Loading... आजः ५ असार २०७८, शनिबार
समृद्धि यात्रा

डिजिटल प्रविधि पछ्याउँदै ‘नरैनापुर’

लामो समयसम्म अभावै अभावको सामना गरेको नरैनापुरका कर्मचारीलाई यो अभ्यासले प्रबिधिसँग जोड्ने प्रयास शुरु गरेको छ ।
डिजिटल प्रविधि पछ्याउँदै ‘नरैनापुर’

बाँके । एउटा बिकट क्षेत्र । मानिसका आधारतभुत आवश्यकताका धेरै कुराहरुको अभाव भएको क्षेत्र । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार सबैको अभाव महसुस गरेको क्षेत्र नरैनापुर । नरैनापुरलाई अर्को पहाडको बिकट क्षेत्रका रुपमा पनि चिन्न सक्छौं । पहाडको बिकट भन्ने बित्तिकै तराईमा रहेको भए पनि नरैनापुर कुनै पहाडी क्षेत्र जहाँ अभावै अभाव रहेको हुन्छ, त्योभन्दा कम छैन ।

हुन त नरैनापुर तराई क्षेत्र हो । तराई क्षेत्र भन्ने बित्तिकै सबै सेवा, पूर्वाधार, आवश्यकता, सुविधा पुगेको बुझ्ने गर्छौं । तर यहाँ यी यावत सबै कुराहरुको अभाव छ । मानौं कि कारागारभित्रको कैदी । जसरी कारागारमा रहेको कैदीलाई आफ्नो वरीपरि रहेका साथीभाई र कारागारको क्षेत्रफलभित्र जे उपलब्ध छ, त्यसको प्रयोग उपयोग गर्न सक्छ । तर त्यही कारागारको पर्खालभन्दा बाहिर रहेको क्षेत्रमा रहेका कुनै पनि कुराहरु न हेर्न पाउँछ न त उपयोग, उपभोग गर्न नै पाउँछ ।

हो नरैनापुर पनि यस्तै यस्तै कथा, व्यथा रहेको क्षेत्र हो । नरैनापुर गरिबी, चेतनाको कमीकै कारण आधारभूतरूपमा विकासले फड्को मार्न सकेको छैन । विगतदेखि नरैनापुरले ‘विकट’को उपमा पाइरहेको छ । बाटो घाटो, बिजुली बत्ती, वित्तीय सेवा लगायतको सेवा सुविधा पर्याप्त नहुँदा नरैनापुर गाउँपालिका विकट मानिएको हो । ट्याक्टरसँगै त्यसअघि बयल गाडामा बसेर टाढा टाढाको यात्रा गर्नुपथ्र्यो । सडक नहुँदा जनतालाई आवतजावतमा निकै समस्या पर्ने गथ्र्यो । एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ ।

डुडुवा गाउँपालिका साविकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्तीसोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर दोन्द्रा, भोजभगवानपुर, महतिनिया–६ सोनवर्षा गङ्गापुर लगायत क्षेत्र डुबान र कटानको चपेटामा पर्ने गरेका छन् । बाँधले प्राकृतिक बहाव रोकेपछि बर्सेनी जिल्लाको पूर्वीदक्षिण सीमावर्ती गाउँहरु डुबानमा पर्दै आएका हुन् । भारतले कटकुइयाँदेखि पश्चिमतर्फ विस्तार गरेको सडक जस्तो बाँधले उत्तरबाट दक्षिण बग्ने पानीको निकास थुनेको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारत दशगजासँग जोडेर बनाएको बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँ डुबानमा पर्ने गरेको बताउँछन् । लक्ष्मणपुर बाँध र कलकलवाका कारण अहिलेसम्म चार हजार बिघा बढी खेतीयोग्य जमीन मरुभूमि भइसकेको पाइन्छ । बघौडा भनेर चिनिने नरैनापुर गाउँपालिका विकासको हिसाबले बाँकेको कर्णाली भनेर पनि चिनिन्छ  । एक दशकअघि नरैनापुरबाट नेपालगन्ज पुग्न पाँच घण्टाका यात्रा तय गर्नुपर्ने बाध्यता थियो ।

ती यात्राका क्रममा दुःख, कष्ट भरिएका हुन्थे । नेपालगन्ज आउने जाने बाटो सहज थिएन । त्यसकारण पनि धेरैजसोले भारतीय बाटोको प्रयोगमार्फत नेपालगन्ज आउने जाने गर्थे । तर जुनबेला राप्ती नदिमा पुल बन्यो त्यसपछिबाट मात्र यस क्षेत्रमा यात्रा गर्न केही सहज बनेको छ । पुल नहुँदा डुगांमा कष्टकर यात्रा गर्नुपथ्र्यो भने राप्तीले छोडेका खोल्सा खोल्सी पार गर्न पनि उत्तिकै कठिनाई झेल्न पथ्र्यो । कुल १७२.३४ कि.मी क्षेत्रफलमा फैलिएको नरैनापुर गाउँपालिका उत्तरतर्फ बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ बाँके जिल्लाको डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सिमाना पर्छ ।

यस गाउँपालिकामा ६ वटा गाविस कटकुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर रहेको छ । ६ वडा भारतीय सीमासँग जोडिएका छन् । समयमै उपचार नपाएर नरैनापुरका धेरैले ज्यान गुमाएका छन् । घरमा बिजुली नभएका कारण सबै कोठामा पंखा चल्दैनथ्यो । पसिना काढ्दै सुत्नुको विकल्प थिएन । २०५३–२०५४ सालतिर राप्रपाबाट निर्वाचित सांसद प्रेमबहादुर भण्डारीले पोल गाडेर नरैनापुरमा बिजुली बत्ति बाल्ने सपना देखाएका थिए नरैनापुरवासीले वर्षौंदेखि पाउँदै आएको आश्वासन पुरा भएको छ । पोल गाडिएको २३ वर्षपछि नरैनापुरमा बिजुली विस्तार भएको छ ।

बिजुली विस्तार नहुँदा यहाँका स्थानीयवासी सिंचाइ, सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सुविधाबाट बञ्चित हुँदै आएका थिए । नेपाल विद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयले नेपालगन्जस्थित सवस्टेशनबाट नरैनापुरलाई विद्युत लाइन जडान गरिएको हो । नरैनापुरमा हाललाई नेपालगन्जस्थित सवस्टेशनबाट ११ केभी क्षमताको ग्रामीण फिडर जोडिएको छ । दुई वर्षअघि सरकारले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमार्फत स्थानीयले अहिले नियमितजस्तै चिकित्सकीय सेवा पाइरहेका छन् ।

‘अब खेतीका लागि बोरिङ गर्न सजिलो हुने भयो,’ स्थानीय बताउँछन् । नरैनापुर गाउँपालिका अध्यक्ष शाह बघौडावासीको बत्ती बाल्ने वर्षौंदेखिको सपना गत बर्ष पुरा भएको बताउँछन् । गाउँमा विद्युत् पुगेसँग विकासले अर्को इट्टा थपेको उहाँको भनाई छ । अब यहाँका नागरिकको आर्थिक विकासका लागि महत्वपूर्ण सहयोग पुग्ने अध्यक्ष शाह बताउँछन् । कोरोना महामारीकै क्रममा नरैनापुरमा एक जनाको ज्यान गएपछि चिकित्सकविहीन प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस चिकित्सक खटाइएको छ । बिजुलीको सुविधा आएपछि एक्सरे मेसिन पनि सुचारु भएका छन् । पाँच वर्ष अघिसम्म नरैनापुरमा भारतीय रुपैयाँमात्रै चल्थ्यो ।

आफ्नै देशमा जान भारतको पैसा साटेर लैजानुपथ्र्याे । अहिले नेपाली रुपैयाँमा कारोबार हुन थालेको छ । ‘नेपाली रुपैयाँ नचल्ने ठाउँमा अहिले आकाश–जमिनको फरक देखिएको छ,’ स्थानीयहरु भन्छन् । पुलको व्यवस्थापन भए पनि यस क्षेत्रमा ०७३ चैत ११ मा निर्माण थालिएको हुलाकी सडकको काम पनि पूरा भएको छ । नेपालगन्ज–बघौडा अन्तरगत पर्ने ४४ किलोमिटर हुलाकी सडक निर्माणपछि मोटरसाइकलमा एक घन्टामै नेपालगन्ज पुग्न सकिन्छ । नरैनापुरका धेरैले अवधी र हिन्दी भाषा बाल्ने प्रचलन थियो । यहाँका व्यक्तिको धेरै व्यक्तिका आफन्त भारतीय सीमा क्षेत्रमै बस्ने भएकाले उनीहरुमा हिन्दी भाषाको प्रयोग आवश्यक थियो ।

संघीयताको आगमनसँगै यस क्षेत्रमा सरकारी गतिविधिसँगै जनप्रतिनिधिको आउजाउ बढेपछि स्थानीयलाई राज्य भएको अनुभूत हुन थालेको र प्रयोगको भाषामा नेपालीले पहिलेभन्दा बढि स्थान पाउन थालेको छ । स्थानीय तहको निर्वाचनपछि बैंकको सुबिधा नपाएको नरैनापुरमा बैंक पनि स्थापना भएको छ र प्राय भारतीय रुपैयाँको प्रयोग भइरहने यस क्षेत्रका मानिसले नेपाली रुपैयाँमा कारोबार गर्न पाएका छन् । सुविधाहरुको उपलब्धता बढेसँगै डिजिटल अभ्यासमा नरैनापुर अघि बढिरहेको छ । कमैसँग मोबाइलको उपलब्धता हुने र उपलब्धता हुनेले पनि भारतीय सिम प्रयोग गर्ने गर्थे ।

पछिल्लो समय नरैनापुरवासी नेपाली टेलिफोन नेटवर्कको प्रयोग गर्न थालेका छन् । नेपाल टेलिकमले मोबाइल टावरको व्यवस्था गरेपछि पछिल्लो समय नेपाली मोबाइल प्रयोगकर्ता बढेको स्थानीय बताउँछन् । नरैनापुर गाउँपालिकाको कार्यालयका साथै ६ वटै वडामा इन्टरनेट सेवा पुगेको छ । डिजिटल अभ्यासकै क्रममा रहेको नरैनापुर गाउँपालिकाले गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुको उपस्थितिलाई व्यवस्थित बनाउन ‘ई–हाजिरी’को अभ्यासमा समेत सूचारु गरेको छ । लामो समयसम्म अभावै अभावको सामना गरेको नरैनापुरका कर्मचारीलाई यो अभ्यासले प्रबिधिसँग जोड्ने प्रयास शुरु गरेको छ ।

त्यस्तै कार्यालयबाट पठाइने चिठ्ठी पत्रको अब दर्ता चलानी पनि कम्प्युटरमार्फत नै गर्न शुरु गरिएको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए । गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयहरुले राजश्व बुझ्ने कार्यलाई ई–बिलिङ्ग (कम्प्युटरमार्फत नै बिल काट्ने कार्य)मार्फत शुरु गरेका छन् । सूचना अधिकारी मिश्राका अनुसार गाउँपालिकालाई प्रबिधिमैत्री नै बनाउने अभ्यासको थालनी भएको छ । घट्ना दर्ता (पञ्जिकरण), अपाङ्गता परिचय पत्र, ई–जाँच लगायतका कार्यमा अघि बढिरहेको छ । यहाँका महेन्द्र माबि र जय किसान माध्यमिक विद्यालयमा इन्टरनेट सुबिधा जडान गरिएको छ ।

विद्यालयमा इन्टरनेट सुबिधा र कार्यालयमा प्रविधिको प्रयोगमार्फतको कार्यले गर्नुपर्ने काम अझ व्यवस्थित हुन थालेको गाउँपालिकाका रोजगार संयोजक एवं स्थानीय समेत रहनुभएका मकबुल अहमद मुकेरी बताउँछन् । प्रयोगमा आएको डिजिटल अभ्यासले समग्रमा गाउँपालिकाको कार्यलाई नै व्यवस्थित बनाएसंगै सजिलो बनाएको छ । पहिलेको भन्दा नरैनापुरमा धेरै परिवर्तन भएको पाइन्छ । सघीयताको आगमनसँगै पुरा हुन लागेका बाटोघाटो निर्माण, भुकम्प प्रतिरोधी भवन निर्माण, बिजुली बत्ती जडान कार्यले नरैनापुरलाई डिजिटल अभ्यासमा अघि बढ्न प्रेरित गरिरहेको छ । – समृद्धिको यात्रामा नरैनपुर बुलेटिनबाट