Loading... आजः ९ श्रावण २०७८, शनिबार
व्यापार घाटा

एघार महिनामा ४३ करोड ४२ लाखको गोलभेँडा आयात, किन बढ्दैन निर्यात ?

एघार महिनामा ४३ करोड ४२ लाखको गोलभेँडा आयात, किन बढ्दैन निर्यात ?

काठमाडौं । गत हिउँदमा मात्रै दाङका हरि चौधरीले भाउ नपाएपछि करिब ५० क्विन्टल टमाटर बारीमै डोजर लगाए । यो वर्षमात्रै होइन गाउँका अन्य साना किसानले पनि हरेक वर्षजसो बजार भाउ नपाएपछि टमाटर, बन्दा लगायतका मौसमी तरकारी बारीमै कुहाउँछन् ।

कृषक हरिले जस्तै हरेक वर्ष पूर्वदेखि पश्चिमसम्म साना किसानले फलाएका तरकारी बजार भाउ नपाएपछि कयौं टन बारीमै कुहिन्छन् । तरकारी र फलफूल बारीमै कति खेर जान्छ भन्नेबारे कहीँकतै औपचारिक तथ्यांक भने छैन । तर, बर्सेनि करोडौं मूल्य बराबरको तरकारी खेर जाने र निकै सस्तोमा जाने गरेको कृषि अभियन्ता उद्धव अधिकारी बताउँछन् ।

विदेशी तरकारीको बढ्दो उपभोग

नेपाली उत्पादन बारीमै कुहिएर जाँदा भारत, चीन लगायतका देशबाट बर्सेनि अर्बौंको तरकारी र फलफूल आयात हुने गर्छ । चालु आर्थिक वर्षका ११ महिनामा नेपालमा फ्रेस टमाटरमात्रै ४३ करोड ४२ लाखभन्दा बढी मूल्यको आयात भएको छ । सोही अवधिमा नेपालबाट भने जम्मा १० हजार बराबरको टमाटर निर्यात भएको तथ्यांक छ ।

यसैगरी २ अर्ब २४ करोड ७२ लाखभन्दा बढीको प्याज यी एघार महिनामा नेपालीहरूले उपभोग गरेका छन् । उक्त अवधिमा नेपालबाट बेचिएको प्याजको मूल्य भने जम्मा १ लाख १८ हजार मात्रै छ । यो अवधिमा नेपालमा फ्रेस लसुन पनि १ अर्ब २ करोडभन्दा बढीको आयात भएको छ ।

नेपाली किसानको बारीमै मलका रूपमा प्रयोग हुने गरेको बन्दा पनि चालु आर्थिक वर्षको यो अवधिमा २१ लाख १७ हजारभन्दा बढीको आयात भएको देखिन्छ । चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा ८१ करोड ७६ लाख मूल्यभन्दा बढीको कागतीमात्रै आयात भई नेपाली बजारमा खपत भएको छ । तर, सोही अवधिमा ११ लाख ८० हजार बराबरको कागती मात्रै नेपालबाट बिक्री भएको देखिन्छ ।

सो अवधिमा नेपालबाट ७० हजार मूल्यको फर्सी बेच्दा २ करोड ५२ लाख बराबरको किनिएको छ । नेपालको तराई पहाड र हिमालको सबै माटोमा फल्ने आलु पनि नेपालीहरूले ६ अर्ब ७१ करोडभन्दा बढी मूल्यको आयात गरी उपभोग गरेका छन् । उक्त अवधिमा ३८ हजारको आलु नेपालले निर्यात गरेको छ । सो अवधिमा नेपालले २८ अर्ब ६० करोड ३१ लाख बराबरको धान/चामल मात्रै आयात गरेको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा नेपालमा ५३ करोड १६ लाखभन्दा बढी मूल्यको टमाटर आयात भएको तथ्यांकले देखाएको छ । सो अवधिमा नेपालले १९ हजारको मात्रै व्यापार गरेको छ । समीक्षा अवधिमा २ अर्ब ९७ करोड ६८ लाख बराबरको प्याज नेपालमा आयात हुँदा ३ लाख ५५ हजार बराबरको मात्रै निर्यात गरेको देखिन्छ । यसैगरी ३१ करोड ५३ लाख मूल्यको लसुन आयात गर्दा ५५ लाख मूल्यको निर्यात गरिएको छ ।

यस्तै १ करोड ३३ लाख मूल्यको फर्सी, ६ अर्ब ३२ करोड ८५ लाख मूल्यको आलु र ६८ करोड ४९ लाख १० हजार मूल्यको कागती आयात भएको छ । सो आर्थिक वर्षमा नेपालले २० अर्ब २१ करोड ३३ लाख बराबरको धान/चामल मात्रै आयात गरेको छ । यसैगरी अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा पनि फ्रेस टमाटरको आयात ५२ करोड ६९ लाख मूल्य बराबरको गरिएको छ ।

यसैगरी २ अर्ब २४ करोड ७२ लाखभन्दा बढीको प्याज, १ अर्ब २ करोड ६८ लाख मूल्यको लसुन, २१ लाख १७ हजारको बन्दा, २ करोड ५२ लाखको फर्सी र ५ अर्ब ५१ करोड १७ लाखभन्दा बढीको आलु आयात भई उपभोग गरिएको छ । सो आर्थिक वर्षमा नेपालले ५७ अर्ब १८ करोड ६८ लाख बराबरको धान/चामल मात्रै आयात गरेको छ ।

किन बढ्दैन निर्यात ?

सन् ८० को दशक सम्ममा नेपालले बर्सेनि खाद्यान्न निर्यात गथ्र्यो । तर, पछिल्ला तीन दशकमै नेपालले खर्बौंको व्यापार घाटा व्यहोर्नुपरेको छ । यसमध्ये ठूलो अंकको घाटा व्यापार खाद्यान्नमै छ ।

चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा नेपालको कुल व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोडभन्दा बढी छ । सरकारले हरेक वर्ष विविध आयोजना ल्याउँदै कृषिलाई प्राथमिकता दिएको रटान लाइरहन्छ । तर, बजार व्यवस्थापनमा भने केही ध्यान दिएको छैन । जसका कारण नेपाली किसानले माटो सुहाउँदो खेती गरी बजार पाउन मुस्किल पर्ने गर्छ ।

‘हाम्रो भूमि र किसानको नेचर नै सरकारले बुझेन,’ खाद्यका लागि कृषि अभियन्ता उद्धव अधिकारी प्रश्न गर्दै भन्छन्, ‘पुरानो परम्परागत खेती प्रणालीलाई परिष्कृत गर्नुपर्नेमा सिधै आधुनिक बनेर हुन्छ ? हामीले कृषि सडक बनायौं तर त्यो जमिन घडेरीमा परिणत भइरहेको छ । हाम्रा कृषकको क्षमता विस्तार गर्दै लागत घटाउनका लागि सहयोग गरेको खोइ ? कृषियोग्य भूमिको व्यवस्थापन गरेको खोइ ? नीतिगत सुधार गर्नुपर्दैन ?’

पछिल्ला वर्षमा नेपाली युवामाझ कृषि पेसा निकृष्ट पेसाका रूपमा चिनिन पुग्यो । जसका कारण सयौं हेक्टर नेपाली जमिन बाँझो हुने र वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्ने क्रम छ । विकसित मुलुकमा यान्त्रीकरण र उच्च प्रतिफलसहितको प्रविधिको सुविधा दिएर कृषिकर्मलाई सहजीकरण गर्ने क्रम बढ्दा नेपाली युवा विदेशमा कृषिमै काम गर्न पनि गइरहेको पाइन्छ ।

पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कृषिमा नयाँ प्रविधिको विषय थप्दै आत्मनिर्भर र निर्यातमुखी कृषि बनाउनुको सट्टा ठूलो कुरा मात्रै गर्नाले व्यापार घाटाले अझै डरलाग्दो रूप लिइरहेको सरोकारवालाहरू बताउँछन् । नेपालमा ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमिन रहेको सरकारी तथ्याङ्क छ ।

यसमध्ये ठ्याक्कै कति जमिन बाँझो छ भन्ने कुनै सरकारी निकायसँग छैन तर ३० प्रतिशतको हाराहारीमा खेतीयोग्य जमिन बाँझो रहेको अनौपचारिक तथ्यांकले देखाउँछ । पछिल्लो समय विभिन्न सेवा सुविधाको खोजीमा भइरहेको बढ्दो बसाइँ–सराइ, वैदेशिक रोजगारी, सिँचाइको अभाव, बढ्दो लागतजस्ता विविध कारणले बाँझो जमिन बढिरहेको छ ।

व्यापार घाटाको असर

हरेक वर्षको बढ्दो आयातले देशको घाटा व्यापारको आकार बढ्दो क्रममै छ । अर्थशास्त्रको सैद्धान्तिक दृष्टिकोणमा बढ्दो व्यापार घाटाले अर्थतन्त्रमा नकारात्मक नै असर पार्छ । अर्थात् आयातभन्दा कम परिमाण र दरले अर्थतन्त्रका लागि नकारात्मक रहन्छ । तर, नेपालको अवस्थामा पछिल्ला वर्षमा आयातको वृद्धि औसतमा २ खर्बले बढिरहेको पाइएको छ । जसका कारण नेपालको अन्तर्राष्ट्रिय व्यापार असन्तुलित छ । बढ्दो व्यापार घाटाको प्रत्यक्ष असर आर्थिक वृद्धि र रोजगारीमा पर्ने अर्थशास्त्रीहरू बताउँछन् ।

‘हाम्रो व्यापार घाटाकै कारण बेरोजगारी पनि बढिरहेको छ,’ अर्थशास्त्री तिलक रावल भन्छन् । यसका लागि के गर्ने त ? रावल स्पष्ट पार्छन्, ‘यसको उत्तम उपाय नै निर्यात बढाउनु हो । यहाँका हरेक क्षेत्रलाई आत्मनिर्भर र उत्पादन र निर्यातमुखी बनाउनुपर्छ । नेपालमा उत्पादन नभएका मालवस्तु आयात गर्नै परे पनि खाद्यान्न, तरकारी र उत्पादनमूलक सामग्रीको आयात घटाउन सक्छौं । यस्ता मालवस्तु र निर्यात पनि गर्न सक्छौं नि !’ उनले समृद्धिको बाधक बढ्दो व्यापार घाटा भएकाले यसलाई निरुत्साहित गर्नु देशका लागि फाइदाजनक भएको बताए ।

व्यापार घाटाले भुक्तानी सन्तुलन पनि घाटामा

अन्तर्राष्ट्रिय व्यापारको सिधा सम्बन्ध शोधनान्तर स्थिति अर्थात् भुक्तानी सन्तुलनसँग हुन्छ । कुनै पनि देशले जति आयात घटाएर निर्यात बढायौं त्यति नै यस्तो सञ्चिति बढ्छ । तर, आयात निर्यातको खाता नै शोधनान्तर स्थिति भने होइन । शोधनान्तर स्थितिमा चालु पुँजीगत तथा वित्तीय गरी दुई किसिमका तथ्यांक समावेश गरिएको हुन्छ ।

यसमध्ये चालु खाता अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित हुन्छ । चालु देश र अन्य देशबीच भएको वस्तु तथा सेवाको आयात तथा निर्यातका तथ्यांक समावेश हुन्छन् । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा यस्तो खाता १ खर्ब ४८ अर्ब ६१ करोडले घाटामा छ । सो अवधिमा शोधनान्तर स्थिति भने बचतमा रहेको छ ।