राष्ट्रपतिले गरिन् देउवालाई प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

सर्वोच्च अदालतले सोमबार परमादेश जारी गर्दै मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्चको फैसलाअनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको जानकारी दिइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ मंगलबार ६ बजेका लागि तोकिएको छ।