Loading... आजः ५ असार २०७८, शनिबार
भेरी अस्पताल प्रकरण

‘हामीले जस्तो त्रास कसैले भोग्नु नपरोस्’

‘हामीले जस्तो त्रास कसैले भोग्नु नपरोस्’

बाँके । गत बिहीबार राति बिरामीका कुरुवाको आक्रमण र कुटपिटबाट घाइते भएका भेरी अस्पतालका नर्स र चिकित्सकले आफूहरूले भोगेजस्तो त्रास कसैले पनि भोग्नु नपरोस् भन्ने कामना गरेका छन् । त्यो घटना सम्झनेबित्तिकै अझै पनि हात खुट्टा काम्ने र पसिना आउने गरेको उनीहरूको भनाइ छ ।

गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना सङ्क्रमित डिल्ली रावतको उपचारमा खटिएकी भेरी अस्पतालकी स्टाफ नर्स सदीक्षा गैरेले कुरुवाले घाँटी थिचेपछि बाँच्ने आशा मरेको सुनाउँदै त्यस्तो त्रास कसैले पनि भोग्नु नपरोस् भनिन् । रावतको मृत्युपछि सत्तारूढ एमालेका प्रदेश नेताको नेतृत्वमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण भएको थियो ।

रावतको मृत्युपछि सत्तारूढ एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावत तथा लोकराज रावत लगायतले कोभिड वार्डमा ड्युटीमा रहेकै बेला चिकित्सक डा. चन्द्रप्रकाश साहु, नर्सहरू सदीक्षा गैरे, अश्विन गुरुङ र बन्दना श्रेष्ठमाथि आक्रमण गरेका थिए ।

‘भीआइपी उपचार गराउन आए भने झन् तनाव हुन्छ,’ नर्स गैरेले अस्पतालमा आक्रमण भएको त्रासदीपूणर् घटना सम्झँदै भनेकी छिन्, ‘आफ्नो पेशाप्रति म सधैं इमानदार थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूणर् घटनाले रातभर निदाउनै सकिनँ । सम्झिँदा पनि यो पेसामा किन लागेछु भन्ने कुरा बारम्बार मनमा आइरहन्छ ।’

आफूहरूले आफ्नो ज्यानको पर्वाह नगरी रावतलाई बचाउने हरप्रयास गरेको भए पनि आक्रमण हुँदा साहै्र चित्त दुखेको आक्रमणमा परेका चिकित्सक डा.चन्द्रप्रकाश साहुले बताए । उनले भने, ‘त्यो कालो रातले अझै तर्साइरहेको छ ।’ यसैगरी, कुटपिट र आक्रमणमा परेकी अर्की नर्स अश्विन गुरुङले आफूले त ज्यानको माया नै मारेको बताउँदै त्यो समय सम्झेर अझै पनि हातखुट्टा काम्ने गरेको बताइन् ।

गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना सङ्क्रमित रावतको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि साङ्घातिक आक्रमण गरेका थिए । स्वास्थ्यकर्मीको आन्दोलनपछि घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका-११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको छ ।

सदीक्षा गैरे, नर्स

कोरोना महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको सेवामा खटिंदा बिरामीको आफन्तबाट भएको यो व्यवहारले डाक्टर र नर्सहरुलाई असह्य पीडा दिएको छ । बिहीबार रातिको त्यो त्रासदीपूणर् घटनाबारे सदीक्षा गैरेले यसरी बयान गरिन् :

मेरो नाइट डिउटी थियो । बिहीबार राति सात बजे अस्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें । बेड नम्बर १३ मा रहेका बिरामी गम्भीर अवस्थामा थिए । बिरामीको स्याचुरेसन डाउन हुँदै गइरहेको थियो । आश्विनी दिदीले भेन्टिलेटर जोड्नुभएको रहेछ । तर पनि बिरामीमा अक्सिजन मेन्टेन हुन सकिरहेको थिएन । कुरुवाले भने मेरो बिरामीलाई मार्ने भए भनिरहनुभएको थियो ।

मेरो बिरामीलाई केही भयो भने कसैलाई छोड्दिन् भन्दै धम्की दिनुभयो । जबकी डिउटीमा रहेका दुई जना डाक्टर र चार जना नर्स उनकै बिरामीको उपचारमा व्यस्त थिए । उनलाई बचाउन प्रयास जारी राखेका थियौं, तर हामीले बचाउन सकेनौं । उनको मृत्यु पुष्टि गर्नका लागि इसीजी गर्ने तयारी भइरहेको थियो । त्यही वार्डमा अर्का एकजना बिरामी पनि गम्भीर थिए । उनको पनि स्वास्थ्य अवस्था खस्किंदै गइरहेको थियो ।

हाम्रो टिममा रहेका डाक्टर र नर्सहरु उनलाई हेर्न त्यता जानुभयो । म भने उनको ईसीजी गर्न तयारी गर्दै थिएँ । एक्कासी ६-७ जनाको समूह वार्डमा प्रवेश गरे । उनीहरुले मेरो घाँटी अठ्याउन थाले । त्यही बेला बिरामीका एकजना कुरुवा दाइ मेरो अगाडि आएर बलतल्ल छुटाउनुभयो । म अत्तालिंदै डाक्टर भएको ठाउँमा पुगें । उनीहरु लखेट्दै आइरहेका थिए । बिरामीको उपचारमा व्यस्त चिकित्सक र नर्सहरुले मलाई उद्धार गरेर क्याविनमा लिएर गए । तर पनि त्यो समूहले क्याविनमा तोडफोड गर्न छाडेन ।

क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे । त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । चारै जना के गर्ने कसो गर्ने भनेर अत्तालिरहेका थियौं । त्यही बेला हाम्रो ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपिरहेको थियो ।

म रोइरहेकी थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए । अन्ततः झ्याल फोडेर हामफाल्न तयार भयौं । तर मलाई हाम फाल्ने आँट नै आएन । डा.चन्द्रप्रकाश साहुले मलाई हाम फाल्न फोर्स गरिरहनुभएको थियो । मलाई छाडेर पनि उहाँहरु हाम फाल्न सकिरहनुभएको थिएन । मलाई डा. साहुले झ्यालमा उचालेर राखिदिनुभयो । उनीहरुको आक्रोश थप बढ्दै गइरहेको थियो । ढोका नै फोडेर भित्र पस्न थालेपछि डा. साहु, नर्सहरु आश्विनी गुरुङ, बन्दना श्रेष्ठसहित हामी हाम फाल्न बाध्य भयौं ।

रातिको त्यो कहालीलाग्दो र त्रासदीपूणर् दृश्य मेरो मानसपटलमा अहिले घुमिरहेको छ । त्यो सम्झिँदा म कसरी एकतला माथिबाट हाम फालें होला भनेर आफैंलाई विश्वास लागिरहेको छैन । तर हामीसँग विकल्प पनि थिएन । उनीहरुको त्यो आक्रोश, त्यो आतंकित व्यवहार निकै डरलाग्दो थियो । यस्तो आतंकपूणर् अनि त्रासदीपूणर् वातावरण कोभिड वार्डभित्र झण्डै एक घण्टा नै चल्यो होला । यो अवधिमा सबैजना आ-आफ्नो ज्यान बचाउन वार्डभित्रै भागदौड मच्चियो ।

एकतला माथिबाट हामफालेकाले हुनसक्छ, मेरो शरीरको पछाडि दुखिरहेको छ । घाँटीमा पनि नीलो डाम छ । सँगै हामफाल्नु भएका स्वास्थ्यकर्मीहरुले पनि खुट्टा दुखिरहेको बताइरहेका छन् । सबै जनालाई बाहिरी चोटपटक छैन । नर्सिङ पेशामा लागेर राम्रै गर्छु भन्ने आत्मविश्वास थियो । आफ्नो पेशा प्रति म सधैं इमान्दार नै थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूणर् घटनाले रातभर निदाउनै सकिनँ । रातभर त्यही त्रासदीपूणर् दृश्य आँखा वरपर झलझली आइरह्यो । जति भुल्ने प्रयास गरेपनि सकिरहेको छैन ।

बिरामी कुरुवा दाइले मेरो उद्धार नगरेको भए…यो सम्झिँदा यो पेशामा किन लागेछु भन्ने प्रश्न पनि मनमा बारम्बार आएको छ । अरुको ज्यान बचाउने पेशामा लाग्दा यसरी एकतला माथिबाट हाम फालेर आफ्नै ज्यान बचाउनुपर्ने दिन आउँछ होला भनेर कल्पना पनि गरेको थिइनँ । यो महामारीमा आफ्नो ज्यानको बाजी राखेर अरुको ज्यान बचाउने स्वास्थ्यकर्मीमाथि हुने यस्तो सांघातिक हमलाले सबै स्वास्थ्यकर्मीको मनोबल गिराएको छ ।

स्वास्थ्यकर्मीलाई मनोबल उच्च बनाउन हौसला दिनुपर्ने बेलामा स्वास्थ्यकर्मीमाथि नै ज्यानमार्ने उद्देश्यले सांघातिक हमला हुनु दुःखदायी हो । त्यसैले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्न सक्नुपर्छ । मनोबल गिरेका स्वास्थ्यकर्मीहरुले कसरी बिरामीको उपचार गर्न सक्छ ? त्यसैले घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न सकेमात्रै स्वास्थ्यकर्मीमाथि भोलिका दिनमा यस्तो घटना दोहोरिने थिएन ।