Loading... आजः ५ असार २०७८, शनिबार
समृद्धि यात्रा

राप्तीसोनारीमा फेरिँदै खरका छाना, ‘तर बर्षौ कुनुपर्ने भयो’

‘खरको छानो भएकाले हिउँदमा आगो र वर्षायाममा पानीको समस्या झेल्दै आएका थियौँ । अहिले छानामा टिन लगाएपछि ढुक्क भएका छौं ।’
राप्तीसोनारीमा फेरिँदै खरका छाना, ‘तर बर्षौ कुनुपर्ने भयो’

बाँके । कुनै बेला हिउँद लागेपछि गाउँघरमा नयाँ खर काटेर घर छाउने चलन थियो । गाउँमै पक्की घर र टिनको छानो लगाएका घर बन्न थालेपछि खरका छाना हराउँदै गएका छन् । खरको छानो भएको घर तुलनात्मकरुपमा न्यानो हुन्छ । टिन लगाएपछि वर्षैपिच्छे छाउने झन्झट हुँदैन, त्यहीकारण खरका छाना लोप हुँदै गए । गाउँमा समेत खरले छाएका घर बनाउन छाडिसके । पहिले विद्यालयमा मात्र सिमेन्ट देखिन्थ्यो, आजभोलि पक्की र टिन लगाएका घर निर्माण हुन थालेका छन् । बूढापाका भने खरले छाएका घरमा बस्दाको जस्तो आनन्द टिन र पक्की घरमा नहुने तर्क गर्छन् ।

खरको झुपडीमा जीवन गुजारिरहेका परिवारलाई राप्तीसोनारी गाउँपालिकाले सुरक्षित छानोमुनि ल्याउन खरका छाना विस्थापित गर्ने अभियान थालेपछि खरका छाना हराउँदै जान थालेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं.२ कचनापुरले मात्रै आफ्नै बजेटबाट गत बर्षदेखि खरका छाना विस्तापित गर्ने योजना सुरु गरेको थियो । वडा नं. २ ले गत आर्थिक बर्षमा वडाकै सहयोगमा खरले छाएका विपन्न परिवारका २२ घरलाई खरको छानामुक्त बनाएको वडाध्यक्ष मदन वलीले बताए । खरको छानो भएका परिवार वर्षौंदेखि समस्या झेल्न बाध्य थिए । आर्थिक विपन्नताका कारण छानो छाउन नसकेका परिवारलाई वडा कार्यालय सहारा बनेको छ ।

जस्तापाताको छानोले बास सुरक्षित भएपछि ती परिवारहरु खुशी छन् । खरका छाना हटाउने योजनाका लागि हालसम्म वडाले आव २०७६/०७७ मा बर्ष १० लाख रुपैयाँ खर्च गरिसकेको छ । वडाध्यक्ष वलीका अनुसार झण्डै १५० बढी घरको छाना फेर्न बाँकी छ । ‘यस बर्ष संघीय सरकारको कार्यक्रम अन्तरगत १४ वटा घरका खरका छाना फेर्छौं,’ वडाध्यक्ष वलीले भने, ‘विपन्न, एकल महिला र दलित समुदायका खरको छानो विस्थापित गर्ने योजना छ ।’ संघीय सरकारको भर परेर गाउँपालिकाले यस बर्ष बजेट विनियोजन नगर्दा सबै घरमा छाना फेर्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।

‘जनता आवास कार्यक्रम’ अन्तरगत संघीय सरकारले १४ घरका लागि मात्रै बजेट दिएकाले सबै घरलाई खरको छानामुक्त बनाउन अझै समय लाग्ने पनि वडाध्यक्ष वलीले बताए । राप्तीसोनारीमा खरका छाना विस्थापित हुन थालेपछि गाउँ, बस्तीमा रहेका विपन्न परिवारका घरले विस्तारै मुहार फेर्दैछन् । तर, गाउँपालिकामा रहेका खरका छाना फेर्न भने अझै केही समय कुर्नुपर्ने देखिन्छ । गाउँघरमा अहिले पनि खरले छाएका घरगोठ धेरै छन् । राप्तीसोनारी–२ कचनापुरका गोपाल नेपाली भन्छन्, ‘खरको छानो भएकाले हिउँदमा आगो र वर्षायाममा पानीको समस्या झेल्दै आएका थियौँ । अहिले छानामा टिन लगाएपछि ढुक्क भएका छौं ।’

टिनको छानो भएपछि पानी पर्दा ओत लाग्न र खडेरीका बेला आगोलागीको समस्या हटको राप्तीसोनारी–२ कचनापुरकै जयप्रकाश आलेले बताए । आले भन्छन्, ‘खर छाएका घरहरु पनि धेरै नटिक्ने, छिट्टै चुहिने हुने र हिउँदको बेला आगलागीको बढी डर हुन्थ्यो ।’ नेपाली र आलेजस्तै राप्तीसोनारीका धेरै विपन्न परिवारका घरका फुसका छाना विस्थापित भएका छन् । राप्तीसोनारीका गाउँमा खरका छानालाई बिस्थापित गरी टिनको छानाले घर छाई दिएपछि विपन्नहरु खुशी छन् । राप्तीसोनारीका बस्तीहरु टिनका छानाले चिटिक्क परेका छन् । टिनको छाना फेर्नु त परै जाओस्, त्यही खरको छाना छाउन नसकेर पानी आउँदाभित्रै थाल र अरु भाँडाहरु थापेर बस्नुपथ्र्यो । अहिले धेरै विपन्नलाई यस्तो समस्या भोग्नुपर्दैन ।

गाउँघरमा आगलागीको डरसमेत कम भएको छ भने प्रत्येक वर्ष घर छाउनुपर्ने झन्झटको पनि अन्त्य भएको छ । खरका छाना विस्तापित गरेर टिनको छानो लगाएका घरधुरीका लागि वर्षामा चुहिने र हिउँदमा आगलागी हुने डरको समस्या समाधान भएको छ । वडाध्यक्ष वलीले खरका छाना बिस्थापित गरेर पानी चुहिने र आगलागीबाट केही मात्रामा सुरक्षित राख्ने काम गरिरहेको बताए । गाउँपालिकाले विकास निर्माणसँगै विपन्न जनताको घर छाउन सुरु गरेपछि स्थानीयले ढिलै भए पनि स्थानीय तहमा सरकार भएको महसुस गर्न पाएका छन् । पहिले फुसको छाना विस्थापित गरिसकेपछि पक्की आवासलाई जोड दिइने उनको भनाई छ ।

वर्षौंदेखि खरको छानोमुनि कष्टकररुपमा जीवनयापन गर्दै आएका विपन्न परिवारका छाना फेर्न स्थानीय तह लागिपरेको उनले बताए । वडाध्यक्ष वलीले भने, ‘खरको छानोमुनि बस्न बाध्य परिवारलाई सुरक्षित छानोमा ल्याइरहेका छौं ।’ आगामी केही वर्षभित्रै खरले छाएका सबै घरमा जस्तापाताको छानो देखिने उनको भनाइ छ । खरको छानो विस्थापित गरेपछि घरमा आगलागीको जोखिम बढ्ने र बर्सेनि छानो परिवर्तन गर्नुपर्ने समस्या समाधान भएको लाभग्राहीहरुको भनाई छ । खरका छानामात्रै होइन राप्ती नदीमा आएको बाढीबाट प्रभावित भई घरबारविहिन परिवारका लागि आवाससमेत निर्माण गरिदिएपछि स्थानीयहरु खुशी छन् ।

सुरक्षित विस्थापन गर्ने स्थानीय तहले ल्याएका कार्यक्रमले राप्तीसोनारी–६ फत्तेपुरकी तारादेवी सार्कीको जीवनमै निकै ठूलो राहत र खुशी दियो । वडा कार्यालयसँगको समन्वयमा ह्याबिटाट फर ह्युमानिटी नामक संस्थाले बाढी र डुबानका कारण घर भत्किएर कष्टपूर्ण अवस्थामा बस्दै आएका बाँकेको राप्तीसोनारी–६, फत्तेपुरका १०८ परिवारका लागि सुरक्षित घर निर्माण गरेपछि अहिले स्थानीयहरु खुशी छन् । २०७४ मा आएको बाढीले राप्तीसोनारी–६, फत्तेपुरका धेरै घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । ह्याबिटाट फर ह्युमानिटी र गाउँपालिकासँगको सहकार्यमा क्षतिग्रस्त भएका १०८ वटा घर निर्माण गरिदिएपछि स्थानीयहरुले सुरक्षित महसुस गरेका छन् ।

दुई कोठा, एउटा भान्सा र बरन्डासहितको बाढी र भूकम्प प्रतिरोधी पक्की पाएपछि स्थानीयहरु दंग छन् । बाढी र डुबानका कारण घर भत्किएपछि गोठ तथा त्रिपालको टहरामा कष्टपूर्ण रुपमा बस्दै आएका गरिब, विपन्न, एकल महिला र अपाङ्ग परिवार छनौट गरी घर निर्माण गरिएको राप्तीसोनारी–६ का वडाध्यक्ष जनकबहादुर थारुले बताए । वडाध्यक्ष थारुका अनुसार बाढी र डुबानका कारण घर भत्किएर कष्टपूर्ण अवस्थामा बस्दै आएका बाढीपीडितले पक्की र सुरक्षित घर पाएपछि सुरक्षित बनेका छन् । ‘बाढी र डुबानका कारण घर भत्किएपछि गोठ तथा त्रिपालको टहरामा बस्दै आएका गरिब, विपन्न, एकल महिला र अपाङ्ग परिवार छनोट गरी घर निर्माण गरिएको हो,’ वडाध्यक्ष थारुले भने । विपन्न समुदायका परिवारले पक्की घर पाएपछि बाढी, शीतलहर र चिसोबाट समेत सुरक्षित भएका छन् ।

साथै पक्की घर पाएपछि बालबच्चा, दिर्घरोगी र बृद्धबृद्धाहरु चिसोबाट सुरक्षित भएको पनि स्थानीयले जनाएका छन् । स्थानीयहरु भन्छन्, ‘पक्की घर पाएपछि ढुक्कसँग बस्न पाएका छौं । नत्र सँधै बर्षात्मा बाढी, हिँउदमा चिसो र शीतलहरीको समस्या हुन्थ्यो । पक्की घर पाएपछि त्यस्तो महसुस गर्नुपरेको छैन ।’ झुप्रोमा जस्तो पक्की घरमा बिषालु किराले डस्न नपाउने उनले बताए । ‘बाढी र डुवानका बेला विच्छी, खजुरो र सर्पले डस्थ्यो । अझ बर्षात्मा बाढी र डुवानको डरले रातभर जाग्राम बस्नुपर्ने अवस्था हटेको छ,’ बिन्तीरामले भने । उनले अहिले राम्रो पक्की घरमा बस्न पाउदा ज्यादै खुशी लागेको पनि बताए । उनले अब आफूहरुजस्ता विपन्न परिवारको जीवनस्तर उकास्नका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने पनि बताए ।

‘बर्षौ कुनुपर्ने भयो’

राप्तीसोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१.७३ वर्ग किलोमिटरमा फैलिएको गाउँपालिका साविकका ६ वटा गाविसहरु खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर बनेको गाउँपालिकामा ९ वडामा विभाजित छ । यहाँको कुल जनसंख्या ५९ हजार ९४६ रहेको छ । तर, संघीय सरकारको ‘जनता आवास कार्यक्रम’ अन्तरगत खरका छाना विस्थापित गर्न आर्थिक बर्ष २०७७/०७८ मा जम्मा १२० घरधुरीका लागि मात्रै कार्यक्रम आएपछि कार्यान्वयनमा समस्या भइरहेको छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भने, ‘संघीय सरकारले हामीलाई अपमान गरेको छ । यसरी हामीले कहिलेसम्म खरका छाना विस्थापित गर्न सक्छौं ?’ उनका अनुसार राप्तीसोनारी गाउँपालिकामा १६०० घरधुरीका टिनको छानो विस्थापित गर्न आवेदन संकलन भएको छ । तर, संघीय सरकारको कार्यक्रम अनुसार गाउँपालिकालाई पूर्णरुपमा खरका छानामुक्त बनाउन करिब डेढ दशक लाग्ने देखिन्छ । आवेदनभन्दा निकै कम घरधुरीका लागि कार्यक्रम आएपछि कार्यक्रम कसरी गर्ने भन्नेमै अन्योल भएको छ । जनता आवास कार्यक्रम अन्तरगत घर निर्माण गर्नुपर्ने भए पनि संघीय सरकारले न्यून घरधुरीका लागि मात्रै रकम पठाएपछि कार्यक्रम गर्न समस्या भइरहेको छ ।

यद्यपी गाउँपालिकाले वडा नं.१ मा १५ घरधुरी, वडा नं.२ मा १४ घरधुरी र वडा नं.३ देखि वडा नं.९ सम्म १३÷१३ घरधुरी छनौट गरेर खरका छाना विस्थापित गर्ने तयारी थालेको छ । आर्थिकरूपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि घर निर्माण गर्न थालिएको जनता आवास कार्यक्रम अन्तरगत राप्तीसोनारीमा यस बर्ष पहिलो पटक १२० मात्रै घर निर्माण हुने भएका छन् । सरकारले थालेको जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन जनसंख्याको आधारमा स्थानीय तहलाई बजेट दिनुपर्ने अध्यक्ष थारुले बताए ।

‘हामीले १६०० घरधुरीको खरका छाना विस्थापित गर्नुपर्नेछ । सरकारले १२० घरधुरीका लागि मात्रै बजेट पठाउँदा हामी निकै अप्ठ्यारोमा परेका छौं । संघीय सरकारले कम्तीमा पनि जनसंख्या आधार मानेर बजेट बिनियोजन गरेमा स्थानीय तहलाई कार्यक्रम सञ्चालन गर्न पनि सहज हुने थियो,’ अध्यक्ष थारुले भने, ‘बर्षमा नाम मात्रका दुई चार वटा घर बनाएर कार्यक्रम प्रभावकारी हुँदैन । यसरी हामीले पालिकालाई खरको छानामुक्त बनाउनै बर्षौ लाग्छ । यसका लागि संघीय सरकार अझ गम्भीर बन्नुपर्छ ।’ सरकारले कार्यक्रम अन्तरगत विपन्न, गरीब, दलित र पिछडिएका वर्गको घर बनाएर हस्तान्तरण गर्दै आइरहेको छ ।