प्रदीप ज्ञवालीले भने, ‘निर्दलीयतालाई जस्केलाबाट छिराइयो’

काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले देशमा पुनः निर्दलीय व्यवस्थाको अभ्यास भएको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता ज्ञवालीले ३२ वर्ष अघि अन्त्य भएको निर्दलीयतालाई ‘जस्केलाबाट छिराइएको’ टिप्पणी गरे ।

ज्ञवालीले देउवा निर्दलीय व्यवस्था छिराएर प्रधानमन्त्री बनेको पनि टिप्पणी गरे । ‘यसरी प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई बधाई या शुभकामना कसरी दिने होला भन्ने लागिरहेको छ,’ ज्ञवालीले भने । आफ्नो पार्टी (एमाले)ले सर्वोच्च अदालतको फैसला मान्ने बताउँदै नेता ज्ञवालीले सर्वोच्चले प्रधानमन्त्री तोक्ने कुराको गर्न नसकिने पनि बताए ।

‘एमाले विधिको शासनमा विश्वास गर्छ । संविधानको सर्वोच्चतामा विश्वास गर्छ । जतिसुकै अप्रिय भए पनि हामी सर्वोच्च अदालतका फैसला मान्छौं,’ ज्ञवालीले भने, ‘तर, जे भए पनि सर्वोच्चले प्रधानमन्त्री तोक्ने कुराको हामी कल्पना गर्दैनौं ।’