समृद्धि यात्रा

सामुदायीक होमस्टेले फेरिएको गुमनाम गाभर, स्वरोजगार बन्दै युवा

थारु मुगाली र हुम्ली लगायतको मिश्रित बस्ती र संस्कृति रहेको सो स्थानमा विभिन्न जिल्लाबाट आउने पर्यटकहरुको संख्यामा उल्लेख वृद्धि भएको छ ।

भर्खरै

बाँके । डाँडामा गोलाकार बस्ती, बीचमा खेतीयोग्य जमिन, एकान्त ठाउँ, स्वच्छ र रमणीय वातावरण लिएर बसेको बैजनाथ गाउँपालिका–१ स्थित गाभर भ्यालीले त्यहाँ पुग्ने जो कोहीको पनि तनाव दूर गरिदिन्छ । डाँडामा गोलाकार वस्ती । बीच खाल्डोमा खेतीयोग्य जमिन । एकान्त ठाउँ, स्वच्छ र रमणीय वातावरण ।

बाँकेस्थित गाभर भ्याली पुग्न राजमार्गबाट झण्डै डेढ किलोमिटर जंगल छिचोल्नुपर्छ । यहाँ पुग्ने पर्यटकहरूले प्रकृतिसँग साक्षात्कार गर्ने अवसर पाउँछन् । झन् चराहरूको चिरबिर आवाजले मन्त्रमुग्ध बनाउँछ । केही दूरीमै जंगली जनावरहरू देख्न पाइन्छ । रातमा जंगली जनावरहरू बस्ती नजिक पनि आउने गरेका छन् ।

यहाँ पुग्ने पर्यटकहरू प्रकृतिसँग रमाउन पाउने हुँदा तनाव भुल्ने गर्छन् । पछिल्लो समयमा आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ । शितल मौसम चारैतिर हरियाली वातावरण मिश्रित बस्ती तथा नजिकै देखिने आर्कषक चुरे पहाडका कारण सो क्षेत्रले जो कोहीको मनलार्ई पनि सजिलै आकर्षण गर्न सक्छ ।

सो क्षेत्रमै फस्टाउँदै गएको होमस्टेका र अर्गानिक भोजनका पारखीहरुका लागि गाभर उपत्यका क्षेत्र सबैको मन लोभ्याउने केन्द्रबिन्दु बनेको छ । कोहलपुर सुर्खेत रत्न राजमार्ग खण्डमा पर्ने गाभर चोकदेखि करिब १ किलोमिटर उत्तरतर्फ अवस्थित रहेको निकै सफा र सुन्दर गाभर उपत्यका क्षेत्र प्रकृतिपे्रमीहरुका लागि नयाँ पर्यटकीय गन्तव्य बनेको छ ।

गाभर भ्याली पर्यटकीय क्षेत्रका रूपमा उदाएको धेरै भएको छैन । ७–८ वर्ष अघिसम्म गुमनाम जस्तै थियो । पिछडिएको ठाउँको रूपमा हेरिन्थ्यो । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारत एवम् तेस्रो मुलुक जाने गर्थे । गाउँमा रोजगारीको माध्यम नहुँदा जीविकोपार्जनको बाध्यता थियो वैदेशिक रोजगारी ।

जंगलले घेरिएको गाभर भ्यालीमा एक घरदेखि अर्को घरसम्मको दूरी निकै टाढा छ । त्यसैले त सुगम जिल्लाको दुर्गम ठाउँ जस्तो बनेको थियो गाभर । अझ रोचक त के भने हिमाल, पहाड र तराईका समुदायको मिश्रित बस्ती छ यहाँ । चालचलननै फरक । त्यो गाउँमा पुग्नै कठिन । न सडक थियो न त आवश्यक परेका बेला एम्बुलेन्स नै जान सक्थ्यो । तर, अहिले भने गाभरको रूप फेरिएको छ । गाभरमा कायापलट ल्याउने प्रमुख माध्यम हो, होमस्टे ।

थारु मुगाली र हुम्ली लगायतको मिश्रित बस्ती र संस्कृति रहेको सो स्थानमा विभिन्न जिल्लाबाट आउने पर्यटकहरुको संख्यामा उल्लेख वृद्धि भएको छ । गाभर उपत्यका क्षेत्रमा रहेका आधुनिक तथा मौलिक होमस्टे बृहत जैविक पार्क अष्ट्रिच फार्म तथा आकर्षक र शान्त वातावरणले पनि सबैको मन तानिरहेका छन् ।

गाभर उपत्यका होम्स्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरीले सो क्षेत्रमा रहेको मनोरम दृश्यसहितको एकान्त वातावरणका कारण सबैको मनलाई गाभर उपत्यकाले आर्कषण गरेको बताए । पर्यटकहरुका लागि साईकिलिङ्ग सुरु भइसकेो छ भने अबको केही समयभित्र हर्ष राईडिङ्ग पनि सञ्चालन सुरु भएको छ । साथै सो क्षेत्रमा रहेको मनोरम वातावरण अवलोकनका लागि जिप सफारी समेत तत्काल सुरु गरिने चौधरीको भनाई छ ।

सो उपत्यका क्षेत्रमा विभिन्न वन्यजन्तुहरुको नामबाट चोकहरुको नामाकरण गरिएको छ भने त्यहाँको फोहोर व्यवस्थापनका लागि सबैको घरअघि डस्टबिनको समेत व्यवस्थापन गरिएको छ । गाभर भ्याली होमस्टेमा निर्मित मचान उपत्यका अवलोकनको केन्द्र बनेको छ । चारैतिर लहलह पसाई रहेका धानका बोटहरुका कारण गाभर उपत्यका स्मरण योग्य क्षेत्र बनेको छ । गाभर क्षेत्रको विकासका लागि स्थानीय स्तरबाट समेत विभिन्न प्रयासहरु सुरु गरिएका छन् ।

लायन्स क्लब स्थानीय सामुदायीक वन तथा स्थानीयाबासीहरुले सो क्षेत्रको विकासका लागि सक्रिय भुमिका निर्वाह गरिरहेका छन् । बैजनाथ गाउँपालिकाले पालिकाभित्र रहेका पयर्टकीय क्षेत्र विस्तारका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको छ । बाँकेको चिसापानीस्थित गाभर भ्याली केही वर्षयता पर्यटकीय गन्तव्य बनेको छ । गाभरमा थारू, मुगाली र हुम्ली गरी तीनथरी संस्कृति पाइन्छ ।

तीन भिन्न संस्कृतिको एकै ठाउँमा अध्ययन गर्न पाउनु, खानपानको फरकफरक स्वाद लिन पाउनु गाभर भ्यालीको विशेषता रहेको होमस्टे सञ्चालक कृष्णलाल चौधरी बताउँछन् । छोटो समयमा पर्यटकीय पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । गाभर भ्याली हिमाली भेगका मुगेली र तराईका थारू समुदायका भिन्न स्वाद, भिन्न सांस्कृतिक विविधता र हस्तकलाको केन्द्र रहेको चौधरी बताउँछन् ।

चौधरीका अनुसार हिमाली फापरको रोटी, कोदोको ढिँडो, सिस्नोको फाँडो र सिमीको दाल लोकप्रिय छन् । त्यस्तै थारू परिकार सिद्रा, ढिक्री, घोँगी र लोकल कुखुराको माग अत्यधिक छ । चौधरी भन्छन्, ‘पाहुनाको रुचि जे हुन्छ, त्यही अनुसार गाउँमा कहिले थारू नाच हुन्छ त कहिले देउडा ।’ शनिबार तथा अन्य सार्वजनिक बिदाका दिन होमस्टे खचाखच भरिन्छन् । पारिवारिक जमघटदेखि सानाठूला बैठक र सभा पनि होमस्टेमा भइरहन्छन् ।

पर्यटकीय गन्तव्य बनाउन गाभर भ्यालीका बासिन्दा बन्यजन्तु संरक्षणमा पनि उत्तिकै सक्रिय छन् । यो ठाउँ बन्यजन्तु अवलोकनको केन्द्र पनि बन्दैछ । यहाँका थारू घरमा थारू मौलिकता झल्किने होमस्टे सञ्चालनमा छन् । गाभर भ्यालीमा सामुदायिक होमस्टे थपिँदैछन् । गाभर भ्यालीको वातावरण फेरिएको छ । चौधरीले बाह्य मानिसको आवतजावत दिन प्रतिदिन बाक्लिँदै गएको बताए । एकान्त ठाउँ, स्वच्छ र रमणीय वातावरणले जो कोहीलाई लोभ्याउँछ ।

चुरे पहाडसँग जोडिएको गाभर भ्याली चिटिक्क अनि सधैं हराभरा देखिन्छ । मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्दा २०३५ मा रारालिही क्षेत्रका बासिन्दालाई गाभर भ्यालीछेउ पुनस्र्थापना गराइएको थियो । २०४० पछि थारू समुदाय पनि आए । सुरुमा दुई समुदायको भाषा, संस्कृति र रहनसहन केही मिल्दैनथ्यो । रहँदा–बस्दा एकले अर्कालाई बुझे । सबैभन्दा धेरै दुःख–कष्ट र समस्याले उनीहरूलाई नजिक्यायो ।

त्यस्तै, मुगेली घरमा उच्च हिमाली मौलिकता झल्किन्छ । पाँचवटा घरबाट सुरु भएको होमस्टे अहिले बढ्दै गएको छ । गाउँमा मुगेली र थारू संग्रहालय बनाइएको छ । यो मनोरम उपत्यकाको पर्यटकीय अवलोकनका लागि ५० फिट अग्लो भ्यु टावर बन्दैछ । होमस्टे सञ्चालकसँग बाँके र बर्दिया निकुञ्जमा जंगल सफारी गराउने प्याकेज पनि छ । होमस्टेमा थारू नाच, देउडा नाच, पञ्चेबाजा, पूजाआजामा देखाइने पैठ, छैठ, धालतलवार नाच, रुकुमेली कुरकुटी टप्पा, मयूर झर्रा नाच पनि हेर्न पाइन्छ ।

थारू हस्तकलाका सामग्री ढकिया, गुन्द्री, सुपा, डाली, भकारी, छिटुवा, छतरी, हेल्का, डेलिया, काठका मूर्तिहरू, माटाका भाँडाहरू चलनचल्तीमा छन् । मुगाली समुदायले डोको, नाम्लो, चकटी, मान्द्रो, ठेकी, मदानी, काठका मूर्ति, काठको कोसी, भकारी, डोल्ची, बेतबाँसका कुर्सी बनाउँछन् । पाटेबाघ संरक्षणको उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पनि गाभर भ्याली बन्यजन्तु अवलोकनका लागि राम्रो गन्तव्य बनेका छ ।

बाँके निकुञ्जका अनुसार छोटो दूरीमा दुर्लभ पाटे बाघ, हात्ती, चौका, चरीबाघ, हुँडार, सिलु बिरालो, सालक, सुन गोहोरो, अजिंगर सहजै हेर्न सकिन्छ । यसका साथै चित्तल र नीलगाईको झुन्डले पाहुनाको ध्यान खिच्छन् । गाभर भ्याली वरिपरि रहेका मधुवन, वृन्दावन, राधारानी सामुदायिक वनमा चरा अवलोकन गर्न सकिन्छ । यस क्षेत्रमा तीन सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् । पाहुनालाई गाभर भ्याली हुँदै चुरे पहाड पदयात्राको माग भइरहेको छ ।

चुरे पहाड पदयात्रा गर्दा बन्यजन्तु अवलोकन, पहाडमाथिबाट देखिने दृश्य तथा बबईमा ¥याफ्टिङ्ग गर्न सकिने चौधरी बताउनुहुन्छ । तराईको सखिया नाचदेखि कर्णालीको देउडा एउटै बसाइमा नाच्न पाइन्छ । समुदायस्तरको यस्तो एकता र सद्भाव अन्यत्र बिरलै पाइएला । नेपालगन्जभन्दा चिसो मौसम र थारू परिकारमा रम्न आन्तरिक पर्यटक यहाँ आउने गर्छन् । चारैतिर घना जंगलले घेरिएको र बीचमा खेतीयोग्य जमिन रहेको गाभर भ्याली अनुसन्धानका लागि समेत उपयुक्त छ ।

गाभर भ्यालीलाई थारू र मुगेली संस्कृतिको अध्ययन गर्ने थलो बनाउन सकिन्छ । वन विज्ञान तथा संस्कृति अध्ययनरत विद्यार्थीका लागि गाभर भ्याली उपयुक्त देखिन्छ । सबैभन्दा ठूलो चरा अस्ट्रिचको व्यावसायिक पालन पनि गाभर भ्यालीमा सुरु भएको चौधरीले बताए । पर्यटकीय पूर्वाधार निर्माणका लागि गाभर भ्यालीसँग जोडिएको २० बिघा जमिनमा लायन्स क्लब अफ इन्टरनेसनलले जैविक पार्क निर्माणका लागि सहकार्य गरिरहेको छ ।

गाभर भ्यालीमा आन्तरिक पर्यटकका साथै भारत, स्विट्जरल्यान्ड, क्यानडा, बंगलादेश, अमेरिका, थाइल्यान्ड, बहराइन लगायतका मुलुकबाट पनि पर्यटक आउने गरेको चौधरीले बताउनुभयो । २०७१ सालबाट सञ्चालनमा आएको गाभर भ्याली सामुदायिक होमस्टेकै कारण आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने गर्छ । हिमालदेखि तराईसम्मका भेषभूषा, त्यस्तै परिकारको स्वाद र सांस्कृतिक रहनसहन रहेकाले पनि पर्यटकको संख्या बढ्दै गएको हो ।

हिजो फुर्सदमा दिन विताइरहेका गाभरका महिलाहरू अहिले घरधन्दाबाटै कमाउन थालेका छन् । पुरुषहरू वैदेशिक रोजगारीमा जाने र महिला घरकै कामकाज सकेपछि फुर्सदिला हुन्थे । होमस्टेमा अहिले १५० जना युवाहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । होमस्टे सञ्चालकलाई मात्रै होइन, गाउँका अन्य स्थानीयलाई पनि यसले फाइदा पु¥याएको छ । गाउँमा फलाएका तरकारी बिक्रीका लागि बजार लैजानुपरेको छैन । होमस्टेमा नै तरकारी, कुखुरा, दुना टपरी बिक्री हुने गर्छ ।

यसबाट स्थानीयले गाउँमै आर्थिक उपार्जन गर्न सफल भएका छन् । होमस्टेको शुुरुआत भएसँगै यहाँ पुग्नका लागि सडक निर्माण भयो । विगतमा गुमनाम गाभरको परिचय अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलिएको छ । होमस्टेले गाभर भ्याली क्रमशः गुल्जार बन्दै गएको छ । यहाँ थारू, मुगाली लगायतका होमस्टे सञ्चालनमा छन् । बिदामा होमस्टे खचाखच भरिन्छन् । पारिवारिक जमघटदेखि सानाठूला बैठक तथा कार्यक्रम गर्न मानिसहरू यहीँ आउँछन् ।

होमस्टेमा पर्यटकको इच्छानुसार थारू, देउडा नाच, पञ्चेबाजा लगायतका सांस्कृतिक नृत्यहरू पनि देखाउने गरिन्छ । थारु परिकार ढिक्री, अनदीको भात, बरिया, कचालु, सिद्रा, गुन्द्रक, घोंघी, गंगटा, परेवाको मासु, लोकल कुखुराको मासु, झिंगे माछा, निगार, अनदीको रोटी आदि पर्यटकका प्रमुख रोजाइका खाना छन् । त्यस्तै, मुगाली खानाका परिकारमा मकैको पुरी, कोदोको रोटी, जुम्ली मार्सी चामलको भात, कोदोको ढिँडो, सिस्नुको तरकारी, जडीबुटीको चिया, जडीबुटीको मसला लगायत छन् ।

यहाँ पुग्ने हरेक पर्यटकलाई होमस्टेअनुसार थारु र मुगाली समुदायमा आधारित स्वागत सत्कार गरिन्छ । अर्गानिक खाना र आरामदायी बसाईका साथै पारिवारिक आतिथ्यता दिइन्छ । बस्नका लागि शौचालय सहितका कोठा बनाइएको छ । परम्परागत शैलीको तालिम हलको व्यवस्था छ । बाँके राष्ट्रिय निकुञ्जलाई बाघ पर्यटनको गन्तव्य बनाउन सहयोग गर्ने मुख्य उद्देश्यले होमस्टे सञ्चालन गरिएको होमस्टेकर्मी चौधरी बताउँछन् ।

साथै, समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्ने, संरक्षण र पर्यापर्यटनबीचको सम्बन्धलाई जोड्ने, यस क्षेत्रलाई पर्यापर्यटनको प्रोडक्टका रूपमा विकास गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ । रारा, मानसरोवर आवतजावत गर्न, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न र स्वर्गद्वारी दर्शन गर्न जाने पर्यटकका लागि बसोबासको रूपमा गाभर भ्याली विकास हुँदै गएको छ ।

शान्त वातावरण तथा कम खर्चमा जैविक खानपानसहितको बसोबासको रूपमा प्रयोग गर्न सकिन्छ । गाभर भ्यालीमा होमस्टेसँगै अन्य विभिन्न पर्यटकीय गतिविधिहरू बढ्दै गएका छन् । अहिले गाभरमा शनिबार निकै भीड हुने गरेको छ । शनिबार वा अन्य विदाका दिनमा ७०० देखि ८०० आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् भने दैनिक ४० देखि ५० जना गाभर भ्यालीमा बास बस्दै आएका छन् । शनिबार र बिदाका दिनबाहेक गाभरमा ६० देखि ७० जना नियमितरुपमा जाने गरेको होमस्टे सञ्चालकहरु बताउँछन् ।

पूरै भ्याली अवलोकनका गर्न अहिले भ्यूटावरको निर्माण भइरहेको छ । घोडामा चढेर गाभर क्षेत्र अवलोकन गराउन दुई वडा घोडा ल्याइएको छ । रिङरोड निर्माणको योजना पनि अघि बढिरहेको छ । साथै क्षेत्रबाट जंगल सफारीका लागि पनि बाटो खोलिएको छ । पर्यटकीय गन्तव्य बनेको यो क्षेत्रका बासिन्दा वन तथा वन्यजन्तु संरक्षणमा पनि सक्रिय छन् । निकुञ्जको करिब २५ प्रतिशत क्षेत्रफलमा सालको जंगल रहेको छ ।

असना, जामुन, ढौठी, सिमल र सिसौलगायतका वनस्पति ती जङ्गलमा पाइन्छन् । निकुञ्जभित्र अवलोकनका लागि घाँसेमैदान पनि पर्याप्त छन् । गाभरभ्याली पुग्नका लागि काठमाडौंबाट स्थल मार्ग हुँदै आउने पर्यटकका लागि करीब ११–१२ घण्टामा कोहलपुर पुगिन्छ । कोहलपुरबाट करीब सात किलोमिटर यात्रा गरेपछि पुगिन्छ गाभर चोक । त्यस्तै, हवाई मार्ग भएर आउने पर्यटकले राँझास्थित नेपालगन्ज एअरपोर्टबाट अटो लिएर गाभर चोक पुगेर डेढ किलोमिटर अटो वा पैदल यात्रामा गाभर भ्याली पुग्न सकिन्छ ।