Loading... आजः ९ श्रावण २०७८, शनिबार
जनता आवास कार्यक्रम

बाँके र बर्दियाका विपन्न परिवारलाई पक्की घर

बाँके र बर्दियाका विपन्न परिवारलाई पक्की घर
फाइल तस्वीर

बाँके । जनता आवास कार्यक्रमबाट बाँके र बर्दियाका दुई हजार ८४३ विपन्न परिवारले पक्की घर पाएका छन् । आर्थिक वर्ष २०७४ पछि गत आर्थिक वर्षसम्म दुई हजार १२७ घर निर्माण भएका थिए । जसमध्ये एक हजार १०१ घर बाँकेमा निर्माण भएका थिए भने एक हजार २७ घर बर्दियामा निर्माण भएका हुन् ।

चालू आर्थिक वर्ष २०७७/०७८ मा दुवै जिल्लामा थप ७१६ घर निर्माण भएको सहरी विकास तथा भवन कार्यालय बाँकेले जनाएको छ । कार्यालयका प्रमुख इन्जिनियर राम आश्रय शाहले आर्थिक वर्ष २०७४ बाट सुरु भएको सो कार्यक्रम सुरुको आर्थिक वर्षमा सङ्घीय सरकार अन्तरगत सञ्चालन भएको र २०७५/०७६ बाट प्रदेश सरकार अन्तरगत सञ्चालन भइरहेको बताए ।

उनका अनुसार बाँके र बर्दियामा सहरी विकास तथा भवन कार्यालय बाँकेले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष २०७४ मा बाँके र बर्दियामा कुल एक हजार ९३६ लाभग्राहीसँग घर बनाउने सम्झौता भएकोमा बाँकेमा ४४४ र बर्दियामा ६६३ घर गरी एक हजार १०७ घर निर्माण भएका थिए ।

यस वर्ष भने जनता आवास कार्यक्रमको प्रगति बाँके र बर्दियामा सुध्रिएको छ । चालू आर्थिक वर्ष २०७७/०७८ मा पनि अघिल्लो आर्थिक वर्षमा निर्माण हुन नसकेका ५९८ घर क्रमागत योजना अन्तरगत सञ्चालनमा थिए । प्रमुख इन्जिनियर शाहका अनुसार चालू आवमा थप २०७ लाभग्राहीसँग घर निर्माणको सम्झौता गर्ने र कुल ८०५ घर निर्माण गर्ने योजना थियो ।

जसमध्ये ७१६ घर निर्माण भएको सहरी विकास तथा भवन कार्यालय बाँकेले जानकारी दिएको छ । कार्यालयका प्रमुख शाहले कोरोना महामारीको दोस्रो लहरका बीच पनि आफूहरूले कार्यक्रमको कार्यान्वयनमा दिनरात खटिएर इमानदारीपूर्वक काम गरेकाले योजना सफल भएको बताए ।

यति हुँदाहुँदै पनि सम्झौता भएका ८९ घर निर्माण हुन बाँकी नै रहेकोसमेत सहरी विकास तथा भवन कार्यालय बाँकेले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तरगत घर पाएका अधिकांश विपन्नले आफ्नै घर हुने ठूलो सपना पूरा भएको प्रतिक्रिया दिए । आफूहरूले यस्तो घर कहिल्यै बनाउन नसक्ने जनाउँदै सरकारले बनाइदिएकोमा खुशी व्यक्त गरे ।