिसोर्टहरुमा साधारण पानीको बोतल बराबरकै मूल्यमा बिक्री गर्ने बताएको छ । यस परियोजना अन्र्तगत सोर्सले विश्वभरका विभिन्न अस्पताल र पानीको पहुँच कठिन भएका स्थलहरुमा आफ्नो ‘हाइड्रोप्यानल’ प्रविधि स्थापित गराएको छ ।

विशेषगरी मरुभूमी जस्ता विकट पर्यटकीय गन्तव्यहरुमा यसले धेरै ग्राहकलाई आकर्षित गराइरहेको छ । फोतुही भन्छन्, ‘मध्यपूर्वमा यो प्रविधिप्रति अत्याधिक चासो बढेको छ । किनकी हस्पिटालिटीको क्षेत्रमा अहिले ठुल्ठूला ब्रान्डहरु खानेपानी सेवाको दिगो समाधान खोजिरहेका छन् ।’ हाल सोर्सले दुबईस्थित मरुभूमीको बीचमा रहेको लक्जरी क्याम्पलाई सेवा प्रदान गरिरहेको छ । त्यहाँ हाइड्रोप्यानलमार्फत निकालिएको खाने पानी प्रयोग गरिराखिएको छ ।

यसको अर्को ठूलो ग्राहक साउदी अरब हुन सक्छ जहाँ एउटा ठूलो कम्पनीले १८ लक्जरी होटल निर्माण गर्ने योजना बनाइरहेको छ । र सबैमा सोर्सकै पानी प्रयोग गर्ने लक्ष्य रहेको छ । खानेपानी सम्बन्धी चुनौतिहरु सम्बोधन गर्ने ब्लुफिल्ड रिसर्चका सहप्रमुख किथ हेजका अनुसार सोर्सको डिजाइन अन्य वायुमन्डलीय पानी निस्काषक कम्पनीहरु भन्दा धेरै फरक छ जसले यसलाई दिगो र वातावरण अनुकूल बनाउँदछ । तर, विश्वभर झन्डै २ अर्ब मानिस खानेपानीको उच्च अभावबीच बाँचिरहेका छन् ।

र, सोर्स जस्ता केही दर्जन कम्पनीले ती संकटको समाधान गर्ने लक्ष्य बोके पनि सम्भावना कम रहेको हेज बताउँछन् । किनकी मूल्य सम्बन्धी प्रतिस्पर्धामा आउनै ती कम्पनीहरुलाई दश वर्ष लाग्न सक्ने र यसबाट निष्कासन गर्ने पानीको मात्रा कुवा, इनारलगायत साधारण स्रोतको केही हिस्सा आपूर्ति मात्र हुने भएकाले व्यवहारिक रुपा सर्वत्र अपनाउन कठिन हुने उनले बताए । त्यस्तै यसको अर्को चुनौतिमय पक्ष भनेको ठूलो स्तरमा जमिन हो ।

त्यसैले यसलाई वर्तमानका खानेपानी प्रणालीलाई बढावा दिने साधनका रुपमा मात्र लिन सकिने उनले बताए जसले प्लाष्टिकलगायत प्रदूषणजन्य उत्सर्जन कम गराउन मद्दत गर्नेछ । यी पक्षबारे फोतुहीले पनि स्वीकार गरेका छन् र हाइड्रोप्यानललाई प्रभावकारी बनाउन बोतलको सेवा या धारा आवश्यक पर्ने उनले बताए । तर पनि यसले स्पष्ट रुपमा वातावरण अनुकूल लाभ दिलाउन सक्नेमा उनले जोड दिएका छन् । उनले भने, ‘वातावरणीय दृष्टिकोणबाट हेर्ने हो भने यसले धेरै स्रोतसाधन जोगाउँछ र दिर्गकालीन रुपमा पनि यसको बलियो महत्व हुनेछ ।’ (सीएनएन)