Loading... आजः ९ श्रावण २०७८, शनिबार
समाचार

कामको खोजीमा नेपालीहरु फेरि भारततिर

कामको खोजीमा नेपालीहरु फेरि भारततिर

बाँके । कोरोना सङ्क्रमणमा केही कमी आएपछि कामका लागि नेपालीको फेरि भारततर्फ जाने क्रम सुरु भएको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका एक हजारभन्दा बढी युवा दैनिक रोजगारीका लागि भारततर्फ गइरहेका छन् ।

स्वदेशमा रोजगारी नपाउँदा बाध्य भएर कोरोनाका समस्या भारतमा केही मत्थर हुन नपाउँदै भारततर्फ जानको लर्काे लाग्न थालेको सीमा नाकामा रहेका प्रहरीले बताएका छन् । भारतमा कोरोना बढेपछि तीन महिना पहिले मात्रै नेपाल फर्किएका कालीकोट मान्मका नरेश रावलले स्वदेशमा कुनै काम नै नपाएर भोकै बस्ने अवस्था आएपछि बाध्य भएर फेरि भारत जान थालेको बताए ।

उनले कोरोनाको त्रास बाँकी नै रहेका बेला खानै नपाई भोकै मर्ने हो कि भन्ने डरले फेरि भारत जान थालेको बताए । यस्तै जाजरकोट राङ्गसीका जीवन थापाले आफ्नो देशमा काम र माम पाइएको भए अर्काको देशमा रोजगारीका लागि जाने इच्छा कसैलाई नभएको बताए । उनले कोरोनाले भन्दा खान नपाएर ज्यान जाने खतरा बढेपछि ज्यान हत्केलामा राखेर भारतको यात्रामा निस्किएको बताए ।

‘सरकारले हाम्रो दुःख र पीडा कहिल्यै पनि बुझेन, त्यसैले विदेशमा दुःख कष्ट गरेर जिउनु हाम्रो नियति नै बन्यो,’ थापाले भने । यसैगरी सल्यान श्रीनगरका राजकुमार मल्लले आफ्नो देशमा आफन्तहरूसंँग बस्ने तथा रमाउने रहर सबैलाई हुने बताउँदै तर रोजगारीको अभावले जीवन भारतमा बिताउने आफूहरूको नियति नै बनिसकेको बताए ।

नेपालमा बसेर दैनिक गुजारा गर्ने समस्या भएपछि बाध्य भएर कामका लागि भारतीय भूमि रोजेको नाकामा भेटिएका अधिकांश युवाको दुखेसो छ । इलाका प्रहरी कार्यालय जमुनाहले केही दिनयता आएर फेरि दैनिक भारत जाने नेपालीको सङ्ख्या हजारभन्दा बढी पुगेको जनाएको छ । जमुनाह प्रहरीका अनुसार केही समय अघिसम्म भारतबाट फर्किने नेपालीको सङ्ख्या बढी थियो भने अहिले फेरि भारत जानेको सङ्ख्या अत्यधिक बढेको छ ।