Loading... आजः १२ श्रावण २०७८, मंगलवार

ओलीलाई रिजालको कटाक्ष, ‘अदालतले सम्झाइसक्यो, धेरै उड्ने प्रयास नगर्नुस्’

ओलीलाई रिजालको कटाक्ष, ‘अदालतले सम्झाइसक्यो, धेरै उड्ने प्रयास नगर्नुस्’

काठमाडौं । काँग्रेस नेता मिनेन्द्र रिजालले ग्रिक पौराणिक कथाको उदाहरण दिँदै प्रतिपक्षलाई धेरै उड्ने प्रयास नगर्न चेतावनी दिएका छन् । ‘एउटा टापुको जेलबाट निस्किएर भाग्नेक्रममा इकारसलाई उसको बाबु डेडालसले कृत्रिम पखेटा बनाइदिन्छ र सम्झाउँछ, समुद्रको आर्द्रता धेरै हुन्छ, धेरै तल पनि नजाऊ । धेरै माथि पनि नजाऊ, सूर्य तातो हुन्छ ।’ संसद्मा देउवाका लागि विश्वासको मत माग्दै देउवालाई अदालतले प्रधानमन्त्री बनाएको भन्ने एमालेको आरोपलाई उनले खण्डन गरे ।

‘अदालतले देउवालाई प्रधानमन्त्री बनाएको होइन । संविधानअनुसार दलहरूले प्रधानमन्त्री दिन नसकेर संसद् नै विघटन हुने अवस्था आउँदा धारा ७६ (५) अनुसार विवेकको मत दिएर संसद्को रक्षा गर्नसक्नेबारे सम्झादिएको मात्रै हो,’ उनले ओलीलाई लक्षित गर्दै भने, ‘प्रचण्डलाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । माधव नेपाललाई विवेकको मत दिन बाध्य गराएको अदालतले होइन । तपाईँको अहङ्कारले हो । त्यसैले अहङ्कारबाट बाहिर निस्कनुस् ।’ सांसद रिजालले विपक्षी दल एमालेले भनेजस्तो अदालतले प्रधानमन्त्री नियुक्त नगरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले अदालतले प्रधानमन्त्री नियुक्ति गरेको नभई संविधान मिच्नेहरूलाई संविधान छ भनेर सम्झाएको बताए । उनले हिजो केपी शर्मा ओलीको नेतृत्व सरकार बनेदेखि संविधान भत्काउने काम सुरु भएको बताए । ‘एउटै दलको सभामुख र उपसभामुख बनाउनुभयो । दुई तिहाइको सरकारले जे गरे पनि हुन्छ भन्ने भयो,’ रिजालले भने, ’अदालतले प्रधानमन्त्री नियुक्ति गरेको होइन । उसले संविधान मिच्नेहरूलाई संविधान छ भन्ने सम्झना गराइदिएको हो ।’ रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि सरकारले हरेक दिन संसद्को गरिमा बढाउने दाबी गरे ।