Loading... आजः २१ श्रावण २०७८, बिहीबार
समाचार

‘दर्ता नहुँदा नेपालगन्ज मेडिकल कलेज बिक्री प्रक्रियामा ढिलाई’

बिक्रीको हल्लाले आतंकित, नयाँ व्यवस्थापनसँगै धेरै कर्मचारीको ‘जागिर धराप’मा ।
‘दर्ता नहुँदा नेपालगन्ज मेडिकल कलेज बिक्री प्रक्रियामा ढिलाई’

बाँके । डाक्टर सुरेशकुमार कनोडिया ग्रुपको शेयर बर्चस्व रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल बिक्रीको अन्तिम तयारीमा रहेको खुलेको छ । नेपालगन्ज मेडिकल कलेज खरीद गर्नका लागि विराटनगरका सुनिल शर्मा पक्षले अन्तिम प्रयास गरिरहेको छ ।

नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक रहेका डा.कनोडिया र विराटनगरका शर्मा पक्षबीच मेडिकल कलेज खरीद बिक्रीका लागि काठमाडौंमा ‘वान टू वान’ टेवुल वार्ता चलिरहेको छ । नेपालगन्ज मेडिकल कलेज खरिद गर्न खोज्ने शर्मा नोबेल मेडिकल कलेज र केएमसी मेडिकल कलेजका मालिक हुन् ।

नेपालमै ठूलो मानिएको नेपालगन्ज मेडिकल कलेज खरीद गर्नका लागि शर्माले अन्तिम प्रयास गरिरहेका छन् । ‘नेपालगन्ज मेडिकल कलेज बिक्रीका लागि एक वर्षदेखि कुरा चलिरहेको हो । अहिले पनि चलिरहेको छ । तर, अझैं टुङ्गो लागेको छैन ।’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालक उच्च स्रोतले भन्यो ।

नेपालगन्ज मेडिकल कलेज पश्चिम नेपालको उपचार र मेडिकल अध्ययनका लागि केन्द्र मानिन्छ । सञ्चालक श्रोतका अनुसार, मेडिकल कलेजलाई थप गुणस्तर सेवा प्रदानसँगै स्तरउन्नतीका लागि मेडिकल कलेजको शेयर बिक्री गर्न लागिएको हो । स्रोतले भन्यो, ‘बिक्रीका लागि विभिन्न चरणमा छलफल भइरहेको छ । डकुमेन्टमा अझैं हस्ताक्षर भइसकेको छैन ।’

शर्माले नेपालगन्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिद गर्न खोजेका छन् । तर, नेपालगन्ज मेडिकल कलेजको ४५ प्रतिशत शेयर मात्र बिक्री गर्न खोजेपछि टुंगोमा नपुगेको ब्यवस्थापन पक्षले जनाएको छ । ब्यवस्थापन पक्षले भन्यो, ‘प्राविधिक कारणले ५५ प्रतिशत शेयर खरिद गर्नका लागि उहाँहरु अझै दुई वर्ष पर्खिनुपर्नेछ ।’

नेपालगन्ज मेडिकल कलेजमा भारत, बङ्गलादेश लगायतका देशबाट मेडिकल अध्ययन गर्न आउने गर्छन् । स्रोतका कडा स्वभावका शर्माले नेपालगन्ज मेडिकल कलेज खरिद गरेमा कलेजका धेरै कर्मचारीको जागिर धरापमा पर्नेछ । शर्माले एक वर्षदेखि कलेजका कर्मचारीहरुको चालचलन र कार्यशैली सुक्ष्मरुपमा अध्ययन गर्दै आएको बताइएको छ ।

करिब १२ सय कर्मचारी रहेको मेडिकल कलेजको व्यवस्थापन शर्मा आफैले सम्हाल्ने र कर्मचारीले आन्दोलन गरेर बखेडा झिके नयाँ कर्मचारी भर्ना गरेर कलेज सञ्चालन गर्ने श्रोतले बतायो । काम नगरी हाजिर मात्र लगाएर तलब बुझ्दै आएका कर्मचारीलाई पहिलो चरणमै जागिरबाट हटाउने नयाँ व्यवस्थापनको योजना छ ।

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुबीच मेडिकल कलेज बिक्री भइसकेको हल्ला चलेको छ । केही कर्मचारीहरु अब अस्पताल राम्रो हुन्छ भनेर खुशी छन् भने केही कर्मचारीहरु विक्रीको हल्लाले आतंकित छन् । स्वास्थ्य मन्त्रालयमा दर्ता नै नगरेर सञ्चालनमा रहेको कलेजले विक्री गर्नुपूर्व दर्ताको काम सक्नुपर्ने भएकाले पनि केही ढिलाई भएको स्रोतले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेजले अस्पताल सञ्चालनका लागि ०७१ असार १ मा निवेदन दर्ता गराए पनि हालसम्म दर्ता नै नगरेर अवैधरुपमा सञ्चालनमा रहेको स्रोतले जनायो । मन्त्रिपरिषद्को ०७३ पुस १९ को बैठकले दर्ता र अनुमति नलिई सञ्चालनमा रहेका मेडिकल कलेजहरुले दर्ता र अनुमति लिइसक्नुपर्ने निर्णय गरेको थियो ।