Loading... आजः ५ असार २०७८, शनिबार
त्यसबेलाको संघर्ष

भेडासँग जीवन बिताएका मनबहादुर भन्छन्, ‘बाँच्यापछि अमेरिका हेर्न जान्या हो’

‘चैनपुरमा औँलामा गन्ने घरहरु थिए । चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ, जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडाबाख्रालाई हामीले ठुला मान्यौं, बुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला ।'
भेडासँग जीवन बिताएका मनबहादुर भन्छन्, ‘बाँच्यापछि अमेरिका हेर्न जान्या हो’

बझाङ । हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० बर्षदेखि बझाङको साइपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ बर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० बर्षअघि बझाङको सदरमुकाम चैनपुर सम्झदै महतले भने, ‘चैनपुरमा औँलामा गन्ने घरहरु थिए । चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ, जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडाबाख्रालाई हामीले ठुला मान्यौं, बुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला ।’

त्यतिबेला चैनपुरका धनी भनेकै हरी साँहु थिए । उनका दुई वटा घर थिए । उनलाई एउटा भेडा ५० देखि १०० रुपैयामा विक्री गथ्र्यौ । लाग्छ त्यतिबेलाको १०० रुपैयाँ ठुलो थियो । अहिले भेडा विक्री गरेपछि १९–२० लाख आउँछ त्यो पनि केहि काम लाग्दैन । उनका दुई दाजुभाई हुन् । ‘त्यतिबेला गाउँमा स्कुल थिएन । पढ्नुपर्छ भन्ने थाहा भएन । १२ बर्षको उमेरमै भेडासँग हिड्न लागेका हामी दाजु भने बाठा (जान्ने बुझ्ने) भएर डिठ्ठा र सुब्बासम्म भए,’ उनले भने, ‘म हुम्लाबाट बझाङ आउँदा सुरुमा १८ पाठा थिए ।’

उनीसँग कुनै बेला ११०० बाख्रा, खसी, भेडाका छुट्टाछुट्टै गोल र ८–९ जना ग्वाला (हेर्ने मान्छे), साथमा ३–४ कुकुरहरु पनि थिए । धनगडी र महेन्द्रनगर डडेल्धुरा लगायतका ठाउँबाट सामान ल्याउथे । त्यतिबेला यातायातका साधन भनेकै भेडाबाख्रा थिए । ‘खच्चर धेरै समयपछि आए, महतले फेरि भने, ‘त्यतिबेलाको जमाना थियो । भेडामा सामान हुन्थ्यो । गाउँ नजिकै बाटोमा डेरा बसाल्थ्यौ । गाउँले दाजुभाईहरुले माया गर्थे । अहिले भेडावाला भन्ने वित्तिकै गाली गर्छन् ।’

उनले भने, ‘अब त बुढो भैयो, तागत छैन । हिँड्दा हिँड्दै खुट्टा लट्पटिन्छन् । अब सकिँदैन, विस्तारै घटाउनु पर्यो । अहिले भेडा व्यवसायीमा लाग्दैनन् । भेडाको ऊन लाग्या पनि टक्टयाउँछन् । हुनत भेडाकै खर्चबाट छोरालाई डिग्री पढाए । अमेरिका जाँदा ९ लाख पठायाँ, अहिले अमेरिकामै छ । उतै विवाह गर्यो । उ पनि फोन गरेर कहिलेकाहिँ भेडा बेचेर घर आउ भन्छ । घरपरिवार सबैलाई भेडाकै खर्चबाट पालनपोषण गरे । अहिले पनि घरमा ११ जनाको परिवार छ । श्रीमति वितेको भने केहि बर्ष भयो । आफ्नो जिन्दगी भने दुख गर्दै खायो ।’

उहिलेका दुःख सम्झदा अहिले छोराछोरीलाई सुख छ । उनी भन्छन्, ‘मसँग भने तागत छैन, सम्पत्ती देख्दा माया लाग्छ, मलाई एउठा भेडो बेच्दा पुगिहाल्यो, आफुलाई नपुग्या छोराछोरीलाई देउ भन्नु, अब एकचोटी मर्नुभन्दा अगाडी अमेरिका घुम्ने मन छ । छोराले पनि अमेरिका लिन्छु भन्या छ । तर क्या अर्नु (के गर्नु) देशभरी यस्तै छ । मान्छे माहामारीका कारण घान हुन लाग्याका छन् (धेरैको संख्यामा मर्न लागेका) । बाँच्यापछि अमेरिका हेर्न जान्या रहर थियो । न तत्र सकियो ।’