Loading... आजः १ असार २०७८, मंगलवार
कोरोना महामारी

कोरोना महामारीमा नेपालगन्जका ‘उपमेयर उमा’को लोभलाग्दो सक्रियता

कोरोना महामारीमा नेपालगन्जका ‘उपमेयर उमा’को लोभलाग्दो सक्रियता

बाँके । कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख महिनाको सुरुवातबाटै समग्र बाँके जिल्लाकै अवस्था भयावह बन्दै गएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिइसकेकाले कोरोना नियन्त्रण र गम्भीर सङ्क्रमितको उपचार गर्न स्थानीय सरकारलाई चुनौती बनेको छ । कोभिडको उपचार गर्ने अस्पतालमा शैय्या र अक्सिजनको अभावले बिरामी फर्काउने अवस्था छ ।

बिरामीलाई असहज र उपचारबाट बञ्चित हुन नदिन नेपालगन्ज उपमहानगरपालिकाले आफ्नै साधन स्रोतले अक्सिजनसहितका आइसोलेसन सञ्चालन गरिरहेको छ । अहिले नेपालगन्ज उपमहानगरका जनप्रतिनिधि नागरिकको पीसीआर परीक्षण र उपचारका लागि युद्धस्तरमा खटिएका छन् । कोरोना नियन्त्रण र व्यवस्थापनको काम जारी रहेको छ ।

उपमहानगरले रुघाखोकी लागेका वा लक्षण देखिएका बिरामीहरुको वडास्तरमै एन्टिजेन परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ । उपमहानगरका सबै वडामा कोरोना नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम भइरहेका छन् । चिकित्सक र अक्सिजनसहितका आइसोलेसन तथा अस्पतालको व्यवस्थापनमा धेरै समस्या र चुनौती पनि सामना गर्नु परिरहेको छ ।

कोरोना महामारीका बेला नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको दैनिकी आजभोलि फेरिएको छ । गत वर्षदेखि नै कोभिडको पहिलो चरण सुरु भएसँगै कोरोना रोकथाम, नियन्त्रण, राहत वितरण र अन्य व्यवस्थापनमा सक्रिय उपमेयर थापाको सक्रियता यतिबेला झनै बढेको छ ।

थापालाई पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिकाभन्दा नगरका अस्पतालहरु र आइसोलेसन सेन्टरमा बढि भेट्न सकिन्छ । अस्पतालहरुमा विरामीहरुले शैय्या नपाएको, अक्सिजन नपाएको, शवको व्यवस्थापन हुन नसकेको भन्दै विहानदेखि रातीसम्म नै उपमेयर मगरलाई फोन आउने गरेको छ ।

कहिलेकाहीँ विहान अस्पताल पुगेकी उपमेयर थापा मध्यराती मात्रै घर पुग्ने फुर्सद पाउँछिन् । नेपालगन्ज र बाँके जिल्लाका मात्रै नभएर विभिन्न बाहिरी जिल्लाबाट सहयोगका लागि उपमेयर थापालाई फोन आउने गरेको छ । सामाजिक अभियन्ता सुरेन्द्रदीप कार्की नेपालगन्जका उपमेयर थापाको सक्रियता अन्य जनप्रतिनिधिहरुका लागि पाठ हुन सक्ने बताउँछन् ।

‘राजनीति गर्नेहरुले जनताको तत्कालिन समस्या समाधानमा पहल गर्नुपर्छ,’ कार्की भन्छन्, उपमेयरले विपदको समयमा उहाँको सक्रियताले हामीलाई पनि घच्घच्याउने गरेको छ । भेरी अस्पतालमा विरामीले शैय्या नपाएको जानकारी आउनासाथ उपमेयर मगर आफैं अस्पताल पुगेर कतिपयलाई उपमहानगरको आइसोलेसनमा स्थानान्तरण गर्नुहुन्छ ।’

अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरुको कामको प्रशंसा गर्दै आवश्यक सहजीकरण गर्न तम्सिन्छिन् । नेपालगन्ज उपमहानगरपालिकामा संकटको समयमा आवश्यक योजना बनाउने, कार्यान्वयन गर्ने, उपचार तथा अन्य व्यवस्थापनमा खटिने लगायतका कार्यमा पनि उपमेयर थापाको नेतृत्वदायी भूमिका रहेको छ ।

उपमेयर थापाले भनिन्, ‘पछिल्लो समय नेपालगन्जमा कोरोना संक्रमण भयावहरूपमा बढ्न थालेपछि निषेधाज्ञा गरिएको अवस्था छ । सीमामा अनावश्यक आउजाउमा कडाइ गरिएको छ । यतिबेला हामी सबै नेपालीहरू विषम परिस्थितिको सामना गरिरहेका छौं । सबैको सहयोग र सहकार्यबाट यो महामारीविरुद्धको लडाइँ हामी जित्नेछौं ।’

उपमहानगरपालिकाले कोभिड संक्रमित भएर सामान्य अवस्था भएकालाई होम आइसोलेसनमै राखेको छ । स्वास्थ्यमा गम्भीर समस्या भएकालाई भेरी अस्पताल र उपमहानगरले बनाएको आएसोलेसन सेन्टरमा राखेर उपचार गरिनेछ । यसको विशेष निगरानी गरिनेछ । उपमहानगरपालिकाले निगरानी तथा अन्य कार्यमा समेत सहयोग गर्दै आएको छ ।