चाडपर्व/संस्कृति

आज साउने संक्रान्ति पर्व, मुलुकभर मनाइदै, यस्तो छ महत्व

बाँके । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महीनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । एक महीना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।

परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दो आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । साउन महीनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए । साउन महीनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महीना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् ।

महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ । तर, यो मान्यता आदिवासी समुदायमा त्यति पाइँदैन । साउने संक्रान्ति किराँती समुदायकाबीच ‘सिसेक्पा तङ्नाम’को नामले मनाउने गरिन्छ । किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने संक्रान्तिको दिन नयाँ पाकेका फलफूलहरू चढाउन डोरीमा तुनेर ढोकामाथि झूण्ड्याउने परम्परा रही आएको छ ।

पश्चिम कर्णालीको हुम्ला जुम्लातिरका आइडी जातिहरूले साउने संक्रान्ति पर्वलाई बलिरहेको अगुल्टोलाई दक्षिणतिर फ्याँकेर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हट जाऊ, दुर्भाग्यको प्रतिक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरूभित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् ।

पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही ‘लुतो’ फाल्ने चाडको रूपमा मात्र मान्दैनन् । किराँत समुदायमा ‘काण्डरकु’ नामक राक्षसभन्दा फरक प्रसङ्गमा ‘माङहाङ’ नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक काहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ ।

यसर्थ, यो चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना–सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ । नेपालको पूर्वीक्षेत्र लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल, र पात (च्योङ) हरू सङ्कलन गरी ल्याउने गरिन्छ ।

दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहेको छ । सबै परिवार मिलेर सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खाना खाएर रमाइलो गर्छन् । साउने सङ्क्रान्तिको दिन साँझपख गाउँघरमा मिठो–मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्काइन्छ ।

थाल, झयाम्टा, नाङ्लो र ढोलहरू बजाइन्छ । प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गर्छन् । यसरी, खराब कुरालाई खेदाइरहेको बेला कुनै भूभप्रेत वा भौतिक शत्रु, चोर, डाका आदिलाई खेदाइएका हुँदैनन् ।

किसानका छोराछोरीहरूले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्ग्रान्ति आऊस अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा ‘अनिकाल वा दुःख–पीडा’लाई पर्वको रूपमा मनाउँदै खेदाएर रमाउने गर्छन् । यस्ते उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक–साँस्कृतिक विकृति–विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनैतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गर्छन् ।

मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रूपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई ‘हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई ‘वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउने गर्दछन् । अर्थात् माघे सङ्क्रान्ति मरिन्छ कि भनेर मनाउने हो भने साउने सङ्क्रान्ति लौ बाँचियो भनेर मनाउने हो । थकाली आदिवासी जनजातिको परम्परागत धर्म–संगठन मुखियाप्रणाली हो ।

यो सामाजिक संस्थाले पनि साउने सङ्क्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जूवातास खेल्नसमेत छुट दिने गरेको छ । तर, अरु दिनमा पनि जूवातास खेलिएमा त्यही संस्थालेनै दण्ड वा जरिवाना गर्ने चलनसमेत रहेको छ । त्यस्तै तमु–गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन् । पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् ।