Loading... आजः ९ श्रावण २०७८, शनिबार
सन्तुलित भोजन

मासु कति खाने ? कसरी खाने ?

मासु कति खाने ? कसरी खाने ?

मासु एक प्रोटिनले भरिपूर्ण पौष्टिक आहार हो । मासुमा १४ देखि २१ प्रतिशतसम्म प्रोटिन पाइन्छ । त्यस्तै जिङ्क, भिटामिन बि र पोटासियमजस्ता शरीरलाई आवश्यक तत्व पनि पाइन्छ मासुमा । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, यदि सही र सन्तुलित ढङ्गले प्रयोग नगरेमा मासुमा पाइने फाइदाजनक तत्वहरू शरीरले ठिकसँग प्राप्त गर्न सक्दैन । स्वस्थ व्यक्तिले हप्ताको एकदेखि दुई छाक भोजनमा मासु समावेस गर्नु उपयुक्त हुन्छ । स्वस्थ व्यक्तिले दिनभरमा १०० देखि १५० ग्रामसम्म मासु खान उपयुक्त हुन्छ ।

मोटोपना भएको मानिसले एकपटकमा तीनदेखि चार पिसभन्दा बढी मासु खान उपयुक्त हुँदैन । अत्यधिक मासु सेवन गर्नाले हड्डी कमजोर हुने, आथ्र्राइटिस )जोर्नीसम्बन्धी रोग) हुने, कोलेस्ट्रोल बढ्ने तथा स्तन क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ । मासु धेरै सेवन गर्नाले मोटोपन बढ्ने र त्यसले शरीरमा एस्ट्रोजेन हर्मन बढ्ने गर्दछ । सो हर्मोनले क्यान्सरको खतरा बढ्ने अनुसन्धानहरुले प्रमाणित भएको छ । मासु खानेबित्तिकै आइसक्रिम, दुध, दही, क्रिमका परिकार खानु उपयुक्त हुदैन । बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिनुपर्छ ।

चाडपर्वमा मासु बढी खाइने हुँदा यसले युरिक एसिड र मृगौलाका बिरामीहरुलाई सताउने गर्छ । प्रोटिनको अत्याधिक सेवनले मृगौला रोगमा हानी गर्ने हुनाले यस्ता रोगीलाई मासु कम खान सल्लाह दिइन्छ । मासुजन्य जुनोटिक रोगबाट बच्नको लागि मासुलाई राम्रोसँग पकाउनुपर्छ । साथै मासु खानको लागि भनि रोगी पशुहरुको बध गर्नुहुदैन । काँचो मासुको सेवन जुनोटिक रोग लाग्नुको प्रमुख कारण हो । मासुलाई १०० डिग्रीभन्दा बढी तापक्रममा पकाउनुपर्छ । धेरै चिल्ला र फ्राई गरेका खानेकुरा तथा माछामासु खाने चलन छ ।

हामीलाई स्वादिलो लागे पनि धेरै फ्राई गरेका खानेकुरामा पौष्टिक पदार्थ हुँदैन । तेल, घिउ खार्दा त्यसबाट विषालु पदार्थ जन्मन्छ र त्यस ले मुटुलाई निकै नै हानी पुर्याउँछ । त्यसैले यस्ता खारेका खानेकुरा खान हुँदैन । तेल, घिउको प्रयोग सकभर न्यून मात्रामा गर्नुपर्छ । त्यस्तै एकदिन पकाएको मासु धेरै दिनसम्म खाने चलन पनि छ । पकाएको खानेकुरा धेरै समयसम्म भण्डारण गर्दा दुषित हुने भएकाले यसले स्वास्थ्यलाई निकै नै बेफाइदा गर्छ । तसर्थ, एक पटकमा खानेजति मात्र पकाउने र जति पकाइन्छ त्यसको शुद्धतामा ध्यान दिने गर्नुपर्छ ।

एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइँदैन । रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउँछ । उच्च तापक्रममा मासु फ्राई गर्दा हेटेरोसाइकिल्क र पोलिसाइकिल्क जस्ता केमिकल निस्किने र उक्त केमिकलले क्यान्सरको जोखिम बढ्ने भएकाले दशैको मासु पकाउँदा सजक बन्नुपर्छ । मासुलाई धेरै भुट्ने, तार्ने वा पोल्नेभन्दा पनि थोरैभन्दा थोरै तेल प्रयोग गरी सामान्य तरिकाले पकाउनु उपयुक्त हुन्छ । एकपटक प्रयोग गरिएको तेल अर्काे पटक प्रयोग गर्नुहुँदैन ।

मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । जसले पेट, ठुलो आन्द्रा, प्रोस्टेट, कलेजो, फोक्सो र छाला जस्ता अंगहरुको क्यान्सर हुने जोखिम बढी रहन्छ । त्यस्तै मासु फ्राई गर्दा निस्कने तत्व एच.सी.ए. र पी.ए.एच.यस.ले मानव शरीरमा विभिन्न ट्युमरहरु पैदा हुन्छ । यसैको कारण पछिल्लो समयमा क्यान्सरको बिरामी नेपालमा बढीरहेको चिकित्सकहरु बताउँछन् । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ ।

मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यवर्धक हुने गर्छ । मासुलाई बफ्याएर पकाउन सकिन्छ । मासुलाई सुख्खा किसिमले फ्राइ गरेर भाँडाको तल रहेको चिल्लो फालेर खान सकिन्छ । चिल्लो, पिरो तथा मसला कम हालेर पकाइएको मासु स्वस्थ हुन्छ । सकभर खसी, भेँडा, च्याङ्गग्रा, पाडा, बंगुर आदिको रातो मासुभन्दा पनि कुखुरा, हाँस, टर्की, बट्टाई वा माछाको सेतो मासु खानु उपयुक्त हुन्छ । खासगरी, रातो मासुमा स्याचुरेटेड चिल्लो बढी हुने हुनाले त्यो मुटुको स्वास्थ्यको लागि घातक मानिन्छ ।

स्याचुरेटेड चिल्लोले कोलेस्टेरोलको मात्रा बढाउँछ, जसले रक्तप्रवाहमा अवरोध लगायतका समस्या उत्पन्न हुन सक्छन् । सेतो मासुमा हानिकारक बोसो तथा कोलेस्ट्रोलको मात्र कम हुने हुँदा मुटुरोगी तथा मधुमेहका बिरामीलाई समेत उपयुक्त हुन्छ । मुटुरोगी तथा मधुमेहका बिरामीले सकभर एकदमै न्यून मात्रामा सेतो मासु खानुपर्छ । यस्ता बिरामीलाई रातो मासु उपयुक्त हुदैन । क्यान्सरका बिरामीले खसीको मासु एकैपटक धेरै खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्नु र पोलेको, डढेको वा धेरै भुटेको मासु खाँदै नखानु उचित हुन्छ ।

मुटुरोग, मधुमेह तथा क्यान्सरका बिरामीले एक छाकमा तीनचार टुक्रा मात्र मासु खानु, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिनु, हरियो तरकारीलाई खानामा समावेश गर्नु, सागसब्जी र रेशादार खानेकुरालाई प्राथमिकता दिनु र मासुको मात्र भर नपर्नु उपयुक्त हुन्छ । सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम मात्रामा हरियो सागसब्जी पनि खानु र नियमित शारीरिक व्यायम गर्नु उचित हुन्छ । मधुमेहका बिरामीले बढी चिल्लो मासु खानुहुदैन । प्रेसरका बिरामीले खाने मासु धेरै नुनिलो हुनुहुँदैन ।

मधुमेह र प्रेसरका बिरामीले मासुसँग मादक पदार्थ खाने गर्नुहुँदैन । जथाभावी मुख छाडेर खानेकुरा खाँदा हृदयघात पनि हुने सम्भावना भएकाले विशेष ध्यान दिनुपर्छ । दमका बिरामीलाई चिसो खानेकुरा र पेय पदार्थ खाँदा असर र्पुयाउँछ । ग्याष्टीकका बिरामीले दिनको चारपाँच पटक खानुपर्छ । सुगरका बिरामीले पनि पेटभरी खान हुँदैन । अड्कल गरी गरी खानुपर्छ । मासु खाँदा स्वस्थ मान्छेले पनि दिनमा तीन चार पटक गरेर खानुपर्छ । एकैपटक धेरै मासु खान उचित हुँदैन ।

नेपालका मासुपसलमा भएका लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण हुने गरेको छ । बिरामी पशुको मासु खाँदा जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने खतरा रहको छ । फोहोर वधशाला तथा मासुको तयारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका ‘फ्लू’ तथा सरुवा रोग सर्ने माध्यम हुन सक्ने खतरा रहेको छ । मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्तता बढी खाना प्वाइजनिक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अपच भई तत्कालै पेट फुल्ने लगायतका समस्या देखिन्छ ।

नेपाल सरकारले २०५५ सालमै मासुको स्वस्थ्यता र गुणस्तर कायम राख्न, स्वच्छ व्यापारलाई प्रोत्साहन गर्न, मासुबाट बन्ने खाद्यपदार्थमा मिसावट रोक्नको लागि पशु बधशाला तथा मासु जाँच ऐन बनाएको त छ तर यी ऐन नियम लागू भएका छैनन् । हुनत स्वच्छ मासुको महत्वलाई बुझ्दै आधुनिक बधशालाको चलन सुरु भने भएको छ । आधुनिक बधशालामा जनवारलाई दुख दिएर मारिदैन । उनीहरुलाई बेहोस बनाएर मारिने र रगतसँग पनि लसपस नगरिने हुँदा मासु स्वस्थकर मानिन्छ ।

नेपाल सरकारले पनि आधुनिक बधशालालाई प्राथमिकताका साथ लागु गर्न नयाँ ऐन नियम बनाएर कडाईका साथ लागू लाग्नुपर्छ । उपभोक्ताले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिनुपर्छ । मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार सफा राख्नुपर्छ । मासु काट्ने व्यक्तिले लगाउने पोशाक, काटेको तरीका र तराजु पनि सफा हुनुपर्छ । त्यस्तै मासु काट्ने अचानो पनि सफा राख्नुपर्छ । मासुको परिकार तयार पार्ने व्यक्ति (कुक) स्वस्थ हुनुपर्छ । पशुपन्छी वध गर्नेबित्तिकै पकाएर खानुहुँदैन । बध गरेको अवस्थामै मासु किनेर ल्याउँदा पनि त्यसलाई ३ देखि ४ घण्टा डिपफ्रिजमा राखेर राम्ररी पकाउनु पर्छ ।

डिपफ्रिज छैन भने मनतातो पानीमा पखालेर मात्र पकाउनु राम्रो हुन्छ । पशुलाई धेरै हिँडाएर ल्याएको छ भने बध गर्नु अघि एक दुई दिन आराम गराउनुपर्छ । ठूलो पशु बध गर्नुपूर्व ६ देखि बाह्र घण्टाअघि दाना र घाँस रोकी पानी मात्र दिनुपर्छ । कुखुरालाई फिड सप्लिमेन्ट, हर्मोनतथा एन्टिबायोटिक दिएको ३ देखि ५ दिनपछि मात्र बध गर्नुपर्छ । मासु पसल शिसा राखेको, डिपफ्रिजको व्यवस्था तथा सकभर विजुलिवत्तिको वैकल्पिक व्यवस्था भएको, भेन्टिलेटर तथा धुलोरहित र अन्य घरपालुवा जनावरको सम्पर्करहित हुनुपर्छ ।

कुखुराको मासु किन्दा छाला निकालेर, कलेजो, फोक्सो, मलद्वारनली र अन्ननली फ्यालेर किन्नुपर्छ । यसो गर्दा छालामा डिपोजिट भएर बस्ने भ्याक्सिन, कलेजोमा डिपोजिट भएर बस्ने एन्टिबायोटिक तथा यसमा रासायनिक प्रतिक्रिया भएर बन्ने केमिकलको हानिवाट जोगिन सकिन्छ । त्यस्तै अन्ननली र मलद्वार नलीमा रहने व्याक्टेरियाको संक्रमणबाट बँच्न सकिन्छ । मासु किनेर खुल्ला नराख्नु उत्तम हुन्छ । उपलब्ध भए डिपफ्रिजमा राख्ने वा आगोको छेउछाउमा ठूलो भाँडोमा छोपेर राख्नुपर्छ । फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ ।

बासी तथा खुला स्थानमा राखेको मासु खानुहुँदैन । मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नुहुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेण्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । राम्रा फ्रिजिङका माध्यम पनि छन, जुन व्यावसायिक संस्थाहरूमा मात्र हुन्छन् । मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नुहुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका तरल पदार्थ र कीटाणु हावामार्फत तल्लो सतहमा झर्न सक्छ । अनि तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारि छुट्ट्याइएका परिकार, फलफुल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नुहुँदैन ।