भारतका केही गाउँ, ‘जहाँ देवताको डरले कोरोनाविरुद्धको खोप लगाउँदैनन्’

काठमाडौं । गत मे २२ मा भारतको हिमाचल प्रदेशको विकट गाउँ मलाना पाँच किलोमिटर हिँडेर स्वास्थ्यकर्मीहरूको टोली पुग्यो । उनीहरुले त्यहाँ एक खोप केन्द्र बनाए । यद्यपि, उक्त खोप केन्द्रमा केवल ३६ जना मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाए । यो गाउँमा २२ सयभन्दा धेरै मानिस बस्छन् ।

सो संख्यामा मानिसहरूले खोप लगाउनु पनि यो गाउँमा ठूलो सफलता सरह नै थियो । मलानाका मानिसहरूले धार्मिक प्रशासन गाउँ परिषद्को कारण खोप लगाउन मानेका थिएनन् । गाउँ परिषद्ले स्थानीय देवता जमदग्नी ऋषि यसमा सहमत नभएको भन्दै कोरोनाविरुद्धको खोप नलगाउन सबैलाई आग्रह गरेको थियो ।

स्थानीयका अनुसार गाउँ परिषद्लाई देउताबाट खोप लगाउने अनुमति पाउन नै करिब पाँच महिना लाग्यो । गत मे महिनाको मध्यमा भारतमा कोरोनाको दोस्रो लहर फैलिरहेको अवस्थामा देवताबाट यसबारेमा अनुमति मिल्यो । देवताको अनुमति पाएपछि पनि यो गाउँका केवल १.८ प्रतिशत मानिसले कोरोनाविरुद्धको खोप लगाए ।

गाउँलेका अनुसार जमदग्नी ऋषिले उनीहरूलाई एक महिलाको शरीरमा आएर प्रत्यक्षरूपमा खोप केन्द्र स्थापना हुनुभन्दा दुई दिन पहिला खोपको बारेमा बोलेका थिए । देउताले महिलाको माध्यमबाट खोपबाट टाढा रहन निर्देशन दिए । देउताले आफ्नो दैवी शक्तिको प्रयोग गरेर गाउँलाई कोरोनाबाट बचाउने बताएका थिए ।

मलानामा अन्धविश्वास, गलत सूचना र खोपप्रतिको अनिच्छा असीमित छ । जानकारहरूका अनुसार यस किसिमको अवस्था भारतको धेरै ग्रामीण क्षेत्रमा देख्न सकिन्छ । महाराष्ट्रको पालघरका आदिवासीहरू आफूहरू सधैं घाममा काम गर्ने भएकाले कोरोनाको संक्रमण नहुनेमा विश्वास गर्छन् ।

भारतको पश्चिमी घाटका पोतराज समुदायका मानिसहरू पनि आफूहरूलाई कडक लक्ष्मीले कोरोना खोप नलिन भनेको बताउँछन् । त्यस्तै, राजस्थानको सिरोही जिल्लाको अराभाली श्रृङ्खलामा बसोबास गरिरहेका आदिवासी पनि कोरोनाविरुद्धको खोप लिन इच्छुक छैनन् ।

भारतको पूर्वी राज्य झारखण्डमा पनि अधिकांश लामो समयदेखि बसोबास गर्दै आएका मानिसहरू खोप लिन अस्वीकार गरिरहेका छन् । त्यसको सट्टामा उनीहरू संक्रमण फैलिन नदिन ‘हवन’ गरिरहेका छन् । भारतमा गत जनवरीदेखि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ ।

कोरोनाको दोस्रो लहरका कारण समस्यामा रहेको भारतका ग्रामीण क्षेत्रमा अझै पनि संक्रमण फैलिरहेको छ । त्यहाँको स्वास्थ्य पूर्वाधार निकै कमजोर छ । विश्वव्यापी स्वास्थ्यबारे अध्ययन गरिरहेका अनन्त भान अहिले भारतको अवस्था चिन्ताजनक रहेको बताउँछन् ।

‘अहिले भारतसँग पर्याप्त खोप छैन । यदि सरकारले खोपको व्यवस्था गरेछ भने पनि यस किसिमका अन्तर नहटाउने हो भने खोप अभियान असफल बन्नेछ । यिनीहरू सबैभन्दा जोखिमपूर्ण समुदायमध्येका एक हुन्,’ उनले भने ।

‘हामीलाई जम्लु देवताको आशीर्वाद छ’

मलाना गाउँ विश्वकै महँगो भाङ ‘मलाना क्रिम’का लागि प्रख्यात छ । त्यसैले यो गाउँ मनोरञ्जनात्मक लागुपदार्थ पर्यटनको केन्द्र बनेको छ । यो गाउँ दुई हजार ६५० मिटर उचाइस्थित सानो उच्च समथल भूमिमा अवस्थित छ । यो गाउँको एकातर्फ जंगली भाङ पाइन्छ भने अर्कोतर्फ कञ्चन खोला बग्छ । यो गाउँमा अहिलेसम्म मोटरबाटो पुगेको छैन ।

यो गाउँ जाने बाटो हिउँदमा हिउँले पुरिन्छ भने वर्षायाममा निकै चिप्लो हुन्छ । भौगोलिक विकटताको कारण अन्य क्षेत्रबाट अलग रहेको यो गाउँका मानिसहरू पनि आफ्नो गाउँलाई जमदग्नी ऋषिले चलाइरहको मान्छन् । यो गाउँमा हिन्दुको पनि कुनै विशेषाधिकार प्राप्त मानिसलाई मात्र अनुमति दिइन्छ । जबकि दलित, मुस्लिम र क्रिश्चियनहरूलाई यो गाउँमा गएर कसैको पर्खाल छुनेसम्मको अनुमति छैन ।

यो नियम उल्लंघन गर्नेलाई त्यहाँका मानिसहरूले भनेअनुसारको दण्ड दिइन्छ । अल जजिराकी संवाददाता सृष्टि जसवालले यो गाउँतर्फ जाँदै गरेका नमो देवी, उनकी छोरी जिती देवी र बुहारी बल्मा देवीलाई भेटेकी थिइन् । उनीहरू कसैले पनि कोरोनाविरुद्धको खोप लगाएका थिएनन् ।

‘जब एक वर्षभन्दा लामो समयदेखि मलानामा कोरोनाका कुनै पनि संक्रमित भेटिएका छैनन् भने हामीले किन खोप लगाउनुपर्यो ?,’ नमो देवीले भनिन् । गाउँकी अर्की महिला सव्या देवी पनि आफ्ना देवताले आफूलाई रक्षा गर्छ भन्नेमा विश्वस्त छिन् । ‘हामीलाई जम्लु देवताको आशीर्वाद छ ’, उनले भनिन् । यहाँ जमदग्नी ऋषिलाई जम्लु देवताको नामले चिनिन्छ । हिन्दुशास्त्रअनुसार जमदग्नी सप्तऋर्षिमध्येका एक ऋषि हुन् ।

‘मलाई पनि जम्लु देवताको डर लाग्छ’

हिन्दुशास्त्रमाथिको मानिसको आस्था कहिलेकाँही आधुनिक विज्ञानसँग मेल खाँदैन । गाउँका मानिसहरू आधुनिक औषधि लिनुलाई आफ्नो संस्कृतिविरुद्ध रहेको बताउँछन् । सन् २०१५ मा निर्मा देवी मलानाको एकमात्र स्वास्थ्यकर्मी बनेकी थिइन् । सुरुमा उनलाई पोलियो र अन्य रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दा राम्रो प्रतिक्रिया आएको थिएन ।

‘पहिलो खोप केन्द्र स्थापना गर्दा जम्मा दुई बालबालिका आएका थिए । अभिभावकहरू बालबालिकालाई खोप लगाउन चाहँदैन’थे । त्यसपछि मैले प्रत्येक घरमा गएर बालबालिकालाई खोप लगाउन आग्रह गर्न थालेँ । त्यसको एक महिनापछि केवल १० जना बालबालिका खोप लगाउन आए,’ उनले भनिन्, ‘जब म उनीहरूलाई खोप लगाउन, आइरन चक्की, भिटामिन खान वा उनीहरूको बच्चालाई अस्पताल लैजान भन्छु, उनीले मलाई ‘जम्लु देवता के भन्लान् ?’ भन्ने प्रश्न गर्छन् ।’

त्यसो त निर्मा आफैँ पनि स्थानीय देवतामाथि विश्वास गर्छिन् । ‘मलाई यो अन्धविश्वास हो भन्नेचाहिँ लाग्दैन । मलाई पनि जम्लु देवताको डर लाग्छ,’ उनले थपिन्, ‘तपाईं जम्लु देवतासँग सहमत हुनुहुन्न भने उहाँले तपाइँको खेतहरू बिगारिदिनुहुन्छ वा तपाईंको परिवारको कुनै सदस्य बिरामी पर्छ । कसैले पनि उहाँलाई नाइँ भन्न सक्दैनन् । उहाँको विषयमा नराम्रो भन्नेको दुर्भाग्य सुरु हुन्छ ।’

स्वास्थ्यकर्मी बनेदेखि निर्मा आधुनिक विज्ञान र अन्धविश्वासको द्विविधामा रहने गरेकी छिन् । गत वर्ष उनलाई आफ्ना परिवारका सदस्यको उपचारको लागि अस्पताल लैजान जम्लु देवाताको अनुमति लिनुपर्छ भन्ने लागेको थियो ।

‘मलानामा खोपप्रति अनिच्छा देखाउनेमा अधिकांश उमेर बढी भइसकेका मानिसहरू र महिलाहरू छन् । उनीहरू खोपमा गाईको रगत हुन्छ भन्नेमा विश्वास गर्छन् र यदि उनीहरूले खोप लगाए अशुद्ध र अपवित्र हुने मान्छन् । यो पाप हो,’ निर्माले भनिन्, ‘उनीहरूले यो कुरा ह्वाट्सएप र युट्युबमा सुनेका हुन् ।’

यद्यपि सन् २०१५ मा भन्दा २०२१ मा ठूलो परिवर्तन आएको निर्माले बताइन् । ‘सन् २०१५ मा मैले मेडिकल साइन्सलाई बढावा दिएको भन्दै मानिसहरू मलाई ह्येभावले हेर्थे । अहिले कम्तीमा गाउँ परिषद्ले मलाई सहयोग गरिरहेको छ,’ निर्माले भनिन् । गाउँमा पहिलो कोरोना खोप गाउँ परिषद्का प्रमुख राजुरामले लगाएका थिए ।

‘अहिले सबैजसो बालबालिकाहरूले विश्वव्यापी खोप कार्यक्रमअन्तर्गत खोप लगाइसकेका छन्,’ उनले थपिन्, ‘तर जम्लु देवतालाई मात्र थाहा छ कि मैले उनीहरूलाई कसरी मनाएँ भनेर । मलाई कहिलेकाहीँ म स्वास्थ्यकर्मी हुनुभन्दा पहिला अवस्था कस्तो थियो भनेर सोच्दा पनि अचम्म लाग्छ ।’

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै अप्रिलको सुरुमा निर्मा र राजु रामले जम्लु देवतालाई गुरुमार्फत् खोपको लागि मनाउन धेरै प्रयास गरे । यद्यपि जम्लु देवताबाट प्रत्येकपटक खोपको लागि नाइँ नै भन्ने उत्तर आयो । ‘यो देवताको स्थान हो । यो पवित्र भूमिमा कोरोना भाइरस आउनै सक्दैन,’ ऋषिको मन्दिरका संरक्षक चेतरमले भने ।

हिमाचल प्रदेशको स्वास्थ्य विभागमा पनि यो गाउँको कुरा मे महिनामा पुगेको थियो । विभागले जम्लु देवतालाई खोपको लागि मनाउन गाउँ परिषद्लाई भनेको थियो । ‘हामीले जम्लु देवतासँग खोपले मात्र हामीलाई बचाउन सक्छ र हामीलाई खोप लगाउने अनुमति दिनुहोस् भनेर प्रार्थना गरेका थियौं । त्यसपछि देवताले हामीलाई खोप अभियानको लागि आफ्नो आशीर्वाद रहेको बताउनुभएको थियो,’ परिषद्का एक सदस्य बुद्धरामले बताए ।

मेको मध्यमा देवताले अनुमति दिएपछि मेडिकल टिमले मलाना भ्रमण गरेको थियो र मे २२ देखि २८ को बीचमा ३६ जनालाई खोप लगाएको थियो । ‘यद्यपि त्यो साता बुद्धि देवी र केस्री देवीमा देवता चढेको थियो र देवताले गाउँलेलाई खोप नलगाउन चेतावनी दिनुभएको थियो,’ निर्माले भनिन् । यसबारे बुद्धिदेवीसँग कुरा गर्दा उनले बोल्न चाहिनन् ।

उनले एउटै भनाइ दोहोर्याइन्, ‘देवताले हामीलाई नाइँ भन्नुभएको छ । हामीसँग केबल हाम्रा देवता छन् । जसलाई खोप मन परेको छैन ।’ धेरै गाउँलेहरू अझै पनि खोप लगाउन तयार छैनन् । उनीहरू आफ्नो देवताले खोपलाई अनुमति नदिएको बताउँछन् । गाउँमा खोप लगाउनेमध्येका एक बलराम हुन् । उनी भन्छन्, ‘म बूढो भइसकेँ र अब धेरै बाँच्न चाहन्नँ । त्यसैले मैले खोप लिएको हुँ । मलाई आशा छ कि अरूले पनि यो नतिजा छिटै देख्नेछन् ।’ (अल जाजिराबाट)