Loading... आजः ५ असार २०७८, शनिबार
समृद्धि यात्रा

राप्तीसोनारीमा पर्यटन, ‘होमस्टे नयाँ आयाम’

‘होमस्टे’ नयाँ पर्यटकीय क्षेत्रभित्र उदाउँदो छ । पर्यटन तथा व्यापारको दुनियाँमा ‘होमस्टे’ नौलो छ । ग्रामीण विकासका लागि यो अवधारणाले नयाँ स्वादको पर्यटनको विकास गरिदिएको छ ।
राप्तीसोनारीमा पर्यटन, ‘होमस्टे नयाँ आयाम’

नेपालमा होमस्टे पर्यटन सुरु भएको धेरै भएको छैन । स्याङ्जाको सिरुबारी नेपालको पहिलो होमस्टे गाउँ हो । भारतीय सेनाका भूपू क्याप्टेन रुद्रमान गुरुङको नेतृत्वमा २०५४ असोजमा सिरुबारीलाई पहिलो होमस्टे पर्यटन गाउँ घोषणा गरिएको थियो । अहिले त्यही सिरुबारी होमस्टे पाठशाला बनेको छ । पर्यटकलाई होटल वा रिसोर्टमा होइन गाउलेकै भान्छामा खुवाएर उनीहरुकै घरमा बसाउनुलाई होमस्टे (घरबास) भनिन्छ ।

जहाँ होटल र रेस्टुरेन्टभन्दा कम रकममा खाने बस्ने सुविधा हुन्छ । होटेल रेष्टुरेन्टबाट सीमित व्यक्तिले कमाउँछन् । पाहुनालाई बाडेर गाउलेका घरघरमा राख्दा सबैलाई आम्दानी हुने भएकाले रुद्रमानले होमस्टे भित्र्याए । आजभोली सिरुबारीको सिको गर्दै गाउँगाउँमा होमस्टे खोल्ने लहर छ । बेलाबेला होमस्टे सुरु गरिएका समाचार आइरहन्छन् । आन्तरिक तथा बाह्य पर्यटकहरु सहरका ठूला र महंगा होटेलभन्दा ग्रामीण क्षेत्रमा होमस्टेमा बस्न रुचाउँछन् ।

ग्रामीण पर्यटनको अवधारणा अन्तरगत होमस्टेलाई लिइन्छ । सहरदेखि गाउँसम्म होमस्टे अवधारणालाई सरकारले विस्तार गरिरहेकाले पनि नेपालमा भित्रिने विदेशी पर्यटकहरु गाउँले परिवेश र न्यानो आतिथ्ताले मोहित बन्ने गरेका छन् । स्थानीयको पहलमा बाँकेको नयाँगाउँमा चार वर्ष अगाडि सुरु गरिएको होमस्टेमा अहिले पर्यटकहरु आकर्षित बनिरहेका छन् । गाउँमा पुग्ने पर्यटकहरु गाउँलेको न्यानो आतिथ्यताले बसाइ निकै रमाइलो बनेको महसुस गर्छन् ।

आधुनिक घरहरुका साथै नयाँनयाँ पर्यटकीय गन्तव्य स्थलहरुमा समेत होमस्टे विस्तार भइरहेका छन् । पर्यटकहरुलाई नेपालमा सहरका ठूला होटल र लजभन्दा गाउँको वातावरण र मौलिक परिकारसँगै न्यानो सत्कार प्यारो लाग्ने गरेको छ । त्यसकारण पनि होमस्टेप्रति उनीहरुको आकर्षण बढ्दो छ । ‘होमस्टे’ अर्थात् घरबास, पर्यटन क्षेत्रका लागि नयाँ आयाम बनेको छ । होमस्टेलाई व्यवस्थित गर्न बिजुली बत्तीका साथै त्यहाँ पुग्नका लागि बाटो लगायतका पूर्वाधार निर्माणको काम पनि सरकारले सहयोग गरिरहेको छ ।

सरकारले सामुदायिक होमस्टलाई सहयोग गरिरहेको छ । यसकारण पनि देशभर ‘होमस्टे’ सञ्चालन गर्ने क्रम निकै बढेको छ । यसले छोटो समयमा पर्यटकलाई लोभ्याउने पनि गरेको छ । यसले पर्यटनका साथै स्थानीय नागरिकको आयस्तरलाई समेत बढावा दिइरहेको छ । ‘होमस्टे’ नयाँ पर्यटकीय क्षेत्रभित्र उदाउँदो छ । पर्यटन तथा व्यापारको दुनियाँमा ‘होमस्टे’ नौलो छ । ग्रामीण विकासका लागि यो अवधारणाले नयाँ स्वादको पर्यटनको विकास गरिदिएको छ । विकासका विभिन्न आयाममध्ये ग्रामीण पर्यटन पनि एक मुख्य पर्यटकीय प्रकार हो ।

स्थानीय स्रोत तथा साधनको अधिकतम् प्रयोग तथा तिनको उचित परिचालन गर्दै समग्र गाउँको विकासका लागि ग्रामीण पर्यटन आजको समयमा कोसेढुंगा सावित भएको छ । पछिल्लो समय आन्तरिक पर्यटककै कारण होमस्टे भरिभराउ हुन थालेका छन् । ग्रामीण क्षेत्रमा जाने पर्यटक बढनुको प्रमुख कारण नै होमस्टे हुन् । यसका कारण होमस्टेप्रति स्थानीयको उत्साह बढ्दै गएको छ । गाउँमै उत्पादन भएका खाद्यान्न, सागपात, दहीदूध खाने, गाउँका कला संस्कृति हेर्ने परम्परा आथिक समृद्धितर्फको बाटो हुन सकेको छ ।

गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमै उल्लेख्य परिवर्तन आउँछ । गाउँको आर्थिक विकासमा निकै प्रभावकारी हुनका साथै सम्पूणर् गाउँको पहिचान बदल्न होमस्टेले महत्वपूणर् भूमिका निभाउन सक्छन् । समुदायको दीगो आयआर्जनका रुपमा होमस्टे उदाहरण बन्न सक्छन् भने गाउँमा हस्तकलाका सामग्री निर्माण गर्ने, युवालाई विभिन्न पर्यटकीय तालिम दिने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने काम पनि होमस्टेहरुको महत्वपूणर् भूमिका रहीआएको छ ।

ग्रामीणस्तरमा होमस्टे सञ्चालन हुँद्या अतिरिक्त आम्दानीको स्रोत बन्ने र गाउँमा होमस्टे सञ्चालन हुँदा होमस्टे भएका घरले मात्रै नभएर सम्पूणर् गाउँलेलाई नै लाभ पुग्छ । स्थानीय हाते उत्पादनका सामग्रीको बजार पनि बढ्ने देखिन्छ । वास्तवमा यो एउटा सामूहिक अभियान भएकाले होमस्टेले स्थानीय तहको मात्रै नभएर राष्ट्रिय अर्थतन्त्रमै योगदान दिन सकिन्छ भन्ने कुरा पनि सावित भइसकेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका पनि भौगोलिक, जातिय, साँस्कृतिक र सामाजिक विविधता भएको स्थानीय तह हो । त्यसमा पनि ग्रामीण पर्यटन गन्तव्यस्थलको प्रचुर सम्भावना रहेको पालिका हो । हामी नेपाली आर्थिक स्रोत-साधनमा त धनी छौँ तर सीप, प्रविधि र प्रयोगको कमीका कारण गरिब छौँ । तसर्थ, गाउँपालिकाको भविष्यका लागि हामीसँग भएका स्थानहरु, दुर्लभ एवं लोपोन्मुख सम्पदाहरुको संरक्षण, नवीकरणीय स्रोतहरु, तिनको संवद्र्धन, प्रवद्र्धन साथै उचित उपयोगबाट हामीले धैरै फाइदा लिन सक्ने अवस्थ छ ।

यसका लागि उत्तम विकल्प नै ग्रामीण पर्यटनका रुपमा होमस्टे प्रमूख आधार हुनसक्छ । होमस्टेमा बास बस्ने राम्रो प्रबन्ध मिलाइएको हुन्छ भने स्थानीय उत्पादन र परिकारले अतिथिलाई स्वागत र सत्कार गरिन्छ । सकभर ग्राहकलाई थोरै खर्चमा सन्तुष्टिको उच्चतम् बिन्दुमा पुर्‍याउने प्रयास गरिएको हुन्छ । यसकारण पनि होमस्टे गाउँले जीविकोपार्जनको मुख्य स्रोत बन्न सक्छ । विशेषगरी होमस्टेले स्थानीय नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सक्छ ।

स्थानीय स्रोत-साधन, सीप र पुँजीको उपयोग गर्दै अधिकतम पर्यटकलाई खुसी पार्ने यसको मुख्य उद्देश्य हो । होमस्टेहरुमा थारु नाच, देउडा नाच, पञ्चेबाजा, पूजाआजामा देखाइने पैठ, छैठ, धालतलवार नाच, टप्पा, मयूर झर्रा नाचहरु पनि हेर्न पाइन्छ । थारु हस्तकलाका सामग्री ढकिया, गुन्द्री, सुपा, डाली, भकारी, छिटुवा, छतरी, हेल्का, डेलिया, काठका मूर्तिहरु, माटाका भाँडाहरु चलनचल्तीमा छन् । मुगाली समुदायले डोको, नाम्लो, चकटी, मान्द्रो, ठेकी, मदानी, काठका मूर्ति, काठको कोसी, भकारी, डोल्ची, बेतबाँसका कुर्सीहरु बनाउँछन् ।

होमस्टेहरुले छोटो दूरीमा दुर्लभ पाटे बाघ, हात्ती, चौका, चरीबाघ, हुँडार, सिलु बिरालो, सालक, सुन गोहोरो, अजिंगर सहजै हेर्न सकिने व्यवस्था मिलाउने प्रयास पनि गरेको पाइन्छ । यसले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । यसका साथै बाँके निकुञ्जमा बाघ लगायतका वन्यजन्तु सहजै हेर्न सकिने भएकाले पनि पाहुनाको ध्यान खिच्छन् । थारु जीवनशैली, संस्कृति र आत्मिय व्यवहारका कारण नयाँ गाउँ सामुदायिक होमस्टे चम्किँदै छ । यहाँका १० घरमा होमस्टे सुविधा छ । जहाँ एकै रात २० जना बास बस्न सक्छन् ।

कोहलपुरबाट ११ किलोमिटर पूर्व, महेन्द्र राजमार्गबाट २५ मिटर भित्र पर्छ नयाँ गाउँ । बाँके निकुञ्ज नजिकै भएकाले त्यहाँ बसेर हात्ती सफारी गर्न पाइन्छ । गाउँबाट ६ किलिोमिटर दुरीमा हात्तीसार छ । जंगलमा जनावर देखिन्छन् । गाउँमा थारु परिकारमा रमाउन सकिन्छ । साँस्कृतिक कार्यक्रममा छोकरा, मजुरा, लाठी र हुर्दुङा नाच देखाइन्छ । साँस्कृतिक कार्यक्रम प्याकेजको दुई हजार रुपैयाँ तिर्नु पर्छ । नेपालगन्जबाट नजिकै राजमार्ग छेवैको गाउँ भएकाले नयाँ गाउँको संभावना धेरै देखिन्छ । राम्रो प्रचार हुन सके चहलपहल बढाउन सकिन्छ ।

बाँकेका सरकारी कार्यालयहरुले त्यहाँ तालिम, गोष्ठीजस्ता कार्यक्रम गराउने र बेलाबेला घुम्न जाने बानी विकास गरेमा नयाँ गाउँलाई अघि बढ्न सजिलो हुने थियो । भर्खर पर्यटनमा पाइला चाल्दै गरेको नयाँ गाउँ अब त पुरानो भैसक्यो । गाउँकी जेष्ठ नागरिक ज्ञानी थारुका अनुसार ०२४ सालमा मात्रै त्यहाँ बस्ती बसालिएको हो । तिनताका दाङबाट आएका थारुले जंगल फाँडेर ५ घर बनाए । त्यही भएर ‘नयाँ गाउँ’ भनिएको । आज ३८ घर भैसके । खेती किसानीबाटै जिविकोपार्जन गर्छन् गाउँले ।

त्यहाँ धान, मकै, मसुरो, चना, गहुँ आदि उत्पादन हुन्छ । आकाशे पानीको भरमा खेतीपाती गरिन्छ । गाउँका केही युवा सेना र प्रहरीमा जागिरे छन् । केही बस चलाउँछन् भने केही बसका सहयोगी बनेका छन् । आयआर्जन बढाउन होमस्टे थालियो । गाउँलेको होस्टेमा तराई भुपरिधि कार्यक्रम (ताल), सामुदायिक वन समन्वय समिति महादेवपुरी, जलन्धारा सामुदायिक वन उपभोक्ता समिति र साविक महादेवपुरी गाविसले हैंसे गरेका छन् । होमस्टे ०७२ जेठदेखि होमस्टे सुरु गरिएको थियो ।

स्थानीय मंगल थारुका अनुसार गाउँमा तालिम हल र सभा भवन बनिसकेका छन् । होमस्टे सञ्चालन गर्दा समुदायको एकता र सद्भाव पनि प्रकट हुने गर्दछ । पर्यटनका विविध सम्भावना भएको राप्तीसोनारीमा होमस्टेको समुचित विकास गर्न सके पालिकाको आर्थिक विकासमा ठूलो योगदान दिन सक्छ । प्रकृतिका स्वर्णीम उपहारहरु र कृत्रिम स्थलहरुको महत्व परिचालन र सही उपयोगबाट गाउँपालिकाको अर्थतन्त्रमा ठूलो सहयोग पुग्न सक्छ । जंगल, जमिन, जडिबुटी र जल राप्तीसोनारी गाउँपालिकाका प्रमुख आकर्षणका आधार हुन् ।

यससँगै आकर्षक गाउँ, वातावरणप्रेमी स्थान, पार्क, स्थानीय ज्ञान र सीप, निकुञ्ज, जंगली जनावर, फूल, स्थानीय चाडपर्व, संस्कृति र सामाजिक जीवन, कम खर्चिलो खाना, खोलानाला, हाते उत्पादन, खेलकुद, जातजाति र तिनको जनजातीयता, जलयात्रा, यातायात, रात्री तथा दिवा जीवनशैली, मनोरञ्जन, मौलिक पहिरन तथा लुगा, होमस्टे आदि ग्रामीण पर्यटनका मुख्य सम्भावनाका क्षेत्रहरु भएकाले गाउँपालिकाको प्रमूख पर्यटनको आधार बन्न सक्छ । होमस्टेमा व्यक्ति वा समुदायले आतिथ्य सत्कारका फूलमाला, अबिर, खादा, सर्वत, सगुन, बाजागाजा आदिबाट सुरुवात गर्छन् ।

त्यसबखत स्थानीय भेषभूषा लगाएर सत्कार गर्ने गरिन्छ । अझ स्थानीय खानाका परिकारसहित पर्यटकलाई स्वादिलो भोजनले सत्कार गरिन्छ । यसका साथै सांस्कृतिक कार्यक्रमहरु गर्ने, पर्यटन गाइड, विभिन्न सूचनाका ब्रोसर बाँडेर तथ्यांक दिने गरिन्छ । यो प्रक्रिया पर्यटक त्यस ठाउँमा बसुन्जेल अथवा रहुन्जेल निरन्तर चलिरहन्छ । ग्रामीण पर्यटन विकास ग्रामीण क्षेत्रमा हुने पर्यटकीय क्रियाकलाप हो, जहाँ घरबासको सम्पूणर् व्यवस्था हुन्छ ।

त्यस्तै ग्रामीण विकास गाउँको सर्वोपरि विकास हो जहाँ विकासले ग्रामीण जनसंख्यालाई प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा दिन्छ भने नागरिकको जीवनस्तर उकास्ने दिगो माध्यमसँगै होमस्टेले पालिकाको पर्यटन विकासलाई पनि थप उचाईमा पुर्याउँछ । तसर्थ, ग्रामीण पर्यटनको अब्बल र नवीन प्रकार ‘होमस्टे’ राप्तीसोनारी गाउँपालिकाको समग्र विकासको ओखती सावित हुने निश्चित छ । होमस्टेको अवधारणा अत्यन्त वातावरणप्रेमी मानिएकोले पनि आगामी दिनमा राप्तीसोनारीका ग्रामीण क्षेत्रका नागरिकहरुको आर्थिक उपार्जनका साथै स्वरोजगारमा समेत वृद्धि भई उत्साहजनक परिणाम हासिल गर्न सकिन्छ । (समृद्ध राप्तीसोनारी बुलेटिनबाट)