Loading... आजः २१ श्रावण २०७८, बिहीबार
राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको १६५ मत, कसैको ‘धोका’, कसैको ‘गुन’

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको १६५ मत, कसैको ‘धोका’, कसैको ‘गुन’

काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन् ।सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।  आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट  विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् । प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए ।

त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए । एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए ।  केपी ओली पक्षकै सांसदहरू प्रेस आले र किसान श्रेष्ठ लगायतले देउवाको पक्षमा मतदान गरेका थिए । कांग्रेस सांसद गगन थापाले पनि देउवाले १६५ मत पाएको बताएका छन् । एकजना सांसदले दिन्न भन्ने पक्षमा मतदान गरेका छन् ।

देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन् । त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिएका छन् । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन् । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए । विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन् । अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ । यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुनेछन् ।

कसैको ‘धोका’, कसैको ‘गुन’

सर्वोच्च अदालतमा रिट दायर गर्ने बेलामा देउवाको पक्षमा हस्ताक्षर गरेका एमाले नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतले अन्तिममा आएर देउवालाई मतदान गरेनन् । भीम रावलले मतदान हुनुअघि नै सांसद पदबाटै राजीनामाको घोषणा गरे ।

माधव नेपाल र उनी पक्षका केही नेताले चाहिँ आफ्नो वचन अनुसार नै देउवाको पक्षमा मतदान गरे । प्रतिनिधि सभा विघटनविरुद्ध गठबन्धन बनाएर न्यायिक र राजनीति लडाइ गरेको एमालेको माधव समूहका केही सांसदले देउवाको पक्षमा मतदान गरेनन् । न त उनीहरूले विपक्षमा नै मतदान गरे ।

बरु उनीहरू देउवाले विश्वासको मत लिने बेलामा संसद् बैठक नै छोडेर बाहिरिएर देउवालाई ‘धोका’ दिएका थिए । एमालेको माधव समूहका केही नेताले धोका दिए पनि देउवालाई मतदान गर्ने अपेक्षा नै नगरिएका जसपा महन्थ ठाकुर पक्षका सांसदहरूले भने पक्षमा मतदान गरे ।

रेशम चौधरीको रिहाइ लगायतका मागहरू पूरा गर्ने देउवाले वचन दिएपछि महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिएको हो । एक सिट रहेको राप्रपा तटस्थ बसेको थियो । राष्ट्रिय जनमोर्चाले देउवाको पक्षमा मतदान गरेको थियो भने नेमकिपाले विपक्षमा मतदान गरेको थियो । अब विश्वासको मत पाएसँगै देउवा सरकारको सुनिश्चितता कायम भएको छ ।

कुल १७ महिना कार्यकाल रहेको यो सरकारको काँधमा कोभिडले तहस–नहस पारेको अर्थतन्त्रलाई लयमा फर्काउने, खोपको प्रबन्ध गर्ने र स्थानीय एवं तीनै तहका आम निर्वाचनहरू सम्पन्न गर्नुपर्ने अभिभारा छ । संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सबैसँग सहकार्य गरेर यी समस्याहरू समाधान गरिने र राष्ट्रिय एकता कायम गरिने बताएका छन् ।

पाँच घण्टाको बहस

प्रधानमन्त्री देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने समय रहेका कारण मत माग्न हतार नगर्ने अनुमान भइरहेका बेला ‘सरप्राइज्ड’ शैलीमा आइतबार विश्वासको मत माग्ने प्रस्ताव राखेका थिए । अपराह्न ४ बजे सुरु भएको बैठकको पहिलो चरणमा राष्ट्रपति कार्यालयका पत्रहरू वाचन गरिनुका साथै सरकारले गरेका विभिन्न निर्णयहरू र अध्यादेशबारे सभामुख अग्नि सापकोटाले सदनलाई सूचना दिएका थिए ।

१५ मिनेट रोकिएर बसेको दोस्रो चरणको बैठकमा एमालेका प्रदीप ज्ञवाली, काँग्रेसका डा. मिनेन्द्र रिजाल, माओवादीका प्रचण्ड, जसपाका महन्थ ठाकुर र बाबुराम भट्टराईका साथै राप्रपाका राजेन्द्र लिङदेन, जनमोर्चाकी दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले संसदमा मन्तव्य दिएका थिए । संसदमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री देउवाले दिएपछि प्रतिनिधिसभा भोटिङ भएको थियो ।