Loading... आजः ५ असार २०७८, शनिबार
विश्व दुध दिवस

दुध उत्पादन, व्यवस्थापन एवं महत्व

दुध उत्पादन, व्यवस्थापन एवं महत्व

कृषि प्रधान मुलुकको आर्थिक विकासमा दुग्ध उद्योगको महत्वपूर्ण योगदान रहेको छ । विगत केही बर्षमा यस क्षेत्रमा सह्रानीय विकास भएको छ । विश्वव्यापीकरण तथा दुग्ध व्यापारीकरणमा उदारीकरणको नीतिका कारण धेरै निजी क्षेत्रहरु दुग्ध तथा दुग्ध उत्पादनको उत्पादन तथा विक्री वितरण एवं प्रसोधन क्षेत्रमा अग्रसरता देखाएका छन् । स्वच्छ दुधको उपार्जनको आधारमा स्वच्छ दुधको उत्पादनको माग निरन्तर बढिरहेको स्थिति छ । तर प्रतिश्पर्धाको यस युगमा हामी तबमात्र अघि बढन सक्छौं । जब उपभोक्ताहरुलाई सर्वोत्तम सुरक्षित तथा राम्रो स्वादको दुध एवं दुग्ध उत्पादन उपलब्ध गराउन सक्छौं ।

स्वच्छ दुद्यबाट नै राम्रो गुणस्तर युक्त उत्पादनहरु तयार पार्न सकिन्छ । अतः यो आवश्यक हुन आउँछ कि दुधको गुणस्तर कायम राख्नको लागि कठोर एवं प्रमाणिक तरीका दुध उत्पादन क्रममा लागु गरिनुपर्दछ । दुध एउटा प्राकृतिक एवं सन्तुलित भोज्य पदार्थ मानिन्छ । जसले मानव शरीरको बृद्धि एवं विकासको लागि लगभग सबैखाले पोषकतत्व उपलब्ध गराउँछ । स्वच्छ दुध त्यस्तो दुधको स्वस्थ्यको दुष्टिकोणले राम्रो गन्ध स्वाद तथा पोष्टिक तत्वयुक्त हुनका साथै सुरक्षित जसमा जीवाणुको संख्या कम होस्, एन्टिवायोटिकको अवशेष नभएको हुनुका साथै लामो समयसम्म सञ्चय गरी राख्न सकियोस् ।

दुध चाँडै बिग्रने खाद्य पदार्थ मानिन्छ । उच्च पोषकतत्व अनि आद्रताका कारण सुक्ष्म जीवाणुको संख्या बृद्धिका लागि उपयुक्त माध्यम उपलब्ध गराउने हुँदा धेरैखाले खतरनाक रोगको श्रोत पनि बन्न पुग्दछ । स्वस्थ्य पशुको थुन फाँचोबाट निस्कने दुधमा जीवाणुको संख्या ५०० देखि २००० जीवाणु प्रति मिलिलिटर हुने गर्दछ । जुन दुध उत्पादन प्रसोधनको विभिन्न चरणहरुमा दुषित हुँदै कैयन लाख मिलिलीटर हुन पुग्दछन् । त्यसैले दुध उत्पादनदेखि लिएर उपभोगसम्मका प्रत्येक श्रृंखलाहरुमा दुधको गुणस्तरमा ध्यान दिन जरुरी हुन्छ । जसको लागि राम्रो व्यवस्थापन तथा सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ ।

दुध उत्पादनको स्तरमा कुशल प्रबन्धनको माध्यमबाट रोग फैलाउने जीवाणुहरु गोवर, दुषित पानी वायु एवं वातावरण तथा दुध दुहुने, भण्डार गर्ने फोहर भाँडाकुँडा तथा उपकरणहरुवाट सुरक्षित राख्न सकिन्छ । साथै दुध ढुवानी तथा प्रसोधनमा सावधानी अपनाई दुधको गुणस्तर राम्रो राख्न सकिन्छ । स्वच्छ दुध उत्पादनको आवश्यकता निम्न कारणको लागि पर्दछ । दुध व्यवसायबाट ज्यादा लाभ एवं आर्थिक सम्वृद्धिको लागि दुध एवं दुधजन्य उत्पादनहरुको गुणस्तर स्थीर राख्न तथा तिनीहरुको सञ्चय क्षमता बृद्धि गर्न मानिसवाट पशुमा तथा पशुबाट मानिसमा रोग सर्न तथा संक्रमण हुनवाट वचाउन विश्व व्यापार संगठनको गुणस्तर मापदण्ड पालना गर्नका लागि आन्तरिक एवं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रीणका लागि विश्व व्यापार संगठनद्धारा निर्धारित प्रावधानहरुको सहि तरिकाले पालना गर्नुपर्छ ।

स्वच्छ दुध उत्पानका लागि निम्न कुराहरु अवलम्बन गरिनु आवश्यक हुन्छ । प्राय पशु बाँध्ने ठाउँ फोहर हुँदा तीनको थुन फाचोमा, छालामा गोवर माटो विभिन्न किसिमका श्राव, जीउका रौ, घाँस दानाको अंश टाँसिने गर्दछ । जसले गर्दा दुध दुषित तथा संक्रमित हुने गर्दछ । अतः पशुको लागि स्वच्छ गोठको व्यवस्था हुनुपर्दछ । जुन अग्लो ठाउँमा पानी नजम्ने, झिगा लामखुट्टेबाट मुक्त मानव बस्तीबाट टाढा हुनुपर्दछ । गोठको भुइँतल अलि भिरालो हुनुपर्दछ । जसले गर्दा गोबर पिसाव सजीलै निष्काशन हुन सकोस् । गोठमा दुध दुहुनुभन्दा २-३ घण्टा पहिले वा पछि समय समयमा किटनाशक औषधी छर्नुपर्दछ । जसले गर्दा यसको दुर्गन्धबाट दुधलाई बचाउन सकियोस् । गोठलाई यथा सम्भव सुख्खा राख्ने साथै बाँकी रहेको घाँस पराल दाना गोवर पिसाव निकाली नियमित सफा गर्ने दाना पानीको भाडा नियमित सफा गर्ने ।

प्रत्येक १५ दिनमा थुनेलो रोगको लागि दुधको संरचना तथा पशुको जाँच कैलिफोर्निया मेस्टाइटिस टेस्ट वा मैसट्रिप प्रयोग गरी गर्ने बेलाबेलामा पशुलाई टिबी ब्रुसेला खौरेत जस्ता संक्रामक रोगको परिक्षण गराउनुपर्दछ । पशुहरुलाई नियमित सफाई गर्नुपर्दछ । विरामी पशुलाई निरोगी पशुभन्दा वेग्लै राख्नुपर्दछ । शरीरको पछाडीको भाग, पुच्छर तथा फाँचो नजीकको लामौ रौं बेलाबेलामा काटनुपर्दछ । पशुको दाना आहार एक्कासी बदलिनुहुँदैन । पशुलाई खनीज लवणयुक्त सन्तुलित दाना आहार दिनुपर्दछ । काउली, शलगम प्याज लसुनजस्ता तरकारी पशुलाई खान दिनुहुँदैन, जसले दुधमा दुर्गन्ध उत्पन्न गराउँछ ।

बासी ढुसी परेको, किटनाशक संक्रमित दाना पशुलाई दिनुहुँदैन । राम्रो गुणस्तरको दुध उत्पादनमा दुध दुहुने कार्यमा संलग्न मानिसको भूमिका त्यत्ति नै महत्वपूर्ण हुन्छ । त्यसैले दुध दुहने मानिस हैजा, टाइफाइड, टिबी, रुघाखोकी, हातमा संक्रमित घाउ, चोटबाट मुक्त भएको हुनुपर्दछ । ताकी संक्रमण रोक्न सकियोस्, दुध दुहुने मानिसको लुगा सफा, कपाल, दाडी नै नंग राम्रोसित काटेको हुनुपर्दछ । दुध दुहुने मानिसले दुध दुहुनुभन्दा पहिले तथा दुध दुही सकेपछि हात राम्रोसित धुनुपर्दछ । प्रायः गाइलाई दुध दुहुँदा पछिल्लो खुट्टा डोरीले बाँध्ने चलन छ । यसरी बाँध्ने डोरी गोवर हिलो दुधको सिर्खा लाग्नाले फोहर हुने गर्दछ । त्यसैले डोरीलाई बेलाबेलामा सावुन पानीले घोएर सुकाएर सफा गर्नुपर्दछ । दुध दुहुनुभन्दा पहिलो थुन फाँचोलाई सफा पानीले सफा गरी सुकाउनुपर्छ । दुध दुहुदा थुनलाई मुठ्ठीभरी पारी ५-७ मिनेटमा दुध दोही सक्नुपर्छ । दुध दुहुदा पहिलो थुनबाट निस्कने सिर्खा छुट्टै कप गिलास मा दोहेर टाढा फाल्नुपर्छ । दुध सुख्खा हातले दुहुनु पर्दछ । हातमा तेल नौनी वा दुध लगाएर दुहुनुहुँदैन यसबाट संक्रमणको डर हुन्छ । ।

दुध दुही सकेपछि फाँचोलाई सफा कपडाले पुछेर सफा गरेर एन्टिसेपटिक लगाउनुपर्दछ । दुध दुहुनेवित्तिकै पशुलाई वस्न दिनुहुँदैन । अन्यथा दुध दुहुदा खुलेको थुनको मुखबाट संक्रमण हुने जोखिम हुन्छ । एन्टिवायोटिक प्रयोग गरी उपचार गरिएको पशुहको दुध अरु पशुको दुधमा मिसाउन हुँदैन । थुनेलोग्रस्त पशु सबैभन्दा अन्तिममा दुहुनुपर्दछ । दुधलाई छोटो समयमै संकलन केन्द्रमा लानुपर्दछ । दुधलाई जति सक्यो चाँडै चिसो पार्नुपर्दछ । दुध चिस्याउन केन्द्रमा दुध ओसार्दा त्यसमा अन्य सामग्री ओसार्नुहुँदैन । दुधको उत्पादन राम्रोसँग गर्नाले यसको प्रारम्भीक गुणस्तर राम्रो हुन्छ भने साथै यस्तो दुधबाट प्रसोधन गरी तयार पारिने दुधजन्य उत्पादन पनि गुणस्तरीय मात्र हुँदैन स्वच्छ सफा अनि स्वस्थ्य पनि हुन्छन् । जसले बवजारमा बढी मुल्य पनि पाउँछ । जसले गर्दा दुग्ध उत्पादनदेखि दुग्ध पदार्थ प्रसोधन तथा विक्री वितरण गर्ने व्यवसायीले राम्रै नाफा कमाउन सक्छन् भने उपभोक्तले पनि स्वच्छ शुद्ध सफा स्वस्थ दुध तथा दुधजन्य उत्पादन उपभोग गर्न पाउने सुनिश्चिता गराउँदछ ।