Loading... आजः ५ असार २०७८, शनिबार

विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई जरिमानासहित कैद

विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई जरिमानासहित कैद
शिक्षिकाको कुटाइबाट घाइते बालिकाहरु ।

रोल्पा । पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको घटनाको रोल्पा अदालतले अन्तिम फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दिलिपराज पन्तको ईजलासले गत चैत २२ गते शिक्षिकालाई ५ हजार जरिमाना र १५ दिन कैदको फैसला सुनाएको हो । जिल्ला अदालत रोल्पाका श्रेस्तेदार प्रेम खड्काका अनुसार शिक्षिका पहिले नै थुनामा बसिसकेकाले अब फेरि कैद भुक्तान भने गर्नुपर्ने छैन ।

रुन्टीगढी गाउँपालिका ८ झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट २०७६ साल जेठ १२ गते चौध जना विद्यार्थी घाइते भएका थिए । तीमध्ये ५ बालिकाको हात भाँचिएको थियो । बिभिन्न कक्षामा अध्ययन गर्ने उनीहरुमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोका पाँच जनालाई दाङस्थित अस्पतालमा लगेर हात भाचिएका कारण प्लाष्टर गरिएको थियो ।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै विद्यार्थीरुलाई भाँचिएको बेन्चको खुट्टाले अन्धाधुन्ध हिर्काएको आरोप लागेको थियो । विद्यालय ढिला आएको निहुँमा विद्यार्थीले कुटाई खाएका थिए । शिक्षिकाको कुटाईबाट घाइते हुने अन्य विद्यार्थीहरुमा कक्षा १ का प्रेम पुनसहित सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती थिए ।

२०७६ जेठ १२ गते भएको घटना स्थानीयस्तरमा वडापालिकाले घटना मिलाउन पहल गरेको भए पनि बालबालिकामा समस्या थपिएपछि घटना ढिलो गरि २०७६ असार ४ गतेमात्र अदालत आएको थियो । उतिबेला गाउँपालिकाले पनि घटना सल्टाउन न्यायीक समितिमा छलफल गराउन खोजेको थियो, तर पीडित पक्ष प्रहरी हुँदै अदालत पुगेका थिए । यो घटनालाई राष्ट्रिय मानव अधिकार आयोग र बालबालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेन लगायतका निकायहरुले पनि गम्भीरताका साथ हेरेका थिए ।

‘यस्ता केस धेरै छन् । पढाउने नाममा विद्यालयमा सजाय दिने गरिन्छ । पहिले पहिले विद्यालयमा हुने कुटपिट गैरकानुनी थिएन तर २०७५ मा कानुन आएपछि अपराधका रुपमा लिन थालिएको हो,’ सेभ द चिल्ड्रेन काठमाडौका डिल्ली गुरागाई भन्छन्, ‘यो प्रतिनिधि केस हो । नयाँ ऐन आएकाले हल्लाखल्ला भएको हो । अदालतको यो निर्णयले अब बालबालिकालाई सजाय दिनुहुँदैन भन्ने म्यासेज जान्छ । रोल्पाको अदालती निर्णयलाई स्वागत गरे पनि पनि सजाय चाहिँ कम हो जस्तो लागेको छ ।’

घटना घट्ने समयमा रोल्पास्थित सेभ द चिल्ड्रेनमा कार्यरत दिलकमल क्षेत्री भन्छन्, ‘स्कुल सुरक्षित हुनुपर्छ । रोल्पाको यो केश प्रतिनिधि घटना मात्र हो । यस्ता प्रकृतिका बालहिंसा ठाउँ ठाउँमा भईरहेका हुन्छन् तर दबाएर राखिन्छ ।’ उनी भन्छन्, ‘रोल्पाको यो घटना र अदालती फैसलाले बालबालिकामाथि हिंसा गर्नु अपराध हो भन्ने सन्देश दिएको छ । आउँदा दिनमा विद्यालय र घरमा हुने बालबालिकामाथिको कुटपिट हुनुहुँदैन भन्ने कुराको उदाहरण बनेको छ ।’