मौसम पूर्वानुमान महाशाखा

साउन पहिलो साता भारी वर्षाको सम्भावना, बाढीको धेरै जोखिम

काठमाडौं । मनसुनी गतिविधिसँगै अरु मौसमी प्रणालीको प्रभावका कारण अबको केही दिनमा तुलनात्मक रुपमा बढि पानी परि बाढीको जोखिम देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार जारी गरेको विशेष मनसुन बुलेटिनका अनुसार साउन २ देखि ४ गतेसम्म मनसुन थप सक्रिय हुने देखिएको छ ।

महाशाखाले भनेको छ, ‘हाल देशभर मनसुन सक्रिय अवस्थामा रहेको छ । साउन २ गतेदेखि ४ गतेसम्म मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने तथा बंगालको खाडीबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकोले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।’

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र धेरै भारी वर्षाको सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । तराई क्षेत्रमा खोलाहरुमा पानीको बहाव बढ्ने तथा बाढीको जोखिम हुन सक्ने जनाइएको छ ।

यस्तै पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।