Loading... आजः १२ श्रावण २०७८, मंगलवार

सार्वजनिक सवारीमा पालना गर्नुपर्ने यी मापदण्ड

सार्वजनिक सवारीमा पालना गर्नुपर्ने यी मापदण्ड

काठमाडौं । काठमाडौँ उपत्यकामा १० साउनसम्म लम्ब्याएको निषेधाज्ञामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ।

बिहीबार उपत्यकाका तीनै जिल्ला प्रमुख बसेको बैठकले सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न निर्देशन दिएको हो।

उक्त बैठकले सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, सवारी चालक तथा सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने निर्णय गरेको छ।

यस्तै, गाडीको ढोकामा स्यानिटाइजर राख्नुपर्ने र अनिवार्य सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने निर्णय भएको छ। यस्तै, सफा टेम्पो तथा निलो माइक्रोले यी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्नेछ।

सफा टेम्पोले पछाडिको तेस्रो सिटमा ४–४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रुभन्दा बढी राख्न पाउने छैन।

सवारीको मध्यभागमा दुईतर्फी यात्रु छुट्याउने गरी बीचमा प्लास्टिक छेकबार लगाएर मात्र यात्रु बोक्न पाइनेछ।

उपत्यकाभित्र सञ्चालन हुने निजी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रूपमा पालना गरी सञ्चालन गर्नुपर्ने छ। सरकारले निर्देशन दिए पनि अधिकांश सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भएको देखिँदैन।