Loading... आजः ५ असार २०७८, शनिबार
बाँकेका प्रथम शहिदको संघर्ष

बैजनाथको जिवन्त इतिहास : बाँकेका प्रथम किसान शहीद ‘बैजनाथ थारु’

बाँकेका गाउँगाउँमा भारतीय सेनाले किसान आन्दोलनका नेता, अगुवा तथा कार्यकर्ताहरुलाई धरपकड, कुटपिट र कत्लेआम मच्चाएको थियो । भारतीय सेनाकै निर्मम कुटाई र गोली प्रहारले बैजनाथ थारु शहीद भएका थिए ।
बैजनाथको जिवन्त इतिहास : बाँकेका प्रथम किसान शहीद ‘बैजनाथ थारु’

बाँके । तत्कालिन चिसापानी, नौबस्ता, बनकटवा र टिटिहिरिया गाउँ विकास समितिलाई मिलाएर बैजनाथ गाउँपालिकाको गठन भएको हो । जसको नामाकरण ऐतिहासिक तथा राजनीतिक पृष्ठभूमिसँग जोडिएको छ । साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भयो । तत्कालिन राणा शासनविरुद्ध नेपाली काँग्रेसका तर्फबाट किसान आन्दोलनको नेतृत्व गरेका बैजनाथ थारुलाई शासकहरुको निर्देशनमा भारतीय सैनिकले निर्मम कुटपिट गरेका थिए । सोही कुटपिटका कारण २००७ साल चैत्र महिनामा बैजनाथ थारुको मृत्य भएको थियो ।

नेपालमा प्रजातन्त्र बहाली भइसकेपछि उनको राजनीतिक योगदानको कदर गर्दै नेपाली काँग्रेसले उनलाई शहीद घोषणा गरेको थियो । यसरी प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका बैजनाथ थारुको सम्मानस्वरुप बैजनाथ गाउँपालिकाको नामाकरण पनि उनकै नामबाट भयो । नयाँ मुलुकका रुपमा परिचित बाँके जिल्लाको उत्तरी पश्चिमी भूभागमा अवस्थित बैजनाथ गाउँपालिका जिल्लाको उत्तर पश्चिम भू–भागमा अवस्थित रहेको छ । पूर्व पश्चिम राजमार्गसँग सामिप्यता रहेको यस क्षेत्रमा साविकका नौबस्ता, चिसापानी, बनकटवा र टिटिहिरिया गरी कुल चार गाविस समाविष्ट छन् । बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्दछ । पूर्वमा कोहलपुर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका छ ।

गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा स्थित छ । जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा थारु, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी र दलित जातीहरु रहेका छन् । जातीय र भाषिक विविधता रहेको थारु बाहुल्य यस गाउँपालिकामा मुख्यरुपमा हिन्दु धर्मावलम्बी रहे पनि मुस्लिम र क्रिश्चियन धर्म मान्ने जनसंख्या पनि रहेको छ । विश्व समाजवादी आन्दोलनका नेताहरुमध्ये नेपालका समाजवादी जननेता विपी कोइरालाका कर्मठ, ईमानदार र लगनशील कार्यकर्ता थिए, शहीद बैजनाथ थारु ।

बैजनाथ थारु तत्कालिन व्यवस्था परिवर्तनका निम्ति संघर्षशील एउटा क्रान्तिकारी योद्धा थिए । अदम्य साहस, दृढ संकल्प, आत्मविश्वासका प्रतिमूर्ति बैजनाथ थारु नेपाल र नेपालीबीच सदा सम्मानित भई बाँके जिल्लाका प्रथम शहीद भनेर शिलालेखमा उनको नाम सदैव अमर रहिरहनेछ । बुवा लालबहादुर थारु र आमा गुडिया थारुका कोखबाट बैजनाथ थारुको जन्म विसं. १९४६ साल कार्तिक १२ गतेका दिन भएको थियो । दुई दाजुभाईमध्ये जेठो बैजनाथ थारु बाँके जिल्लाको तत्कालिन बनकटवा गाउँ विकास समिति वडा नंं ३ अन्तरगत पेडारी गाउँमा जन्मिएका थिए । ७० बर्षअघि शहीद भएका बैजनाथ थारुको नातीपतानी लगायत ठूलो वंश परिवार अहिले पनि पेडारी गाउँमा बसोबास गर्छन् ।

बैजनाथ थारुले शैक्षिक योग्यताको हिसाबले औपचारिक शिक्षा आर्जन गर्न पाएनन् । उनले अनौपचारिक शिक्षा गुरुकुलमार्फत् ज्ञान हासिल गरेका थिए । गुरुकुलको त्यही अनौपचारिक शिक्षाले उहाँको सोचमा परिवर्तन ल्यायो । फलतः राजनीतिक एवं सामाजिक चेतनाको विकास भई जीवनलाई संघर्षमय बनाए । बाँके जिल्ला लगायत देशभरमा जमीनदार तथा राणा शासकको अन्याय, अत्याचार, शोषण र दमन बढ्दै गएको देखेपछि उनले क्रान्तिको बाटो रोजे । भूमिहीन गरीब किसानको मुक्तिकामी उक्त आन्दोलनमा उनले अग्रणी भूमिका निर्वाह गरेका थिए । देशको विकास र जनताको सेवा गर्न कुनै शैक्षिक योग्यताको जरुरत पर्दैन केवल खुल्ला हृदय र निस्वार्थ सेवा भावको जरुरत पर्छ । त्यसको एक उदाहरणीय नेता हुन् बैजनाथ ।

जिन्दगीको तीतो भोगाई र अनुभवबाट संगालेका ज्ञानको भण्डारले उनलाई किसान नेता बनायो, र अन्त्यमा देशको महान शहीद । किसानको चित्कार र विपी कोइरालाको विचारबाट प्रभावित भई निरन्तर देश र जनताको सेवामा तत्पर रहि जीवनको आहुति दिने उच्चकोटीको नेताहरुमध्ये पर्छन्, बैजनाथ थारु । बैजनाथ थारुको पारिवारिक अवस्था भने एकदमै उदाहरणीय थियो । उनीहरुमा आपसी सहयोग, भाईचारा र प्रेम भएकोले गर्दा करिब पाँच सय जना व्यक्तिको एक परिवार एकैसाथ बस्न सफल भएका थिए । परिवारको रेखदेख र सञ्चालन गर्ने तथा परिवारलाई चाहिने आवश्यक लत्ता कपडा, खानपिनको जोहोको व्यवस्था मिलाई दिने, अड्डा अदालत र सभा कचहरीमा सहभागी हुने काम एउटा निश्चित व्यक्तिलाई जिम्मा दिने गरिन्थ्यो । जसलाई थारु भाषामा किसनवा भनिन्थ्यो भने महिलालाई किसनिया भनिन्थ्यो ।

उनको परिवारमा कामको उपयुक्त बाँडफाट र जिम्मेबारीले गर्दा परिवारको सञ्चालनमा कुनै किसिमको कठिनाई र समस्या थिएन । त्यतिबेला बडघर परिवारले खेती लगाउने २५० बिघा जमीनमध्ये ९० बिघामात्र आफ्नो निजी थियो । पर्ती जमीनमा खेतीपाती गर्दै आइरहेको बडघर परिवारको उत्पादनको श्रोत कृषि र पशुपालनमात्र थियो । उक्त परिवारमा नौ वटा काठको पहिया भएको बयलगाडा थियो । बयलगाडामा चल्ने गोरु ४२ वटा थिए भने १५० सुतनिया गोरु थिए, जसले गर्दा ७० वटा हलो एकसाथ जोत्ने गरिन्थ्यो ।

त्यसैगरी, लगभग १०० वटा भैसी, ३०० गाई, २५० वटा बाख्राबाख्री थिए भने सुंगुर १०० वटासम्म पाल्ने गरेका कारण बडघर परिवारको आयस्रोत कृषि र पशुपालनलाई मुख्य मानिएको हो । आफ्नो विशाल परिवारको रेखदेख, जिम्मेबारी बाँडफाँड र पारिवारिक समस्या समाधानको जिम्मा स्वयं बैजनाथ थारु आफैले निर्वाह गर्नुका साथै परिवारको देखभाल र संरक्षण उनी आफैले गर्थे । नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद कोइरालाले बाँके जिल्लाको तर्फबाट बैजनाथ थारुलाई अग्रज नेता बनाएका थिए । विपी कोइरालाकै विचारबाट प्रभावित भई बैजनाथ थारुले गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार, गाउँगाउँमा विद्यालय हुनुपर्ने भावना बोकी तत्कालिन जहानियाँ राणा शासनविरुद्धको संघर्षमा होमिएका थिए ।

राणा शासनविरुद्ध र किसान आन्दोलनको पक्षमा उनले अतुलनीय संघर्ष गरे । तत्कालिन जमीनदारी प्रथाले गरिब एवं भूमिहीन किसानमाथि ठूलो अन्याय, अत्याचार, शोषण र दमन गरेको थियो । उनी त्यसका विरुद्धमा बोल्दै आफ्नो ज्यानलाई दाउँमा लगाउँदै क्रान्तिमा होमिएका थिए । त्यतिबेला जमीनदारी प्रथाले तराईका धर्तीपुत्र थारु जातिले पर्ती एवं चाचर जमीनलाई खनजोत गरी त्यसलाई उर्बरभूमि बनाउन ठूलो योगदान दिएका हुन् । तर त्यही उर्बरशील भूमिलाई जमीनदारहरुले जबरजस्ती खोसेर किसानहरुलाई आफ्नै जमीनबाट बिमुख गरिदिन्थे । किसानको जग्गा खोस्ने क्रम निरन्तर जारी थियो । त्यसैको विरुद्धमा आफ्नो ज्यानलाई बेवास्ता गरी क्रान्तिमा होमिएका थिए, बैजनाथ थारु ।

उनले बाँकेको कमाण्डर भई जमीनदारी प्रथाको अन्त्यका लागि कोठारहरुलाई लुटाउँदै हिँड्न थाले । उनको नारा थियो, ‘खेतको कसको, जोत्नेको ।’ निरन्तरको त्यहि संघर्षको परिणामस्वरुप विसं. २०२१ सालमा तत्कालिन सरकारले भूमि सुधार ऐन लागू गरि जमीनदारी प्रथा अन्त्यको घोषणा गर्यो । सो घोषणाले किसान आन्दोलन सफल हुनुका साथै भूमिहीन कृषकहरुले ठूलो राहत पाए । बाँके जिल्लामा किसान आन्दोलनको नेतृत्व गरेकोले बैजनाथ थारु जमीनदारहरुको नजरमा मुख्य शत्रु बनेका थिए । किसान आन्दोलनले उग्ररुप लिन थालेपछि जमीनदारको समूहले त्यसलाई दमन गर्ने रणनीति बनाए । जसका लागि उनीहरुले आर्थिक लगानी गरी छिमेकी मुलुक भारतबाट सेना मगाएर किसान आन्दोलनमाथि ठूलो दमन गर्न लगाए ।

बाँकेका गाउँगाउँमा भारतीय सेनाले किसान आन्दोलनका नेता, अगुवा तथा कार्यकर्ताहरुलाई धरपकड, कुटपिट र कत्लेआम मच्चाएको थियो । भारतीय सेनाकै निर्मम कुटाई र गोली प्रहारले बैजनाथ थारु शहीद भएका थिए । बैजनाथ गाउँपालिका वडा नंं ७ पेडारीका वडाध्यक्ष सीताराम थारुका अनुसार तत्कालिन जमीनदारहरु एकजुट भई किसान आन्दोलनमाथि दमन गर्नका लागि भारतीय सेना बोलाउन करिब नौ लाख रुपैयाँ खर्च गरेका थिए । त्योबेला नौ लाख ठूलो रकम मानिन्थ्यो । बाँके जिल्लामा किसान आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेकोले भारतीय सेनाको मुख्य निशानामा बैजनाथ थारु परे । उनलाई गिरफ्तार गरी हत्या गर्ने उद्देश्यले भारतीय सेनाले पेडारी गाउँलाई घेराबन्दी गरी बैजनाथ थारुको खोजतलास गर्न थाल्यो ।

भारतीय सेनाबाट जोगिन बैजनाथ थारु धानको भकारीमा लुकेका थिए । तर सेनाले खोजेर उहाँलाई गिरफ्तार गर्यो । भकारीबाट निकालेर सेनाले बन्दुकको कुन्दा र बुटले निर्घात कुटपिट गर्यो । बैजनाथ थारु यति साहसी र बलिया थिए कि उनी मरिसके भनेर सेनाले त्यही मरणासन्न छाडेर भारततिर हिँडे । तर पनि उनको सास रोकिएको थिएन । अचेत लडे पनि उनको सास चलिरहेको थियो । सेना हिडेपछि गाउँलेहरुले उनलाई उपचारका लागि नेपालगन्ज लगेका थिए । तर उपचारकै क्रममा तीन/चार दिनपछि अस्पतालको शैयामै उनको निधन भयो । विसं २००७ साल चैत्र महिनाको १४ गते बैजनाथ थारुको उपचारको क्रममा मृत्यु भएको थियो ।

तत्कालिन नेपाली काँग्रेसका नेता विपी कोइरालालको नेतृत्वलाई काँधमा काँध मिलाई सहयोग गरेका बाँकेबाट बैजनाथ थारु र बर्दियाबाट राधाकृष्ण थारु लगायत अन्य जिल्लाका नेताहरु मिलेर जहानियाँ राणा शासनको अन्त्य गर्नमा महत्वपूर्ण योगदान गरेका थिए । विसं २००७ साल फाल्गुन ७ गते प्रजातन्त्रको स्थापना भयो । बैजनाथ थारुको क्रान्ति र योगदानलाई कदर गर्दै नेपाली काँग्रेसको सरकारले उनलाई शहीद घोषणा गरेको थियो । त्यसका साथै नेपालको राष्ट्रिय झण्डा झुकाइएको थियो । बाँके र बर्दियाका किसानहरुले स्व. बैजनाथ थारुको मृत शरीरलाई नेपालगन्ज नगर परिक्रमा गराई उनको जन्मथलो पेडारी गाउँमा सम्मानका साथ अन्तेष्टि गरेका थिए । बैजनाथ थारुको योगदानको कदर गर्दै उनको सम्झनामा जीगाउँमा बैजनाथ प्रतिक्षालय निर्माण गरिएको छ ।

उनको जन्मथलो पेडारी गाउँमा शालिकसहित बैजनाथ बाटिका निर्माणको चरणमा छ । सिंगो गाउँपालिकाको नामसमेत शहीद बैजनाथ थारुको योगदानको कदर गर्दै सम्मान र सम्झनाको लागि सिंगो गाउँपालिकाको नामसमेत ‘बैजनाथ गाउँपालिका’ राखिएको पालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले बताए । यसैले प्रमाणित गर्दछ, उनी थारु समुदायको नेतामात्र नभई सिंगो नेपाल राष्ट्रको मुक्तिकामी गरिब किसानको नेता थिए । निरंकुश राणा शासनविरुद्ध संघर्ष गर्दै किसान आन्दोलन र प्रजातन्त्रको प्राप्तिको लागि स्व.बैजनाथ थारुको शहादतलाई देशका समस्त नागरिक र राजनीतिक दललाई उच्च सम्मान गर्न उनको नाती मधुवीर थारुको आग्रह छ ।