Loading... आजः १२ श्रावण २०७८, मंगलवार

युरोकप फुटबलमा आज पनि तीन खेल हुँदै

युरोकप फुटबलमा आज पनि तीन खेल हुँदै

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एफ’ मा रहेको दुई टिमबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ ।

आज फ्रान्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

हंगेरी भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३–० ले पराजित भएको थियो । हंगेरी समूहको पुछारमा रहेको छ ।

दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

समूह ‘एफ’ मा रहेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीका लागि यस खेल महत्वपूर्ण रहेको छ । नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जित बाहेक अन्य विकल्प छैन । जर्मनी समूहको तेस्रो स्थानमा रहेको छ ।

आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

समूह ‘ई’ को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

पोल्याण्ड भने पहिलो जितसहित मैदान उत्रने छ । अंक विहीन पोल्याण्ड पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो ।