कोरोना महामारी

बाँकेमा फेरि लम्बियो कागजी निषेधाज्ञा, कार्यान्वयन शुन्य

बाँके । कागजीरुपमा कायम रहेको बाँकेको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि लम्ब्याएको छ । कहिँकतै कार्यान्वयन नदेखिएको निषधाज्ञालाई जिल्ला प्रशासन कार्यालय बाँकेले असार ३१ गते मध्यरातीसम्मका लागि लम्ब्याएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषधाज्ञा आदेशमा आजबाट सार्वजनिक सवारी साधनहरु पनि निर्वाध चल्न पाउने उल्लेख गरिएको छ । गत असार १५ गतेबाट जोरबिजोर प्रणाली लागु गर्दै सवारी साधन सञ्चालन गर्न आदेश गरिए पनि बाँकेमा कुनै कार्यान्वयन भएको थिएन ।

निषेधाज्ञाका अन्य मापदण्डलाई पूर्ववतः कायम राखिएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपालमै पहिलो (बैशाख ८ बाट नेपालगन्ज र बैशाख १३ बाट बाँके जिल्लाभर) निषेधाज्ञा जारी भएको बाँकेमा बैशाख महिनाभर निषेधाज्ञाको केहि कार्यान्वयन भए पनि त्यसयता निषेधाज्ञाको कुनै प्रभाव देखिएको छैन ।

संक्रमणको सबैभन्दा बढी जोखिम खेपेको नेपालगन्ज उपमहानगरपालिकामा जेठ महिनाको मध्यतिरबाटै होटल रेष्टेरेन्टदेखि चाट पानीपुरीका पसलहरु समेत सञ्चालनमा छन् । प्रशासनको सूचनामा भने कोभिड १९ संकट व्यवस्थापन अध्यादेशदेखि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ ।