Loading... आजः १२ श्रावण २०७८, मंगलवार
पहिलो पटक चैते धान

सिक्टाको पानी आएपछि बाँकेमा पहिलोपटक चैते धान फलाइयो, उत्पादनमा दोब्बर वृद्धि

थप किसानलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने
सिक्टाको पानी आएपछि बाँकेमा पहिलोपटक चैते धान फलाइयो, उत्पादनमा दोब्बर वृद्धि

बाँके । बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् ।

बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर वृद्धि भएको किसानहरुले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसानहरु पनि अकार्षित भएका छन् ।

पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार मानिन्छ । बर्दियाका किसानहरू १ दशकअघिदेखि चैते धान खेती गरिरहेको भए पनि बाँकेका किसानले पहिलोपटक चैते धान फलाएका हुन् ।

राष्ट्रिय गौरवको सिक्टा सिंचाइ अयोजनाकोे नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका हुन् ।

नहरमा बाह्रै महिना पानी आउन थालेपछि किसानहरूलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे ।

चैते धान फलाउन सफल बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले यो वर्षको परीक्षण सफल भएले अर्को वर्षदेखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताउनुहुन्छ ।

यस्तै, कोहलपुर नगरपालिका–१५ चौधरिया गाँउका किसान ज्ञान बहादुर नेपालले पनि ११ कट्ठा जमिनमा चैते धान फलाउनुभयो ।

लामो समयदेखि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाइ हुने भन्दै चैते धानको खेती गरेको बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र बाँकेले किसानलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो । कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले अर्को वर्ष थप किसानलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

सिंचाइ सुविधा बढ्दै गएपछि बाँकेका कृषक उत्साही देखिएका छन् । जसले गर्दा कृषिबाट पलायन हुन लागेको जनशक्तिलाई रोक्न सहयोग पुग्ने देखिन्छ ।