Loading... आजः ५ असार २०७८, शनिबार
अन्तर्वार्ता

बैजनाथको समृद्धि, ‘प्राथमिकतामा विकास’

शिक्षा र स्वास्थ्यजस्तो जनताको आधारभूत आवश्यकता देशैभर कमजोर स्थितिमा छ । यस अर्थमा बैजनाथको शिक्षा र स्वास्थ्य स्थिति अहिलेलाई नाजुक हुनु स्वभाविक हो । तर, हामीले कमजोर पक्षलाई निरन्तर सुधार गर्दै अघि बढिरहेका छौं ।
बैजनाथको समृद्धि, ‘प्राथमिकतामा विकास’

पूर्व–पश्चिम लोकमार्गको दुबैतर्फ फैलिएको बैजनाथ गाउँपालिका सडक, खानेपानी, भू–बनोट र भौतिक संचरनाको हिसाबले यसैपनि महत्वपूर्ण स्थानमा रहेको छ । साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकामा आठ वटा वडा कार्यालय रहेका छन् । ऐतिहासिक तथा राजनीतिक पृष्ठभूमिसँग जोडिएर नामाकरण गरिएको यस गाउँपालिकामा करिब ७० हजार जनसंख्या बसोबास गर्दछन् । पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित छ । गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा रहेको छ ।

जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा थारु, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरु रहेका छन् । जातीय र भाषिक विविधता रहेको यस गाउँपालिका क्षेत्रमा मुख्य रुपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लीम र क्रिश्चियन धर्म मान्ने जनसंख्या पनि यहाँ रहेको छ्र पश्चिमी तराई क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भू–भाग समथर रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने केही भू–भागमा चूरे क्षेत्रका विषेशता रहेपनि अधिकांश क्षेत्रहरु समथर रहेका छन् । १४१ दकमलव ६७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको कुल जमिनमध्ये सबैभन्दा बढी क्षेत्रमा खेती गरिएको छ भने उत्तरतर्फ क्षेत्र लगायतको बन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ ।

नेपालको संविधानले तीन तहको संघीय संरचना अन्तरगत गाउँपालिका वा नगरपालिकालाई यो संविधान र संघीय कानूनको अधीनमा रहि कार्यकारिणी अधिकारसहितको सरकारका रुपमा स्थापित गरेको छ । सहकारिता, समन्वय र सह–अस्थित्वको सिद्धान्तका आधारमा संचालन हुने वर्तमान संघीय शासन व्यवस्थामा स्थानीय सरकार जनताको सबैभन्दा निकटमा रहि शासन संचालनको परिकल्पना गरिएको छ । नवगठित पालिकाले नयाँ संरचनाका माध्यमबाट संविधान प्रदत्त अधिकारको प्रयोग र शासन संचालनका अभ्यासहरु भइरहेका छन् । यसै सन्दर्भमा बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीसँग गरिएको समसामयिक कुराकानी :

स्थानीय तह गठन भएको चार वर्षमा आफ्नो काम र प्रगतिबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

– हालसम्मको काम र प्रगतिको समीक्षा गर्दा जनप्रतिनिधिलगायत आमनागरिक सन्तुष्ट हुनुहुन्छ । गाउँपालिकामा जनप्रतिनिधिको आगमनसँगै आर्थिक तथा सामाजिक विकास, सुशासन, स्रोतसाधनको न्यायोचित वितरणजस्ता कुरामा नागरिक सन्तुष्ट हुनुहुन्छ । पछिल्लो समय बैजनाथ गाउँपालिका अन्तर्गत हरेक क्षेत्रले फड्को मार्न थालेको छ । शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा आत्मनिर्भरताको बाटोमा अगाडि बढिरहेको छ । गाउँपालिकाका सबैजसो बस्तीमा सडक पुगेको छ । पालिकाभित्रको प्रायः हरेक गाउँबस्तीमा विद्युतिकरण गरिएको छ ।

यसका साथै आधारभूत स्वास्थ्यभित्र पर्ने स्वच्छ खानपानी हरेक बस्ती र घरमा पुर्याउने पहल भइरहेको छ । स्वास्थ्य उपचारको लागि १५ शैय्याको अस्पताल बनाउन सफल भएका छौं । कृषिमा पनि उल्लेख्य सफलता हासिल गर्ने प्रयासमा छौं । कृषिको क्षेत्रका कृषकहरुको प्रोत्सानको लागि अनुदानको ब्यवस्था गरेका छौं । कसैको पनि व्यक्तिगत इच्छा, आकांक्षा र स्वार्थ पूरा गर्न संभव छैन, तथापि, सामूहिक हित र विकासका चाहनालाई अधिक रुपमा पूरा गरिएको छ । यसका लागि जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य एवं समन्वयमा लक्ष्य प्राप्तिको दिशामा हामी अघि बढिरहेका छौं ।

समृद्ध बैजनाथ गाउँपालिका बनाउन नीति, योजना र कार्यक्रम के कस्ता छन् ?

– गाउँपालिकाको केन्द्रबिन्दु साविक बनकटवा गाउँ विकास समितिको भवनमा रहेको थियो । सुरुताका कार्यालयमा बस्ने पर्याप्त ठाउँ थिएन, कर्मचारीलाई काम गर्न निकै कठीन भएको थियो । कर्मचारीको संख्या पनि कम थियो । दरबन्दी पनि उस्तै कम थियो । सेवाग्राही जनतालाई पनि ठाउँ अभावले सास्ती भोग्नु परेको थियो । त्यसैले, फराकिलो ठाउँको लागि वडा नं. ५ मा रहेको रामपुरमा गाउँपालिको कार्यालय स्थानान्तरण गर्यौ । जनप्रतिनिधि र कर्मचारीहरुबीचको आपसी सहयोग, समन्वय र सहकार्य अत्यन्तै आवश्यक छ । तसर्थ, दुबैको अथक प्रयास र संघर्षले गर्दा हामी सोचेजस्तै सफलताउन्मुख दिशामा अघि बढिरहेका छौं ।

कागजमा कोरिएको नीति र योजनालाई कार्यान्वयको अन्तिम चरणमा पुर्याउन दृढ संकल्प र इच्छा शक्ति नभई हुँदैन । स्वास्थ्य, शिक्षा र पूर्वाधारमा पछि परेको पालिका भएकाले मुख्यताः शैक्षिक सुधारसँगै सबै क्षेत्रको विकासका निम्ति हामी हरसम्भव क्रियाशिल थियौं, त्यो प्रयास अहिले पनि निरन्तर जारी छ । शिक्षा र स्वास्थ्यजस्तो जनताको आधारभूत आवश्यकता देशैभर कमजोर स्थितिमा छ । यस अर्थमा बैजनाथको शिक्षा र स्वास्थ्य स्थिति अहिलेलाई नाजुक हुनु स्वभाविक हो । तर, हामीले कमजोर पक्षलाई निरन्तर सुधार गर्दै अघि बढिरहेका छौं । बैजनाथ गाउँपालिकामा १५ शैय्याको अस्थायी कोभिड अस्पताल स्थापना गरिएको छ ।


कोरोना भाइरस संक्रमित बिरामीको तत्काल उपचारका लागि अस्थायी अस्पताल वडा नंं ५ वनकटवा प्राथमिक स्वास्थ्य केन्द्र छ । १५ शैय्याको स्थायी अस्पताल बनाउन माग गरिए पनि सूचीमा पर्यो तर बजेट नपरेकोले अर्को आर्थिक वर्षमा यसको निर्माण कार्य सुरु हुन्छ । अन्य प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई पनि स्तरउन्नति गर्ने कार्य भइरहेको छ । गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयहरुको स्तरउन्नतिको कार्यलाई पनि निरन्तरता दिएका छौं । यसले गर्दा स्वास्थ्य र शिक्षाको गुणस्तरलाई माथि उकास्न धेरै हदसम्म सहयोग पुग्नेछ । यस्ता धेरै क्षेत्रमा सकारात्मक र परिवर्नतका कामहरु भइरहेका छन् । जनतालाई दिने सेवा सुविधामा सकेसम्म कुनै कसर बाँकी राखेका छैनौं । स्वास्थ्य, शिक्षा र कृषिमा ध्यान दिएका छौँ ।

नागरिकहरुलाई सकेसम्म छिटो र छरितो तरिकाले सेवा दिइरहेका छौँ । गाउँपालिकाभित्रका कतिपय गाउँबस्ती दुर्गम क्षेत्रमा पर्दछन् । बाटोको सुविधा भएपनि कालोपत्रे हुन बाकी छ । नयाँ ठाउँमा बाटो निर्माण गर्ने र बनेको बाटोमा कालोपत्रे कार्यलाई प्राथमिकता दिइएको छ । अबको अवधिमा गाउँपालिकाको सबै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित जग्गाको समस्या समाधानका लागि हामीले पहल गरिरहेका छौं । त्यस हिसाबले गाउँपालिकाका धेरै कामहरु पूरा भएकोजस्तो लाग्छ । गरिबीको रेखामुनि रहेका आम नागरिकको जीवनस्तर उकास्नका लागि रोजगारी सिर्जना गर्न विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ । गाउँपालिकाको समग्र क्षेत्रको विकास नै हाम्रो मुख्य प्राथमिकता हो ।

उद्योगधन्दाहरु सञ्चालन र बेरोजगारी अन्त्यको लागि योजना के छ ?

– बेरोजगारी अन्त्य गर्न उद्योग कलकारखानाको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ । उद्योगले मात्रै सबै बेरोजगारी समाप्त त हुँदैन तर धेरै हदसम्म सघाउ पुर्याउछ । व्यापार व्यवसाय र सीपमूलक तालिम एवं लगानीको आवश्यक्ता पर्दछ । दुबै कामलाई हामीले प्राथमिकता दिएका छौं । यसका लागि गाउँपालिका अन्तर्गत वडा नंं ३ नौबस्तामा औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढिरहेको छ । तीन सय ३८ बिघामा औद्योगिक क्षेत्र बन्दैछ । गाउँपालिका मात्र होइन, हामी जिल्लाबासीकै लागि यो एउटा गौरवको योजना हो । नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गर्ने भनिए पनि प्रस्तावित स्थानमा भएको बस्ती व्यवस्थापन हुन नसक्दा निर्माण कार्यले गति लिन सकेको छैन । यद्यपि, जग्गाको स्वामित्व ग्रहण, डीपीआर निर्माण र ईआइएको काम सम्पन्न भइसकेको छ ।

औद्योगिक क्षेत्रमा करीब २०० वटा ठूला र मझौला उद्योग स्थापना गरिनेछ । ६० लाख रुपियाँमा औद्योगिक क्षेत्रको तारबार गरिएको छ तर बस्ती व्यवस्थापन गर्न नसक्दा २५९ घरधुरी खाली गर्न बाँकी रहेकाले अरू कामले तीब्रता पाउन सकेको छैन । नेपालगन्ज औद्योगिक क्षेत्रभन्दा १९ गुणा ठूलो क्षेत्रफलमा निर्माणाधीन यो औद्योगिक क्षेत्रमा पूर्वआशयपत्र पेस गर्ने उद्योगीले चाउचाउ, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, जडीबुटीजन्य, खाद्यान्न, फर्निचर लगायत छन् । १११ वटा प्लट रहने यो औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण लागत नौ अर्ब रुपियाँ रहेको छ । जसमा २२ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ । औद्योगिक क्षेत्रमा खेलमैदान, पार्क, स्वास्थ्य क्लिनिक, बाल उद्यान, बालबालिका हेरचाह केन्द्र, बैंक, स्पोर्टस् हल, सभा हलजस्ता भौतिक संरचना निर्माण गर्ने योजना छ ।

गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन कसरी गर्यो ?

– विश्वव्यापी चुनौती साबित भएको कोरोना भाइरस हाम्रो लागि पनि उत्तिकै समस्या बनेर आयो । तर यसप्रति हामी सुरुदेखि नै सजग र सचेत थियौं । विश्वमै आतंक मच्याएको कोरोनाका संक्रमित बाँकेमा भेटिएपछि जिल्लामा तरंग आउनु स्वभाविक नै थियो । हामी पनि त्रसित भयौं । बाँकेमा नेपालगंजबाट फैलिएको संक्रमण क्रमशः जिल्लाभरीमा देखियो । अनि परीक्षणको दायरा बढाउँदै जादाँ बाँकेमा नयाँ–नयाँ ठाउँमा पनि कोरोनाका संक्रमित भेटिए । त्यही क्रममा बैजनाथ गाउँपालिकामा पनि कोरोनाको संक्रमण फेला पर्यो । बैजनाथको वडा नं. ३ घर भएका एक जना पुरुषकाें ज्यान समेत गयो । जिल्लाको अन्य स्थानमा महामारीको अवस्था जस्तो बैजनाथ गाउँपालिकामा कोरोना संक्रमण उच्च तहमा देखिएन ।

गाउँपालिकाको उच्च सतर्कताले गर्दा अन्य ठाउँ जस्तो बैजनाथमा कोरोना महामारी झैं फैलिन पाएन । जिल्लाको अन्य स्थानमा महामारीको अवस्था जस्तो बैजनाथ गाउँपालिकामा कोरोना संक्रमण उच्च तहमा देखिएन । गाउँपालिकाको उच्च सतर्कताले गर्दा अन्य ठाउँ जस्तो बैजनाथमा कोरोना महामारी झैं फैलिन पाएन । जिल्लामा कोरोना संक्रमणको लक्षण देखिए लगत्तै उच्च सतर्कता अपनाएर स्वास्थ्यकर्मी खटायौं । बैजनाथ गाउँपालिकाको विभिन्न २२ वटा सामुदायिक विद्यालयमा क्वारेन्टाइन केन्द्र स्थापना गर्यौं । यसका साथै कोरोना संक्रमितको उपचारको लागि एउटा अस्थायी अस्पताल समेत बनाइएको थियो । जिल्लामा कोरोना संक्रमणको लक्षण देखिए लगत्तै उच्च सतर्कता अपनाएर स्वास्थ्यकर्मी खटायौं ।

बैजनाथ गाउँपालिकाको विभिन्न २२ वटा सामुदायिक विद्यालयमा क्वारेन्टाइन केन्द्र स्थापना गर्यौं । यसका साथै कोरोना संक्रमितको उपचारको लागि एउटा अस्थायी अस्पताल समेत बनाइएको थियो । सुरुदेखि नै हामीले उच्च सतर्कता नअपनाएको भए मृत्युदर धेरै हुन सक्थ्यो, तर पूर्वतयारी र सावधानीले गर्दा धेरै मावनीय क्षति हुन पाएन । गाउँपालिकामा उपलब्ध स्रोतसाधन सहि समय र सहि ठाउँमा परिचालन गरेर कोरोना नियन्त्रण सम्भव भयो । कोरोना नियन्त्रणमका लागि गाउँपालिकाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो । जनप्रतिनिधि, कर्मचारी बुद्धिजीवि लगायतको सहयोगमा गाउँपालिकावासीलाई कोरोनाका बारेमा जनचेतना जगाउन जुटेका थिए । यसका लागि स्वास्थ्यकर्मी, जनप्रतिनिधि एवं कर्मचारीहरु विशेष धन्यवादको पात्र हुनुहुन्छ ।


स्थानिय तह स्थापना भएको चार वर्षको अवधिमा के कस्ता चुनौतीको सामना गर्नुभयो ?

– सम्पन्न गर्नु पर्ने कार्ययोजना धेरै छन्, एकपछि अर्कोलाई टुंग्याउन लागिपरेका छौं । तर सोचेको जति सम्भव हुँदैन । जनताको पनि आफ्नै आशा अपेक्षा, समस्या हुन्छन् । त्यसमा पनि खरो उत्रियौं, त्यो उहाँहरुले मुल्यांकन गर्ने कुरा हो । पालिकाको प्रमुख भएको नाताले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही जनतालाई मिलाएर लैजान चुनौतीकै बिषय हो । स्थानीय तहको अधिकारक्षेत्र तथा जिम्मेवारी कार्यान्वयन गर्न आवश्यक विभिन्न ऐन, नियम कानुनहरुको अभाव तथा नीतिगत अस्पष्टता, कर्मचारी समायोजनको प्रभाव तथा प्राविधिक जनशक्तिको अभावबीच पनि यस गाउँपालिकाले यो चार वर्षे कार्यकालमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ ।

गाउँपालिकाको समृद्धि, आर्थिक विकास र उन्नतिमा सहभागी गराउन कोरोना संक्रमणपछि युवाहरुलाई रोजगारीको सुनिश्चितता गर्नु मुख्य चुनौती देखिएको छ । गाउँपालिकाको समृद्धि, आर्थिक विकास र उन्नतिमा सहभागी गराउन कोरोना संक्रमणपछि युवाहरुलाई रोजगारीको सुनिश्चितता गर्नु मुख्य चुनौती देखिएको छ । सङ्घ र प्रदेश सरकारबाट वित्तीय अनुदान, समानीकरण, समपूरक, सशर्त र विशेष अनुदानको व्यवस्था हुनु, सङ्घ र प्रदेश सरकारबाट समन्वय, निर्देशन र सहयोग उपलब्ध नहुँदा हामीले सोचेजति काम गर्न सकिरहेका छैनौं । ०७४ सालमा गाउँपालिकाको स्थापना भएपछिको पहिलो स्थानीय सरकार गठन भई तीन वर्षमा विभिन्न चुनौतीको सामना गर्दै गाउँपालिकाप्रति आमनागरिकको आवश्यकता र अपेक्षालाई मूर्तरुप दिनुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ ।

बैजनाथ गाउँपालिकाको नामाकरण कसरी भयो ?

– स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको नाम के राख्ने भन्नेमा जनप्रतिनिधिबीच निकै छलफल र बहस भयो । सुरुमा पालिकाको नाम ‘अरनिको’ राख्ने भन्ने करीब सहमति बन्यो तर अन्तिम टुंगो लाग्न बाँकी थियो । छलफलकै क्रममा गाउँपालिकाको नाम ‘बैजनाथ थारु’ राख्ने प्रस्ताव आयो । बैजनाथ थारुको बारेमा हामी यसै पनि पहिलेदेखि नै जानकार थियौं । उहाँजस्तो व्यक्तित्वको नामलाई अस्वीकृत गर्ने कुरै भएन । उहाँको नाममा कसैको बिमति हुने कुरै भएन । यसअघि पनि बैजनाथ थारुको योगदानको कदर गर्दै उहाँको सम्झनामा जीगाउँमा बैजनाथ प्रतिक्षालय निर्माण गरिएको छ । उहाँको जन्मथलो पेडारी गाउँमा शालिकसहित बैजनाथ बाटिका निर्माणको चरणमा छ ।

तसर्थ, शहीद बैजनाथ थारुको योगदानको कदर गर्दै उहाँको सम्मान र सम्झनाको लागि सिंगो गाउँपालिकाको नाम ‘बैजनाथ गाउँपालिका’ राखियो । यसैले प्रमाणित गर्दछ, उहाँ थारु समुदायको नेता मात्र नभई सिंगो नेपाल राष्ट्रको मुक्तिकामी गरिब किसानको नेता हुनुहुन्थ्यो । निरंकुश राणा शासनविरुद्ध संघर्ष गर्दै किसान आन्दोलन र प्रजातन्त्रको प्राप्तिको लागि स्व.बैजनाथ थारुको शहादतलाई देशका समस्त नागरिक र राजनीतिक दलले उच्च सम्मान गर्नुपर्दछ । उहाँ सामान्य व्यक्तित्व हुनुहुन्थेन । राणा शासनकालमा किसान आन्दोलनमा बर्दियाबाट राधाकृष्ण थारु र बाँकेबाट बैजनाथ थारुको अतुलनिय योगदान छ । गरिब किसानको मुक्तिको लागि आन्दोलनरत बैजनाथ थारुको हत्या भयो । विसं २००७ साल चैत्र महिनाको १४ गते ६१ वर्षको उमेरमा भएको उहाँको निधनले अपूरणीय क्षति भयो ।

अबको बाकी कार्यकालमा के कस्तो काम र योजना छ ?

– कोरोना भाइरस र यसले निन्त्याएको डर, भय अनि लकडाउनले गर्दा विकास निर्माणका कार्यहरु यसबीच करीब पूर्णताः अवरुद्ध भयो । अहिले पनि सोचेजस्तो विकास निर्माणका कामहरुले गति लिन सकेका छैनन् । लगातार आठ महिनाको लकडाउनले आर्थिकरुपले धेरै नै क्षति पुगेको छ । कोभिडले गर्दा अवरुद्ध भएका कामलाई निरन्तरता दिने प्रयास गर्दैछौं । कतिपय पुराना योजनाहरु अधुरै छन् । ति पुराना र नयाँ योजनालाई प्राथमिकता दिएका छौं । त्यसका लागि योजना तयारी हुँदैछन् । बाकी कार्यकालमा अधुरो योजना पूरा हुनेछन् । नयाँले पनि गति लिन्छन् । स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई हामीले प्राथमिकतामा राखेका छौ । तीन वर्षको अवधिमा गाउँपालिको प्रत्येक गाउँ र बस्तीमा विद्युत पुर्याउने प्रयास गर्यौँ । विद्युत पुग्न अझै कहिँकतै बाँकी छ भने त्यसलाई पूरा गर्छौ । गाउँपालिकामा हाल सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमलाई निरन्तरता दिनुको साथै अति महत्वपूर्ण कार्य, जुन सञ्चालन हुन सकेका छैनन्, ती काम प्राथमिकतामा राखी अघि बढ्छौँ ।

कृषि र उद्योगलाई स्वरोजगारको आधार बनाउँछौँ । शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ क्षेत्रमा गर्न बाँकी रहेका कामलाई प्राथमिकता दिएर सम्पन्न गर्नेछौँ । अबको बाँकी अवधिमा प्रत्येक वडा तथा बस्तीका घरधुरीमा विद्युत्को पहुँच पुगेको हुनेछ । प्रत्येक वडामा यातायात सञ्चालन हुने गरी सडक स्तरोन्नति तथा निर्माण गरिनेछ । हरसंभव सबै घरधुरीमा स्वच्छ खानेपानीको पहुँच बिस्तार हुनेछ । गाउँपालिकाको कार्यालय भवन, अधिकांश वडा कार्यालय भवन, स्वास्थ्य संस्थाका भवनहरु तथा विद्यालय भवन निर्माण सम्पन्न भइसकेका हुनेछन् । कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण तथा आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धिसँगै कृषि उपजमा आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने र सेवा प्रवाहलाई जनमुखी, पारदर्शी र मितव्ययी बनाइनेछ । समग्रमा बैजनाथलाई एउटा समृद्ध गाउँपालिकाको रुपमा विकास गर्ने सपना बोकेर हिडेका छौं ।