मेडिकल कलेजमा एक हजार सङ्क्रमितको उपचार

भर्खरै

बाँके । कोरोना सङ्क्रमणको दोस्रो लहरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड विशेष अस्पतालमा करिब एक हजार जना सङ्क्रमितको उपचार गरिएको कलेजले जनाएको छ ।

सङ्क्रमणको दोस्रो लहर सुरु भएको वैशाख ३ गतेदेखि असार महिनासम्मको तथ्याङ्क अनुसार कोहलपुर शिक्षण अस्पतालमा गम्भीर किसिमका ९७३ जना सङ्क्रमित भर्ना भएका थिए । उनीहरू सबैको सफल उपचार गरिएको मेडिकल कलेजका उपनिर्देशक डा.दिनेश श्रेष्ठले बताए ।

पहिलो लहरको सङ्क्रमणमा गत वर्ष १० महिनाको अवधिमा ६७४ जना मात्र सङ्क्रमित सो अस्पतालमा भर्ना भएका थिए । दोस्रो लहरको भाइरस निकै आक्रामक रहेको र तीव्र गतिमा फैलिएका कारण मानवीय क्षति पनि बढी भएको सो कोभिड अस्पतालका संयोजकसमेत रहेका उपनिर्देशक डा. श्रेष्ठले बताए ।

दोस्रो लहरमा कोहलपुर अस्पतालमा १६२ जनाको मृत्यु भएको थियो भने पहिलो लहरमा गत वर्ष ५२ जनाको मात्रै मृत्यु भएको थियो । पहिलो लहरभन्दा दोस्रो लहरमा ११० जना बढीको मृत्यु भएको अस्पतालले जनाएको छ । जेठको पहिलो सातादेखि सङ्क्रमितको चाप घट्दै गएपछि तेस्रो चरणको तयारीका लागि हाल सो अस्पतालको कोभिड वार्ड बन्द गरिएको छ ।

१३० शैय्याको सो अस्पतालमा बिरामीको सङ्ख्या घट्दै गएको र तेस्रो लहरको पूर्वतयारी गर्नुपरेको भन्दै तत्कालका लागि कोभिड वार्ड बन्द गरिएको उपनिर्देशक डा.श्रेष्ठले बताए । हाल आएर नेपालगन्जस्थित भेरी अस्पतालमा मात्र कोभिडका बिरामीको उपचार भइरहेको छ ।