साउन १ गतेदेखि लामो र मध्यम दुरीका सवारी चल्ने

काठमाडौं  साउन १ गतेदेखि लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात संचालनमा आउने भएको छ ।

कोरोनाका कारण सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे लगत्तै ठप्प भएको सार्वजनिक सवारी साधान संचालनमा आउने भएको हो ।

कोरोना संक्रमण केही कम हुन थालेपछि लामो दुरीका सार्वजनिक सवारी संचालन गर्न लागिएको हो । ‘‘ साउन १ गतेदेखि लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी संचालन गर्दैछौँ ।’’

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । गाडी सञ्चालन हुने खबर पाएलगत्तै व्यवसायीहरु गाडी मर्मत संहारमा लागेका छन् ।

पूर्ण रुपमा कोरोना संक्रमण नसकिँदै सार्वजनिक यातायात संचालन गर्दा संक्रमण बढ्ने खतरा भएपनि बढ्ने संकेत देखिने वित्तिकै पुनः रोक लगाउने सिटौलाको भनाई थियो ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले साउन १ गतेबाट लामा तथा मध्यम दुरीका सवारीसाधन संचालन गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको सुचना पाएकाले व्यवसायीहरुले गाडीको मर्मत संहार सुरु गरेका हुन् ।

सरकारले जेठ २० गतेबाट उपत्यकामा जोरविजोर प्रणाली हटाएर छोटा दुरीका सबै खालका सवारीसाधन संचालन गर्न दिने निर्णय गरेको थियो ।