Loading... आजः २१ श्रावण २०७८, बिहीबार
प्रतिनिधि सभा विघटन

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज निर्णय आउने सम्भावना

आज नभ्याए अर्को दिनको लागि पेसी तोकिने
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज निर्णय आउने सम्भावना

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठन भएको सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दैछ ।

बहस सकिएसँगै सर्वोच्च अदालतले यो मुद्दालाई हेर्दाहेर्दैमा आजका लागि पेसी तोकेको हो । संवैधानिक इजालसले सम्भवतः आजै फैसला गर्नेछ ।

आज नभ्याए अर्को दिनको लागि पेसी तोकिनेछ । संवैधानिक इजालसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई हुनुहुन्छ। न्यायाधीशहरुबीच मतभेद नभए सर्वसम्मत र मतभेद भएमा बहुमतको राय मान्ने हुने गरी निर्णय हुनेछ ।

सर्वोच्च अदालतबाट आज हुन सक्ने सम्भावित निर्णयलाई चासोका साथ हेरिएको छ । संवैधानिक इजलासले विभिन्न चार विकल्पमा फैसला गर्न सक्ने चर्चा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ४ को प्रक्रिया पूरा नगरेकाले उहाँलाई विश्वासको मत लिन वा पदबाट राजीनामा दिन आदेश आउन सक्ने अनुमान छ ।

यस्तै उपधारा ५ अनुसार प्रधानमन्त्रीका दुवै दाबेदारलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै ओली र कांग्रेस सभापति शेरबहादुर देउवामध्ये एकलाई नियुक्त गर्नको लागि आदेश आउन सक्ने आकलन पनि छ ।

तेस्रो विकल्पमा संविधानको धारा ७६ को विभिन्न उपधाराअनुसार एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री हुन नमिल्ने स्पष्ट पार्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भनी राष्ट्रपतिका नाममा आदेश आउन सक्ने चर्चा छ ।

यस्तै प्रतिनिधि सभा विघटनको निर्णय सदर गर्ने र तोकिएको मितिमा चुनाव नभए प्रतिनिधि सभा पुनःस्थापना गर्नू भन्ने आदेश थपिन सक्ने अनुमान पनि छ ।