Loading... आजः ५ असार २०७८, शनिबार
जातिय चिनारी

थारु जातिको संस्कृति र इतिहास

पूर्वदेखि पश्चिमसम्म फैलिएको भूगोलमा थारु समुदाय बसोवास गर्ने भएकाले थारुहरुको भाषामा भौगोलिक एवं भाषिक विविधता छ ।
थारु जातिको संस्कृति र इतिहास

बाँके । थारुहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्रि मधेशमा छरिएर बसोबास गर्दछन् । यो जाति नेपालका आदिवासी जनजातिमध्ये बढी जनसंख्या भएको जाति हो । २०६८ सालको जनगणना अनुसार नेपालमा थारू जातिको जनसंख्या करिब १७ लाख छ । थारू समुदायको आफ्नै भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, लिपि तथा इतिहास रहेको छ ।

समाजशास्त्री डोरबहादुर विष्टका अनुसार थारूहरू विशेषतः दक्षिणको थार मरुभूमिबाट आएको हुनाले थारू नाम रहन गएको हो । थारूहरूको बसोबास रहेको तराईको क्षेत्रलाई थारूवान वा थरुहट भन्ने चलन उहिलेदेखिकै हो । थारूहरूको स्थान विशेष अलग नाम, थर, भाषा र सभ्यता छन् । थारू नामका आधारमा एउटै जाति भए पनि भाषिक र सांस्कृतिक दृष्टिकोणले एकापसमा भिन्नता रहेको पाइन्छ । मेचीदेखि महाकालीसम्म थारूहरूको पचासौं थर रहेको पाइन्छ ।

यीमध्ये मोरङ जिल्लामा बसोवास गर्ने थारूहरूलाई मोरङ्गिया, कोशीनदीको तटमा बस्नेलाई खौसिया (कौशिया) भनिन्छ । त्यस्तै, अन्य थारुका अन्य थरहरूमा चितौनिया, लालपुरिया, डंगौरा, गच्छदार, राना, महतो, विश्वास, सुनादा, सरदार, महन्थ, वाँठ, वाँतर, भझौरा, भगत आदि हुन् । त्यस्तै दाङदेखि पश्चिम कञ्चनपुरसम्मका थारू थरहरूमा दहित, कुशुम्या, सतगौंवा, चमार, राना, डंगौरा, कठरिया, करिया मघरिया आदि रहेको छ ।

थारू जातिको पुरोहितलाई गुरुवा वा भर्रा पनि भनिन्छ । थारूहरूको पारिवारिक र सामाजिक चाड पर्व मनाउँदा पुरोहितको ठूलो भूमिका हुन्छ । यिनीहरू देउरहार भन्ने ईष्ट देवताको पूजा गर्छन् । विवाहमा केटी पक्षले केटीका साथी–सङ्गिनले–जन्ती वा केटा पक्षलाई जथाभावी सराप दिने र गाली गर्ने चलन छ । बेहुली अन्माउँदा अन्य चीजको अतिरिक्त एउटा कचौरा पनि दिने गरिन्छ, जुन बेहुलीलाई अत्यन्तै दुःख पर्दा विषपान गर्न दिइएको हो भन्ने विश्वास गरिन्छ । ऐतिहासिक रूपमा थारूलाई भूमिपुत्रको रूपमा लिइन्छ्र ।

थारूहरू बिहानको खाजालाई ‘कल्वा’, दिउँसोको खानालाई ‘मिन्ही’ र साँझको खानालाई ‘बेरी’ भन्छन् । थारूहरूको कुलदेवता काली भगवती, मैया र गोरैया हुन् । हरेक घरमा कुल देवता रहन्छन् । कुलदेवता रहेको ठाउँमा घरमूली नै सुत्नु पर्ने नियम छ । यिनीहरूका सामूहिक देवता ‘बरदम’ र ‘भूइहार’ हुन्, जसलाई चैत्र र भाद्रमा पूजा गर्नुपर्छ । यिनीहरूको मुख्य चाड ‘माघी’ हो, जुन माघ महिनाको सुरूको दिन १ गते मनाइन्छ । थारु समुदायको आफ्नै भाषा छ, जसलाई थारु भाषा भनिन्छ ।

पूर्वदेखि पश्चिमसम्म फैलिएको भूगोलमा थारु समुदाय बसोवास गर्ने भएकाले थारुहरुको भाषामा भौगोलिक एवं भाषिक विविधता छ । भारोपेली भाषा परिवारभित्र पर्ने थारु भाषा नेपालको नेपाली, मैथिली र भोजपुरीपछिको चौथो ठूलो भाषा हो । भूगोलको हिसावले नेपालीपछि ठूलो सम्पर्क भाषा थारु हो । थारु भाषा तराईको मुख्य सम्पर्क भाषा पनि हो । मोरङ्गिया, सप्तरीया, बारा, पर्सा, चितवनीय, नवलपुरिया, डगौरा, देउखरिया, देसाउरी, कठरिया र रानाथारुमा थोरै भिन्नता छ ।

हाल भाषिक मानकताका लागि सघनरुपमा बहस अन्तरसंवाद जारी छ । नेपालका थारु जातिको बसोवास क्षेत्र हालको राजनैतिक विभाजनअनुसार सातवटै प्रदेशमा छ । लुम्बिन प्रदेश, सुदुरपश्चिम प्रदेश, एक र दुई नम्बर प्रदेशमा थारुहरुको सघन बस्ती छ । झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सिराहा, रौतहट, महोत्तरी, सर्लाही, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देशी, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेत (२२ जिल्ला) थारुहरुको आदिकाल देखिनै बसोवास रहेको छ ।

यही थारुहरुको बसोवास रहेको भूगोललाई थरुहट, थारुवान, बुह्रानजस्ता नामले पनि सम्बोधन गरिन्छ । राजधानी काठमाडौ लगायत ठूला शहरमा पनि थारुहरु बसाइ सराई गरी स्थायी बसोवास गरिरहेका छन् । लोकसाहित्य अमूर्त संस्कृतिको स्रोत हो । थारु समुदाय लोक साहित्यको धनी जाती हो । बारैमास गाइने गीतहरु रहेका छन् । गुर्वावक जन्मौटि, सखिया, फुलवार, रामबिहग्रा, बर्किमार, सिरुवा पावन, जटाजाटिन, सडियो धामीजस्ता लोकमहाकाव्यहरु छन् ।

हिट्वा, शटलसिंह रजवा, बेंटुरनिया रानी, सँपरज्वा, दंगिशरण रज्वा लगायतका लोककथाहरु छन् । माघमा गाइने माघौटा गीत, हुर्डंङ्गवा गीत, विवाहमा गाइने माँगर, गृष्म ऋतुमा गाइने सजना, शिशिर ऋतुमा गाइने मैना गीत, कृष्णाष्टमीमा गाइने अस्टिम्किक् गीत, बारमासा, शरद र हेमन्त ऋतुमा गाइने बर्किमार गीत, बारैमास गाइने छोक्रा, महोटिया, झुम्रा, बैठक्कुजस्ता लोकगीतहरु रहेका छन् । यसै गरी लोकगाथा, गाउँखाने कथा, उखान टुक्का, किस्साहरुको भकारी छ । थारुहरु प्रकृतिपूजक जाति हुन् ।

थारु कल्याणकारिणी सभाले थारु बुद्ध धर्मवालम्बी रहेको बताए पनि सबै थारुहरु त्यसअनुरुप नरहेको देखिन्छ । यस आधारमा थाहरुमा धार्मिक आस्थामा विविधता छ । थारुहरु, आज आफुलाई हिन्दु, बौद्ध, क्रिश्चियन आदि धार्मिक परिचय बनाएको देखिन्छ । नयाँ परिवेसमा थारुहरु गुर्वावा धर्म मान्ने मान्यता पनि विकसित भइरहेको छ । थारुहरु नेपालको संस्कृतिको धनी जातिको रुपमा चिनिएका छन् । माघी थारुहरुको नयाँ वर्षसहितको ठूलो चाड हो । होली, चैते दशैं, गुरिया, कृष्णास्टमी, अट्वारी, अनट्टर, जितिया, सामाचखेवा, छठ, दशै, तिहार मुख्य चाड हुन् ।

थारु समुदायको पुख्र्यौली पेशा कृषि हो । तर आजकल पेशामा विविधिकरण तीब्ररुपमा बढिरहेको छ । सरकारी गैरसरकारी सेवा, व्यापार व्यवसाय, कला, साहित्य, पत्रकारिता, व्यावसायिक खेलकूद, निर्माण व्यावसायीजस्ता पेशामा थारु समुदायको पहुँच क्रमशः बढिरहेको छ । त्यसो त भारतलगायत तेस्रो मुलुक कमाउन जानेको संख्या पनि कम छैन । एनआरएनका रुपमा पनि केही थारुहरु छन् । मुक्त कमैया, कमलहरी र सुकुम्वासी, भूमिहीन किसानको संख्या थारु समुदायमा बढी छ ।

नेपाल सरकारले गरेको प्रक्षेपणअनुसार १८.७ प्रतिशत नेपाली जनता गरिवीको रेखामुनी छन् । यस आँकडाले तीन करोड जनसंख्यामा ५७ लाखको हाराहारीका जनसंख्या गरिबीको रेखामुनी रहेको देखिन्छ । थारुहरुको गरिबीको स्तर हाराहारी २५.५ रहेका अनुमान गर्न सकिन्छ । यस हिसाबले एक चौथाइ अर्थात् ५ लाख थारुहरु गरिबीको रेखामुनी छन् । गण राज्यकालमा थारुले आत्मनिर्णयको अधिकारसहितको शासन गर्दथे । त्यसको अवशेषको रुपमा आज पनि मटावा, बरघर, भल्मन्सा, ककण्डार, माइन्जनको नेतृत्वमा गाउँ प्रगन्ना सञ्चालन भइरहेको छ ।

थारु पहिचान संस्थागत गर्न थारु समुदायको परम्परागत बरघर प्रणालीलाई कानूनी मान्यता दिनुपर्ने माग पनि नभएको होइन । तर संघीय व्यवस्था, तीन तहको सरकार बनिसक्दा पनि सम्बोधन हुन सकेको छैन । राणा शासनमा चौधरी (चौधरिया) नियुक्त भएर तराईका किसानहरुबाट कर असुली गर्ने, सरकारको आदेश पालना गर्ने, हुकुम प्रमाङ्गीका लागि विन्तीपत्र चढाउनेजस्ता कामहरु गर्ने गरिन्थ्यो । त्यसो त पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्दा थारु सेना पनि लिएको लेखेका छन् ।

००७ सालको परिवर्तनपछि बर्दियाका राधाकृष्ण थारु, परशुनारायण थारु, विजयकुमार गच्छदारजस्ता केही थारु नेताहरुले राजनीतिक रुपमा स्थान बनाए पनि नेतृत्वदायी भूमिकामा आउन र टिक्न सकेनन् । छयालिस सालको परिवर्तनपछि भने केही थारु सांसद र मन्त्रीहरु भएको देखिन्छ । तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको माओवादी जनयुद्धमा उल्लेख्य संख्यामा थारुहरु राजनीतिकरुपमा अगाडि आए । थारु समुदाय थारु संस्कृति, तराई संस्कति भएको जातीय समुदाय हो । मेहनती र इमान्दार जातिको रुपमा परिचय बनाएको थारु जाति शिक्षित र सभ्य जाति हो भन्न अझै पनि शासक पक्ष तयार छैनन् । थारु समुदायले समय समयमा जातिय विभेद विरुद्ध विद्रोह गरेका छन् ।

२००८ सालमा बर्दियाको बेलवाम भएको खलिहान घेराउ आन्दोलन, राधाकृष्ण थारुको अगुवाईमा भएको किसान आन्दोलन, बर्दियाको कमैया सुकुम्वासीहरुको कन्दरा आन्दोलन, २०१६ सालमा दाङ्गमा गुम्रा थारुको नेतृत्वमा भएको बेलवा बंजारी किसान आन्दोलन, बैजनाथ थारुको नेतृत्वमा भएको बाँकेको किसान आन्दोलन, २०२८ सालमा गोचाली परिवारले चलाएको प्रतिरोध साहित्य आन्दोलन, माओवादी विद्रोह, जनआन्दोलनहरु सबैमा थारुको विशेष भूमिका देखिन्छ । यी र यस्ता सबै ठूला साना आन्दोलनमार्फत थारु समुदायले आफ्नो वर्ग, जाती, समुदाय र राष्ट्रको उन्नतिका लागि बलिदानी दिएका छन् । –समृद्ध बैजनाथ बुलेटिनबाट