महन्थलाई छाडेर चार सांसद उपेन्द्रतिर

काठमाडौं । जनता समाजवादी विभाजनतर्फ जाँदै गर्दा सांसद र नेता तानातान तीव्र भएको छ । पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै जसपाको उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा तान्न थालेको हो ।

शनिबार मात्रै बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा उपेन्द्र पक्षको संसदीय दल बैठकमा महन्थ समूहमा रहेका चारजना सांसद सहभागी भएका छन् । स्रोतका अनुसार उक्त बैठकमा यसअघि ठाकुर समूहतर्फ लागेका सांसदहरु रुही नाज, अमृता अग्रहरि, प्रमोद साह र रानी मण्डल सहभागी भएका हुन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा जाने क्रममा ठाकुर समूहले करिब २० जना सांसदहरु आफ्नो पक्षमा तानेको थियो । तर सर्वोच्चको आदेशबाट ठाकुर समूह ओली सरकारबाट बाहिरिएसँगै यादव पक्षले सांसदहरुलाई तान्न थालेको हो । पछिल्लो पटक ओली पनि सत्ताबाट बाहिरिएपछि उपेन्द्र यादव समूह देउवा नेतृत्वको सरकारमा जाने तयारीमा छ ।

यस्तोमा यादवले देउवालाई विश्वासको मत जुटाउने रणनीतिसहित सांसदहरु तान्न थालेको छ । यादवको यही प्रयासस्वरुप आज बसिरहेको दलको बैठकमा तीनजना सांसद सहभागी भएका हुन् । उक्त बैठकमा सहभागी रुही नाज संघीय समाजवादी पार्टीबाटै विजयी भएकी थिइन् । तर उनले ओलीलाई सघाउने ठाकुरको निर्णयमा समर्थन जनाउँदै यसअघि यादवलाई छाडेकी थिइन् ।

आजको बैठकमा सहभागी अन्य तीन सांसदहरु प्रमोद साह, अमृता अग्रहरि र रानी मण्डल पूर्व राजपाकै हुन् । उनीहरुलाई पनि तानेपछि यादवले आफ्नो पक्षमा कार्यकारिणी परिषद् र दलमा पनि बहुमत पु¥याउने प्रयासलाई तीव्र पारेका छन् । यादव समूहका एकजना नेताका अनुसार अझै केही सांसदहरुले ठाकुर समूहलाई छाड्दैछन् । त्यसरी ठाकुर समूहलाई छाड्न तयार रहेकाहरूमा राजकिशोर यादव, नरमाया ढकाल र प्रमोद साहसहित छन् ।

उनीहरुले यादव समूहका दोस्रो तहका नेताहरुसँग वार्ता गरिसकेका छन् । तर अध्यक्ष यादवसँगको वार्ता सम्भव नभएपछि उनीहरु आजको बैठकमा सहभागी भएनन् । यादवसँग वार्ता भइसकेपछि यी तीनजना सांसद पनि ठाकुर समूहलाई छाडेर आउने तर्खरमा रहेको स्रोतले जनाएको छ । यादवले सत्तामा जाने तर्खर गरेसँगै ठाकुर समूहका धेरैभन्दा धेरै सांसद तानेर दल विभाजनका क्रममा पनि आफूलाई बलियो बनाउने रणनीति लिएका छन् ।