Loading... आजः १२ श्रावण २०७८, मंगलवार

सडकमा चल्दैनन् गाडी, खच्चडकै भरमा ढुवानी

सडकमा चल्दैनन् गाडी, खच्चडकै भरमा ढुवानी

जाजरकोट । वर्षायाममा सडक अवरुद्ध भई यातायातका साधन नचले पछि खच्चडको सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी हुँदै आएको छ । खच्चडमा ढुवानी गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य हिउँद समयमा भन्दा बढेको छ । जुनीचाँदे गाउँपालिकामा हरेक सामग्रीको मूल्य २५ प्रतिशतभन्दा बढी वृद्धि भएको स्थानीय महेन्द्रबहादुर शाही बताउँछन् ।

‘हाम्रोमा मात्र हो कि अन्यत्र पनि यस्तै हो,’ उनले भने, ‘हरेक सामग्रीमा २५ प्रतिशत मूल्य वृद्धि भएको छ । खोजेको बस्तु पाउनसमेत मुस्किल भएको छ ।’ पानीले कच्ची सडक कटान गर्नुका साथै ठाउँठाउँमा भत्किएको छ । यस्तै, खहरे खोलामा पानीको बहाव बढेका कारण यातायातका साधनहरु सञ्चालन हुन नसकेका छैनन् । भौतिक निर्माणका काम निर्माणका सामग्री नपाउँदा अवरुद्ध हुँदै आएको छ ।

जाजरकोट–जुम्ला सडक खण्डभित्रको खलंगा–पाँचकाटिया जोड्ने सडक भेरी नगरपालिका–२ गारा राङसीमा पटक–पटक भत्किएपछि सञ्चालन गर्न मुस्किल भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । ‘सडक कसरी निर्माण गरेको हो, आकाशबाट पानी झर्न बित्तिकै अवरुद्ध हुन्छ,’ उनले भने, ‘कति पटक सडक मर्मत गर्नु । हामीसँग एउटा मात्र डोजर छ । कहाँ कहाँ लिएर मर्मत गर्नु हैरान भइसक्यो ।’

प्रजिअ देवकोटाले साना र आफ्नो छेउछाउँको सडक स्थानीय तहले मर्मत गर्दा हुने भए पनि नगरेको बताउँछन् । नलगाड नगरपालिका र जुम्ला जोड्ने सडकको सक्लामा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको एक साता बितेको छ । यो अवधिमा पन िमर्मत नहुँदा यातायातका साधनहरु सञ्चालनमा मुस्किल भएको छ । अहिले बारेकोटमा खच्चडमार्फत दैनिक ढुवानीका काम हुँदै आएका छ ।

नलगाड नदीको खारास्थित काठेपुल बाढीले बगाएपछि यातायात सेवा पूर्णरुपमा ठप्प भएको छ । यातायात अवरुद्ध भएसँगै झुलुङ्गे पुलमा खच्चडहरु तारेर बारेकोटमा दैनिक उपभोग्य सामग्री ढुवानी कार्य भइरहेको स्थानीय व्यापारी नीमबहादुर सिंहले बताए । मुख्य सडक बाहेक अन्य स्थानीय तह जोड्ने अधिकांश सडकहरु अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा खच्चडको भरमा ढुवानी गर्दा अस्वाभाविक रुपमा मूल्य बढेको स्थानीयवासीको गुनासो छ ।

डोजरले खनिएका सडकहरुमा माटो कम्जोर हुँदा पहिरो आएको स्थानीयवासीको भनाइ छ । त्यस्तै, सडक जथाभावी खनिँदा कुशे गाउँपालिका–६ जरगाउँमा १५ परिवारको बस्ने घर जोखिममा परेको छ । अहिले घर छोडेर खुला आकाशमुनि बस्न बाध्य भएको पीडित भीमबहादुर परियारले बताए । घरदेखि तल सडक निर्माण गरिँदा जमिन भाँसिएपछि गाउँलेहरुले घर छोडेको उनले बताए ।

भेरी नगरपालिका–२ रिसाङस्थित गाउँमा प्राविधिकले दिएको इस्टिमेटभन्दा फरक ठाउँबाट सडक निर्माण गरिँदा १३ घर विस्थापित भएका छन् । सात घर भत्किएका छन् । त्यस ठाउँमा सडक अवरुद्ध हँुदा खच्चडकै सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेको छ । कुशे गाउँपालिकाको व्यापारिक तथा पर्यटकीय केन्द्र पाँचकाटिया बजारमा सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामगी पाउन मुस्किल भएको स्थानीय व्यापारी युवराज ओलीले बताए ।

‘सामग्री खच्चडमै लिन समस्या छ,’ उनले भने, ‘जाजरकोट सदमुकाममा समेत खोजेको सामग्री पाइँदैन । गाउँमा कसरी पुर्याउने ? यातायात ठप्प छ । खच्च्डमा अत्यधिक चर्को भाडा छ ।’ नयाँ अन्न पाकी नसकेको र पुरानो सकिएको अवस्थामा सर्वसाधारणहरु खाद्यान्नको भर स्थानीय बजार नै हुन् । स्थानीय बजारमा समेत दैनिक उपभोग्य सामग्री ढुवानी कार्य कठिन भएपछि गाउँमा खाद्यान्न अभाव देखिन थालेको छ । वर्षायाम सुरु हुनुअघि नै सबै सामग्रीको जोहो गर्न प्रशासनले आग्रह गरे पनि कसैले ध्यान नदिंदा अहिले समस्या देखापरेको छ ।