राप्तीमा डुबान र कटान

नेपालतिर बाँसको तटबन्ध, भारततिर पक्की सडक

भर्खरै

बाँके । नरैनापुरको भगवानपुर गाउँलाई बचाउन राप्ती नदीमा बासको तटबन्ध बनाइएको छ । केही ठाउँमा जालीमा ढुंगा राखेर तटबन्ध बनेको छ । यो अस्थायी तटबन्धले गाउँलाई डुवानबाट बचाउने आशा गरिएको छ । ठूलो बाढी आएमा गाउँ जोखिने अवस्था भने छैन ।

त्यसो त २०७१ सालको बाढीले तल्लो क्षेत्रका चार सय घरधुरीलाई उठिबास लगाइसकेको छ । अलि माथि रहेका घरहरुलाई बचाउन कतै ढुंगा त कतै बासको तटबन्ध बनाइएको छ । सरकारले जनताको तटबन्ध कार्यालयमार्फत राप्ती नदीमा तटबन्ध बनाइरहेको छ ।

यो भगवानपुर गाउँसम्म पुगिसकेको छैन । अहिलेसम्म ठाउँठाउँमा गरेर १७.५ किलोमिटर तटबन्ध बनेको छ । काम युद्धस्तरमा हुन सकिरहेको छैन । २०७१ मा ठूलो बाढी आयो । २०७४ मा पनि बाढी आयो । त्यसपछि राप्ती नदीमा ठूलो बाढी आएको छैन ।

भारतले दशगजामा बनाएको सडकजस्तो पक्की बाँध ।

बाढी नआए पनि बर्खामा तटीय क्षेत्रका बासिन्दाको ढुकढुकी बढ्ने गर्दछ । राप्ती नदीमा राम्रो तटबन्ध बन्न नसकेकाले तटीय क्षेत्रका बासिन्दाको डुवानमा पर्ने चिन्ता बर्सेनि हुने गर्दछ । बाँसको तटबन्ध भएको ठाउँका बासिन्दा नडराउन् पनि कसरी ?

भगवानपुरका कैलाश तिवारी भन्छन्, ‘पक्की तटबन्ध बनाइदिए हामीलाई डुबानको डर हुन्थेन । बाँसको तटबन्ध छ । यसले कहाँबाट बाढी छेक्छ र ?’ नेपाली गाउँमा यस्तो अस्थायी तटबन्ध रहँदा भारतले दशगजामै सडकजस्तो पक्की तटबन्ध बनाएको छ ।

राप्ती नदीमा लक्ष्मणपुर बाँध बनाएर नदीको पानी रोकिएको छ । नदीको अन्य भंगालोसँगै अरु खोला नालाको बहाव रोक्न भारतले दशगजामै सडकजस्तो पक्की तटबन्ध बनाएको छ । भारतले पानी रोक्न पक्की तटबन्ध बनाउदा नेपालतर्फ भने बासको अस्थायी तटबन्ध छ ।

भगवानपुर गाउँमा बनाइएको बाँसको तटबन्ध ।

भारतले लक्ष्मणपुर बाँध र कलकलावा तटबन्धका साथै दशगजामै सडकजस्तो बाँध बनाएपछि नदीको प्राकृतिक बहाव रोकिएको छ । त्यसले गर्दा नदीले धार परिवर्तन गरिरहेको छ । सात वर्षअघिसम्म भगवानपुर गाउँबाट राप्ती नदी तीन किलोमिटर टाढा थियो ।

अहिले एउटा भंगालो गाउँछेउमै रहेको छ । मूल नदी पर पुगिसकेको छ । होलियाको पिप्रहवा, टेपरीका बासिन्दालाई राप्ती नदी मोडिएपछि अलि डर कम भएको छ । अहिले त्यहाँ नजिक डुडुवा नाला बगिरहेको छ । राप्तीको मूल नदी टाढा पुगिसकेको छ ।

राप्ती नदीले धार परिवर्तन गरिरहदा कहिले कुन गाउँ जोखिममा पर्छ भन्न सकिने अवस्था छैन । सात वर्षअघिसम्म होलियाको पिप्रहवा, टेपरी, कृषि चौफरीमा सीधै राप्ती नदी ठोक्किन्थ्यो । नदीले धार परिवर्तन गरिरहँदा राम्रो खाद्यान्न उत्पादन हुने ठूलो भूभाग मरुभूमि बनिरहेको छ ।

सरकारले छिटोभन्दा नदीको दुवै किनारमा पक्की तटबन्ध नबनाएसम्म राप्ती तटीय क्षेत्रका नागरिकलाई डुवानको चिन्ता रहिरहनेछ । बासको तटबन्ध बनाएर डुवान रोकिनेवाला छैन । भारतले दशगजामै पक्की तटबन्ध बनाउँदा नेपालले पनि त्यही प्रकारको बलियो संरचना बनाउन जरुरी छ ।