Loading... आजः १२ श्रावण २०७८, मंगलवार

महिलाको नागरिकतामा पुरुषको तस्बीर

महिलाको नागरिकतामा पुरुषको तस्बीर

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले नागरिकता जारी गर्दा महिलाको नाममा पुरुषको तस्बीर टाँसेर नागरिकताको प्रतिलिपि जारी गरेको छ । भागेश्वर गाउपालिका–४ स्थायी ठेगाना उल्लेख गरिएको नागरिकतामा देवकी धामीको नाम रहेको र सो नागरिकताको दोस्रो प्रतिलिपि नागरिकतामा पुरुषको तस्बीर राखेर जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले हस्ताक्षर गरेका छन् ।

७४–०१–७१–०१५१६ नम्बरको नागरिकताको दोस्रो प्रतिलिपि असार ३ गते जारी गरिएको छ । अजयमेरु गाउँपालिका–१, समैजीका राजबहादुर भण्डारीको तस्बीर राखेर प्रतिलिपि प्रमाणित गरिएको छ । महिलाको नाममा पुरुषको तस्बिर राखिएको नागरिकता अजयमेरु गाउपालिका–१, समैजीका राजबहादुर भण्डारीसँग रहेको छ । उनले भने, ‘नागरिकताको प्रतिलिपिमा आफ्नो तस्बिर मात्रै हेरेको, प्रशासनबाट नागरिकता लगेको र पछि घरमा राम्रोसँग हेर्दा महिलाको नागरिकतामा मेरो तस्बीर मात्रै टाँसिएको रहेछ ।’

राजबहादुर भण्डारी र देवकी धामी दुवैजना नागरिकताको प्रतिलिपि लिनका लागि आएको र दुवैको तस्बीर एकअर्कासँग साटिएको हुनसक्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका एक जना कर्मचारीले बताए । नागरिकतामा तस्बीर टाँस्ने कर्मचारीको गल्तीले महिलाको नाममा रहेको नागरिकताको प्रतिलिपिमा पुरुषको तस्बीर टाँसिएको र सो व्यक्तिलाई असार २३ गते जिल्ला प्रशासनमा बोलाई पुनः सच्याएर नागरिकताको प्रतिलिपि उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।