Loading... आजः १२ श्रावण २०७८, मंगलवार
राजनीति

देउवालाई विश्वासको मत, ओलीको अग्नीपरीक्षा

देउवालाई विश्वासको मत, ओलीको अग्नीपरीक्षा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधिसभाको बैठकमै विश्वासको मत लिने भएका छन् । दोस्रो पटक विघटन भएर अदालतको आदेशले पुनःस्थापना भएपछिको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा (७६) ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएको ५ दिनमै देउवाले विश्वासको मत लिने तयारी गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । खासमा प्रधानमन्त्री देउवाले चलाखी गरेको प्रस्ट छ । नियुक्तिपछि देउवासँग विश्वासको मत लिनको लागि ३० दिनको समय छ । त्यो ३० दिनमध्ये आज पाँचौं दिन हो ।

प्रधानमन्त्रीलाई नियुक्तिपछि विश्वासको मत लिँदासम्म अरु दल तथा सांसदहरुलाई विश्वासमा लिनको लागि यो एक महिनाको समय राखिएको भए पनि देउवाको हकमा भने उल्टो छ । उनी प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिल्यैदेखि उनको साथमा बहुमत सांसदको समर्थन छ तर यो एक महिनाको अवधिमा परिस्थिति उल्टिएर उनले विश्वासको मत गुमाउन सक्छन् ।

त्यसैले आफूले विश्वास गुमाउने परिस्थिति नआउँदै देउवा विश्वासको मत लिएर ढुक्क हुन चाहन्छन् । यदि आज देउवाले विश्वासको मत पाए भने संवैधानिक व्यवस्थाअनुसार २ वर्षसम्म उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन । त्यो अवधिमा वर्तमान प्रतिनिधिसभाको कार्यकाल नै सकिन्छ र स्वतः चुनाबमा जानुपर्छ ।

हुन त उनले आज विश्वासको मत नपाए पनि प्रधानमन्त्री उनी नै रहन्छन् । तर, कामचलाउ प्रधानमन्त्रीको हैसियतमा । कामचलाउ हैसियतमा रहँदा ठूला निर्णय गर्न भने उनलाई नैतिक संकट हुनेछ । देउवाले आज विश्वासको मत लिने तयारी गरिरहँदा देउवालाई भन्दा धेरै दबाब पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई छ । किनकि देउवा एमालेभित्र विवाद चलिरहेको बेला धमिलो पानीमा माछा मार्न चाहन्छन् ।

एमालेभित्र विवाद चलिरहेका बेला अहिले नै संसदमा विश्वासको मत माग्ने हो भने माधव नेपाल पक्षका सांसदले उनलाई मत दिन्छन् । एमालेको विवाद मिलिहाल्यो भने उनीहरुले मत नदिन पनि सक्छन् । त्यसैले उनी ‘भाइ फुटे गवार लुटे’ शैलीमा एमाले नमिल्दै विवादको फाइदा उठाउन चाहन्छन् ।

देउवाले विश्वासको मत मागिरहँदा आफ्नो पार्टीलाई एकढिक्का राख्न सक्ने कि नसक्ने भन्ने गम्भीर चुनौती पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग छ । ओली एमालेका पार्टी अध्यक्ष हुन् र एमाले संसदीय दलका नेता पनि हुन् । आज उनले माधव नेपाल समूहलाई देउवाको पक्षमा मतदान गर्नबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने एक प्रश्नको जवाफले ओली नेतृत्वको सफलता वा असफलताको छिनोफानो गरिदिनेछ ।

ओलीको बोली अलि छुद्र छ । उनी आफूसँग असहमत पक्षलाई बोलीको झटारो हान्छन् । उखान, टुक्का, भाषिक अलंकारको प्रयोग गरेर होच्याउँछन् । सुन्दा रमाइलो लाग्ने भए पनि उनले जसप्रति लक्षित गरेर घोचपेच गर्छन् उसलाई ओलीको बोली गोलीझैं लाग्छ । आज ओलीको बोली फेरिएला र उनले माधव नेपाल पक्षका सांसदलाई फकाएर रोक्न सक्लान् कि नसक्लान् भन्ने विषयमा धेरैको चासो छ ।

रोक्न सकेनछन् भने बेलुका आलोचकले भन्नेछन्, तित्राको मुखै बैरी । देउवालाई आज विश्वासको मत लिनबाट रोक्नु ओलीका लागि यसकारण पनि जरुरी छ किनकि आज विश्वासको मत पाए देउवा जनमत प्राप्त प्रधानमन्त्री बन्नेछन् । बालुवाटारबाट निस्केलगत्तै ओलीले आफूलाई जनादेशले होइन परमादेशले हटाएको भनेका थिए ।

हट्नुअघि उनी संसदबाट विश्वास नपाएका अल्पमतका कामचलाउ प्रधानमन्त्री थिए । र, उनी निर्वाचनसम्म नै कामचलाउ हैसियतमै जाने तयारीमा थिए । तर, आज देउवाले विश्वासको मत पाए भने देउवाले संसदको विश्वास प्राप्त जनमतको प्रधानमन्त्रीको हैसियतमा चुनाब गराउने छन् । देउवा त्यसरी चुनावमा जानु निर्वाचनका क्रममा ओलीका लागि थप चुनौतीपूर्ण हुनेछ ।