समृद्धि यात्रा

बैजनाथमा फस्टाउँदै ‘इको टुरिजम’

मनोरञ्जनका लागि प्राकृतिक वातावरणमा विचरण गर्न आउनेहरू र प्रकृतिको अध्ययन–अनुसन्धानका लागि भित्रिने अध्येताहरू नै पर्यापर्यटक अर्थात् ‘इको–टुरिष्ट’ हुन् ।

बाँके । प्राकृतिक सौन्दर्य नेपालले पाएको एउटा बरदान हो, जसले नेपाललाई विश्वमाझ चिनाएको छ । विश्वका कुनाकाप्चाबाट पर्यटक आउँछन् यिनै प्राकृतिक दृश्य हेर्न । प्रकृतिले दिएको मनोरम दृश्यलाई अवलोकन गरेर पर्यटकहरू आनन्द लिने गर्छन् । प्राकृतिक सौन्दर्य नेपालले पाएको एउटा बरदान हो, जसले नेपाललाई विश्वमाझ चिनाएको छ । विश्वका कुनाकाप्चाबाट पर्यटक आउँछन् यिनै प्राकृतिक दृश्य हेर्न । प्रकृतिले दिएको मनोरम दृश्यलाई अवलोकन गरेर पर्यटकहरू आनन्द लिने गर्छन् ।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी यहाँको प्रकृतिले दिएको सौन्दर्यको अवलोकन गर्न आउँछन् । तीमध्ये पनि अधिकांश पर्यटक हाम्रा राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरूमा जान्छन् । जहाँ प्रकृतिको अथाह मनमोहक दृश्यहरू छन् । जहाँ विश्वमा लोप हुँदै गएको पाटेबाघ छ । गैंडा होस् या आफ्नै तालमा नाच्ने मयुर, पर्यटकहरूलाई आकर्षित गराइरहेका छन् ।

जैविक विविधताको राजधानीको रुपमा परिचित हाम्रा संरक्षित क्षेत्रहरूले पर्यटकीय विकासका अथाह सम्भावनाहरूलाई बोकेको छ । यस्तै सम्भावना बोकेको पर्यटकीय क्षेत्र हो, गाभर भ्याली । सात–आठ बर्ष अघिसम्म आन्तरिक तथा बाह्य पर्यटकका लागि गाभर भ्याली गुमनाम थियो । पिछडिएको ठाउँको रूपमा हेरिन्थ्यो । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारत एवम् तेस्रो मुलुक जान्थे । कोही भने कोहलपुर र नेपालगन्जका बजारमा मजदुरी गरेर जीविकोपार्जन गर्थे ।

गाउँमा रोजगारीका कुनै सम्भावना थिएनन् । गाउँमा रोजगारीको माध्यम नहुँदा जीविकोपार्जनको बाध्यता थियो वैदेशिक रोजगारी । जंगलले घेरिएको गाभर भ्यालीमा एक घरदेखि अर्को घरसम्मको दूरी निकै टाढा छ । बाँके निकुञ्जसँगै जोडिएको गाउँमा जंगली जनावरले लगाएको बालीनाली पनि सखाप पारिदिन्थे । तर, त्यही भ्याली अहिले पर्यटकका लागि उत्कृष्ठ गन्तव्य बनेको छ । होमस्टे निर्माण भएसँगै गाभर भ्याली पर्यटकीय क्षेत्रका रूपमा उदाएको छ ।

अहिले गाभर भ्यालीमा पिकनिक स्पट, साइकिल ट्रेल, घोडचढी, हात्ती सफारी, जंगल ड्राइभ लगायतका पर्यटन गतिविधि फस्टाएका छन् । ‘पहिला गुमनाम थियो, अहिले नाम चलेको छ । ‘इको टुरिजम’को अवधारणा अघि बढाएसँगै यस ठाउँले मुहार फेरेको हो,’ गाभर भ्यालीमा होमस्टे सञ्चालन गरिरहेका पर्यटनकर्मी बाबुराम चौधरी भन्छन्, ‘केही वर्ष अघिसम्म यहाँका नागरिकलाई छाक टार्नै धौ–धौ हुने गर्दथ्यो । होमस्टे सञ्चालनसँगै जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनेपछि अहिले पर्यटकको भीड लाग्ने गरेको छ ।’

गाभर भ्याली ‘इको टुरिजम’ (पर्या–पर्यटन)का लागि नमूना गन्तव्य भएको विज्ञहरू बताउँछन् । जसका कारण यस ठाउँमा बढीभन्दा बढी पर्यटक भित्र्याउन पर्या–पर्यटनलाई अझै व्यवस्थित ढंगले अघि बढाउन जरुरी रहेको छ । पर्यटनकर्मी कृष्णलाल चौधरी भन्छन्, ‘इको टुरिजम’का लागि प्रशस्त सम्भावना रहेकाले यहाँको ‘इको टुरिजम’लाई प्याकेजिङ गरेर बजारीकरण गर्ने प्रयत्न गरिरहेका छौं । यसले अहिलेभन्दा दोब्बर पर्यटक भित्र्याउन हाी लागिपरेका छौं ।’ गाभर भ्यालीमा ‘इको टुरिजम’को अवधारणा ल्याएसँगै गाउँपालिकाले ‘इको टुरिजम’का लागि सहयोग पुर्याउनुपर्ने उनको भनाइ छ ।

उी भन्छन्, ‘यहाँ पर्यटनका पूर्वाधर अझै प्रयाप्त छैनन्, बाल उद्यान, बगैंचा, व्यवस्थित पिकनिक स्पट, मिनी चिडिया घर र मनोरम पार्क निर्माण गर्ने हो भने पर्यटकहरुको घुइँचो लाग्ने निश्चित छ ।’ ‘इको टुरिजम’को हिसाबले हेर्ने हो भने स्थानीय वन पैदावारमा आधारित काष्ठ कलाका वस्तुहरू निर्माण गरी बिक्री वितरण, होमस्टे सञ्चालन, मिनी जु गार्डेन, पिकनिक स्पट, स्मारक निर्माण आदिमा पहल गर्न जरुरी रहेका उनको भनाई छ । ‘इको टुरिजम’ प्रवद्र्धनमा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग आवश्यक छ । यस ठाउँमा ‘इको टुरिजम’लाई व्यवस्थित गर्दै लान सकिए यहाँका कोही नागरिक बेरोजगार बस्नुपर्दैन ।

‘इको टुरिजम’ यहाँको अहिलेको प्रमुख आवश्यकता हो,’ चौधरीले भने, ‘गाभर भ्याली आफैंमा सानो छ । तर, सम्भावना भने त्यत्तिकै धेरै छ । यस ठाउँको विकासका लागि स्थानीय सरकारसँग मिलेर ‘इको टुरिजम’लाई प्राथमिकतामा राख्छौं ।’ पछिल्लो अध्ययनले विश्वमा सबैभन्दा बढी फस्टाएको पर्यटन विधाका रूपमा ‘इको टुरिजम’ रहेको छ । यस अनुसार ‘इको टुरिजम’मा वार्षिक १०–१५ प्रतिशतले वृद्धि भइरहेको छ । मनोरञ्जनका लागि प्राकृतिक वातावरणमा विचरण गर्न आउनेहरू र प्रकृतिको अध्ययन–अनुसन्धानका लागि भित्रिने अध्येताहरू नै पर्यापर्यटक अर्थात् ‘इको–टुरिष्ट’ हुन् ।

विश्वमा पर्यावरण विज्ञान फस्टाउँदै गएको, प्रकृतिको अध्ययन, अनुसन्धानमा मानिसको रुचि बढ्दै गएको र आधुनिकीकरणसँगै प्राकृतिक स्थलहरूको कमी हुँदै गएका कारण प्राकृतिक वातावरण जोगाएका क्षेत्रहरू पर्यटकको गन्तव्य बनिरहेका छन् । अबको चुनौती भनेको बढ्दो पर्यटकलाई कसरी व्यवस्थापन गर्ने र वातावरणलाई बिग्रन नदिई पर्यटनलाई दिगो बनाउने भन्ने हो । योसँगै सदियौंदेखि स्थानीय पर्यावरणको रक्षा गर्दै आएका स्थानीय बासिन्दासम्म पर्यटनको लाभ पुर्याउनु र उनीहरूको मौलिकताको संरक्षण गर्नुले पनि ‘इको टुरिजम’ फस्टाउँदै गएको छ ।

सानो भूखण्डभित्र उष्ण हावापानी रहेको गाभर भ्याली जैविक तथा जलवायुजन्य विविधताको अध्ययनका लागि एउटा उत्कृष्ट ठाउँ बन्न सक्छ । जैविक मात्र नभएर सामाजिक र सांस्कृतिक विविधता र मौलिकता पर्यटकका लागि आकर्षणको विषय हो । गाभर भ्यालीमा पर्यटक पुग्नुको मुख्य कारण भनेकै यहाँको प्राकृतिक छटा, जैविक तथा भौगोलिक विविधता तथा सांस्कृतिक मौलिकता नै हो । जैविक विविधताप्रति स्थानीय नागरिकले अपनत्व बोध गरेकै कारण बैजनाथको गाभर भ्यालीमा ‘इको टुरिजम’ फस्टाउँदै गएको छ ।

के हो ‘इको टुरिजम’ ?

पर्यटनको माध्यमबाट वातावरण र जैविक विविधताको संरक्षणको साथै स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने वातावरणमैत्री पर्यटन नै ‘इको टुरिजम’ वा ‘इको–टुरिजम’ हो । वन्यजन्तु, वनस्पति तथा सांस्कृतिक आकर्षणयुक्त गन्तव्यमा फस्टाउने पर्यटन नै वास्तवमा ‘इको टुरिजम’ हो । वातावरण संरक्षण तथा आर्थिक–सामाजिक विकासको क्षेत्रमा पर्यटनको महत्त्वलाई आत्मसात गर्दै विश्वमा सन् १९८० को दशकदेखि ‘इको टुरिजम’को अवधारणा लोकप्रिय बनेको हो ।

पछिल्लो समय ‘इको टुरिजम’लाई वातावरणीय सचेतना वृद्धि तथा पर्यावरण अनुसन्धानको क्षेत्रमा पनि महत्वपूर्ण मानिँदैछ । ‘इको टुरिजम’को आधारभूत सिद्धान्तले पर्यटनको माध्यमबाट जैविक तथा सांस्कृतिक विविधताको संरक्षण, दिगो उपयोग तथा सामाजिक–आर्थिक लाभको समन्यायिक वितरणमा जोड दिन्छ । सेवामूलक उद्यमको रुपमा चिनिने पर्यटनका धेरै आयामहरु छन् । जसमध्ये सबैभन्दा विशाल क्षेत्र भएको ‘इको टुरिजम’ हो । पर्याको अर्थ पर्यावरण र पर्यटनको अर्थ घुम्नु हो । पर्यावरणीय क्षेत्रमा पर्यावरणलाई खलल नपर्ने गरी सञ्चालन गरिने पर्यटन सम्बन्धी क्रियाकलापहरु ‘इको टुरिजम’को मर्म र सिद्धान्त अनुसार सञ्चालन हुन्छन् ।

‘इको टुरिजम’ले बाताबरणलाई असर पर्ने सामग्रीहरुको प्रयोगमा निषेध गर्दछ । Take only Photographs and leave only foot–print भन्ने हो । त्यसकारण पर्याबरणीय पर्यटन अति बाताबरण मैत्री हो, जसले पर्यटकहरुलाई जतिसक्दो कम बाताबरणीय असर कम गराउने वा बाताबरणलाई असरमुक्त गराउने अवधारणा राख्दछ । पर्यालाई अंग्रेजीमा (Eco) भनिन्छ, यो शब्द ग्रीक भाषाको (OIKOS) ग्रीक भाषाबाट आएको हो । यसको अर्थ हुन्छ, परिवार तथा आश्रयस्थल । त्यसकारण शाब्दिक अर्थमा ‘इको टुरिजम’ले प्रकृतिसँगको निकट आश्रयस्थलको गन्तव्यलाई परिभाषित गर्दछ ।

वातावरणमैत्री क्रियाकलाप सञ्चालन गरी वातावरणलाई दीगो राख्ने उपायहरुको अवलम्बन गर्दछ । पर्यापर्यटकीय क्षेत्रमा धुँवा, धुलो, जैविक विविधता नष्ट, प्राकृतिक श्रोतको दोहन, वनजंगल फँडानी, इत्यादिलाई निषेध गर्दछ । सरल भाषामा भन्नुपर्दा त्यस क्षेत्रमा गई फोटोमात्र खिच र पैतलाको डोबमात्र छोड भन्ने अर्थ लाग्छ । पर्यावरणीय पर्यटन अति वातावरणमैत्री हो, जसले पर्यटकहरुलाई जतिसक्दो बातावरणीय असर कम गराउने वा बाताबरणलाई असरमुक्त गराउने अवधारणा राख्दछ । प्रकृति पर्यटन, हरियाली पर्यटन, प्रकृतिमुखी पर्यटन, जंगलप्रधान पर्यटन, साहसीक पर्यटन, वैकल्पिक पर्यटन, दीगो पर्यटन, उचित पर्यटन, पर्यावरणीय पर्यटन, र शान्तपर्यटन इत्यादि बढी प्रचलनमा छन् ।